ताजा अपडेट »

स्वदेशी कच्चा पदार्थ उपयोग गर्न पाउनुपर्ने फर्निचर ब्यवसायीको माग

शनिबार, १९ माघ २०८१, १८ : ००
66 Shares
शनिबार, १९ माघ २०८१
66 Shares

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसाय महासंघ प्रदेश समन्वय लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । ब्यवसायिक एकता, ब्यवसायिक सफलता नारासहित स्थापना भएको महासंघको एक समारोहका बीच महासंघ केन्द्रीय अध्यक्ष युवराज पौडेलले औपचारिक रुपमा उद्घाटन गर्दै प्रदेश समन्वय गठनबारे प्रकाश पारे । 

संघीय सरकारको प्रावधान अनुसार नै प्रदेश गठन गरि क्रियाशिल बनाउने गरि अघि बढेको बताउँदै उनले महासंघको विधान अनुसार प्रदेश संरचना गठन भएको बताए । फर्निचर ब्यवसायीहरुले काठ किन्न नपाउने, फर्निचर ब्यवसायीहरुले टेण्डर राख्न नपाउने ब्यवस्था चिर्न धेरै लडाई लडेको बताउँदै उनले भने, ‘वन नियम संशोधन गर्न धेरै कठिनाई भयो ।’ अब बढी भन्दा बढी सरकारलाई दबाब सृजना गर्नुपर्ने उल्लेख गर्दै उनले विभिन्न संरचनामा पुगेर समस्या पहिचान गरि बुँदागत रुपमा माग तयार गर्न लागेको जानकारी गराए । बागमती प्रदेश सरकारले स्वदेशी काठजन्य उत्पादन प्रयोगलाई जोड दिएर कानुन निर्माण गरेको उदाहरण दिँदै अन्य प्रदेशलेसमेत यसलाई अनुसरण गर्न जरुरी रहेको उनले बताए ।
 
कार्यक्रममा पारिवारिक निजी वन महासंघ रुपन्देहीका अध्यक्ष तथा संघका पुर्व अध्यक्ष बिष्णु कुमार श्रेष्ठले एउटा संस्थागत विकासको उद्देश्यका साथ स्थापना हुने ब्यवसायिक संस्थाहरु काम गर्न नसक्दा ब्यवसायीहरु पीडित बन्नुपरेको बताए । पारिवारिक निजी वनबाट ८० प्रतिशत काठजन्य उत्पादन बितरण गर्न सफल भैरहेको भन्दै उनले फर्निचर ब्यवसायीहरु अनिवार्य रुपमा लाग्नुपर्ने बताए । नयाँ औधोगिक क्षेत्र निर्माण हुन नसक्दा उद्योगीहरु पीडामा रहेको उनले बताए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले फिरन्ते ब्यवसायी मुख्य चुनौति रहेको स्पष्ट देखिँदा समेत समाधानमा सरकारको ध्यान जान नसकेको दुखेसो गरे। उपभोक्तासँग जोडिएको विषयलाई निरन्तर लाग्न सुझाव दिए । 
कार्यक्रममा अर्घाखाँची फर्निचर ब्यवसायी संघका अध्यक्ष बसन्तराज भुषालले फर्निचर ब्यवसायीहरुको हकहितमा संस्थाबाट पहल जरुरी रहेको बताए । उत्पादन, ढुवानीदेखि बजारीकरणसम्मको समस्याहरु समाधान हुनेमा आशा ब्यक्त गरे । 

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष सुरेन्द्र ज्ञवालीले प्रगती विवरण पेश गर्दै फर्निचर र फर्निसिङ संघको पक्षमा गरेका अभियान बारे प्रकाश पारे। सरकारलाई स्वदेशी काठको उपयोग बढाउने गरि नीति ल्याउन आवश्यक पहल कदमि अघि बढाएपनि सकेजस्तो उपलब्धि हासिल नभएको उनले बताए । प्रत्येक प्रदेशमा फर्निचर ग्राम निर्माणको पहल जरुरी रहेको उनले बताए ।
 
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठक, महासंघका केन्द्रीय उपाध्यक्ष ओम बस्नेत, महासंघका पुर्व संस्थापक उपाध्यक्ष सुर्य शर्मा सुवेदी, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री, वन पैदावर संघ रुपन्देहीका अध्यक्ष नवलकिशोर सिह, महासंघका महासचिव तेज प्रसाद पराजुलीले अधिकांश ब्यवसायीहरुको समस्या एउटै प्रकारको भएकोहुँदा सरोकारवाला संस्था एकजुट भए सरकारलाइ दबाबमुलक कार्यक्रम गर्नुपर्ने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।