काठमाडौँ । प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक कक्षमा प्रवेश गरेका हुन् ।
यसअघि रास्वपाका सांसदले बोल्नका लागि विशेष समय माग गरेका थिए । सभामुख देवराज घिमिरेले बैठकको पहिलो दिन शून्य र विशेष समयको व्यवस्था नगरिएको भनेपछि उनीहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले आसन ग्रहण गर्न बारम्बार आग्रह गरे पनि रास्वपाका सांसदले अवरोध जारी राखेका थिए । उनीहरूको विरोधकै बिच सभामुखले बैठकको कारबाही अघि बढाएका थिए । त्यसपछि रास्वपाका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।
प्रतिक्रिया