ताजा अपडेट »

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताः उत्कृष्ट खेल पस्कदै रुपेश र सिन्दिरा अगाडि

शुक्रबार, १८ माघ २०८१, ०६ : ००
18 Shares
शुक्रबार, १८ माघ २०८१
18 Shares

हेटौँडा । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा आइतबार देखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौँ चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन् ।  २५ औँ पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले सिएम नवीन तण्डुकालाई पराजित गर्नु पूर्व युवा पुरुषोत्तम सिलवाल सँग बराबरी  खेल खेलेका थिए। 

रौतहटका रुपेश जैसवालले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ पर्फमेन्सकाे खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ वृद्धि गर्न सफल भएका छन् । उनले २०९३ रेटिङ्गवाट खेल प्रारम्भ गरेका थिए। हेटौँडा स्थित होटल सामनाको सभा हलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौँका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे ५ अङ्क जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन्। 

मकवानपुरका क्षितिजले २०९१ रेटिङ स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ वृद्धि गरेका छन्। उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ वृद्धि गरेका छन्। वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ पर्फमेन्स गर्दै व्यक्तिगत ३२ दशमलव ८ रेटिङ बढाउन सफल भएका छन्। 

474838277_577852635228099_3477091256404052045_n

अन्तिम तिन चरणको खेल बाकी हुँदा सिएम शुश्रुत दहाल ५ अङ्क बनाउदै एकल तेस्रो स्थानमा छन्। झापाका शुश्रुतले २०४२ रेटिङ पर्फम गर्दै व्यक्तिगत ५ रेटिङ वृद्धि गरेका छन्। दोलखाका आशिष् फूँयाल र काठमाडौँका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अङ्क जोडेर चौथो स्थानमा टिकेका छन्। 

यसै गरी दसौँ महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुनः उपाधि तर्फ बढेकी छिन्  । काठमाडौंकी सिन्दिराले ६ दशमलव ५ अङ्क जोड्ने क्रममा पाँच जीत र तिन खेल बराबरी खेलेकी छिन्। नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरि र काठमाडौँकी एञ्जल महर्जन दुवैले समान ६ - ६ अङ्क जोडेका छन्। संयुक्त दोस्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार , पाँच जीत र दुई खेल बराबर खेलेकी हुन्। यस्तै युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जीतको स्वाद चाखेकी छिन्। 

475099508_712670108044676_846752004743254066_n

मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत गर्ता गर्दै ५ दशमलव ५ अङ्क जोडेर तेस्रो स्थानमा रहन सफल भएका छन् भने कीर्तिपुर काठमाडौँकी विनीता कपालीले तिन हार र पाँच खेलमा जीत हासिल गर्दै सम्भावना जगाएका छन्।  महासङ्घका महासचिव धरम बहादुर लामाका अनुसार राष्ट्रिय प्रतियोगिताको मापदण्ड अनुसार एक खेल मात्र सञ्चालन हुने दिनमा खेलाडीलाई रिफ्रेसमेण्ट दिन हेटौँडा सहिद पार्क र मकवानपुर गढी लगायत अन्य पर्यटकीय स्थलमा भ्रमण गराइएको जानकारी गराएका छन्।  

मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको स्थानीय रेखदेखमा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल खेलका थप दुई चरणको खेल शुक्रवार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।