बुटवल। बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट निर्वाचित संघको नयाँ नेतृत्वले शुक्रबार पदभारग्रहण गरेको छ । बुटवलमा सम्पन्न अधिवेशनले संघको अध्यक्षमा उपेन्द्र अग्रवाल सर्वसम्मत निर्वाचित गरेको छ ।
उपाध्यक्षमा प्रज्वल थान्जु, महासचिवमा कमल ज्ञवाली, कोषाध्यक्षमा टंक प्रसाद खनाल, सचिवमा यादव प्रसाद भण्डारी तथा सदस्यहरूमा कोसलराज भण्डारी, निश्चल शर्मा र विनोदराज न्यौपाने निर्वाचित भएका छन् । यसैगरी संघमा लक्ष्मी अधिकारीलाई सदस्यमा मनोनित गरिएको छ । नवनिर्वाचित नयाँ कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रमाण वितरण गरे । विशिष्ठि अतिथि नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहरी पाठक तथा निर्वाचन समितिका संयोजक रामबहादुर गुरुङले माला, टिका तथा खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा संघकातर्फबाट उत्कृष्ट उद्योगका रुपमा शिवशक्ति शोप इन्डष्ट्रिज प्रालिलाई छनौट गरि सम्मान गरिएको थियो ।लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उद्योगका सञ्चालक अखिलेश कशौधनलाई प्रदान सम्मान गरेका हुन् ।
बुटवल औद्योगिक क्षेत्रमा ७० वटा उद्योगहरु स्थापना भएका छन् भने ६६ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । उद्योगहरुमा करिब ३ हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन् । पदस्थापनको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने दिशामा रहेको उल्लेख गरे । "जबसम्म आर्थिक विकास हुँदैन तबसम्म मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौं ।"-मन्त्री ढकाले भने । उनले राजनीतिक रुपमा उठेका विषयलाई सहि रुपमा लैजान औद्योगिक विकासमा जोड दिनु पर्ने अवस्था आएको बताउँदै उद्योगीहरुको निराशालाई हटाउन नयाँ उद्योग निती बनाउन लागेको जानकारी गराए ।
नेपालको आर्थिक विकास र औद्योगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो । उनले बुटवल औद्योगिक क्षेत्रको विकास र उद्योगीहरुको समस्याहरुमा प्रदेश सरकार गम्भिर रहेको बताए । उद्योगहरूको विकास विना राष्ट्रको विकास हुन नसक्ने बताए ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले विभिन्न कायरणले नेपालको औद्योगिक वातावरण समस्यामा देखापरेको उल्लेख गर्दै औद्योगिक क्षेत्रका उद्योगहरुले नीतिगत तथा भौतिक विकासका अप्ठ्यारा समाधानका लागि राज्यको ध्यान जानु जरुरी रहेको बाताए । लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले बुटवल औद्योगिक क्षेत्र प्रदेश सरकारको गहना भएको बताउँदै त्यसको भौतिक विकासमा जोड दिन आग्रह गरे । संघका अध्यक्ष हिरामणी भट्टराईले बुटवल धागो कारखानाले ओगटेको १४३ रोपनी जग्गा प्रयोग विहिन अवस्थामा रहेको बताउँदै उद्योग बिस्तारका लागि जग्गाको कमी भैरहेको वर्तमान अवस्थामा उक्त जग्गालाई यस औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुले भोग चलन गर्ने गरि आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उपेन्द्र अग्रवालले प्रतिवद्धता मन्तव्य राख्दै औद्योगिक क्षेत्रभित्रका समस्याहरुलाई समाधान गर्न आफ्नो नेतृत्वले इमानदारिताकासाथ काम गर्ने र त्यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गरे । महासचिव प्रज्जवल थान्जुको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली लगायत शुभकामा व्यक्त गरेका थिए ।
प्रतिक्रिया