भैरहवा। रुपन्देहीको इलाका प्रशासन कार्यालय मझगावाँमा चोरी भएको छ । चाेरले इलाका प्रशासन कार्यालयकाे ताला फाेडी गएराती चाेरी गरेकाे हाे । इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञराज पोख्रेलका अनुसार, अज्ञात व्यक्तिहरूले कार्यालयको कोठा नं. २ को ताला फोडेर राष्ट्रिय परिचयपत्र सेवासम्बन्धी कार्यमा प्रयाेग हुदै आएकाे ल्यापटप र क्यामरा चोरी गरेका हुन ।
कार्यालय प्रमुख पोख्रेलले भने, ‘कार्यालयमा सिसिटीभी क्यामराकाे व्यवस्था छैन, त्यसैले चोरी गर्ने व्यक्तिको पहिचान गर्न समस्या आएको छ । विहान कर्मचारीहरूले कार्यालयमा प्रवेश गर्दा ताला तोडिएको अवस्था देखिएपछि, प्रहरीलाइ खबर गरेका हौँ ।
मर्चवारस्थित इलाका प्रशासन कार्यालय मझगावाले नागरिकता, राष्ट्रिय परिचय पत्र तथा मधेशी र दलित आदि प्रमाणित सेवाहरु प्रदान गर्दै आएको छ । इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख, प्रहरी निरिक्षक सन्तोष बस्यालले घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनले भने, ‘यद्यपि चोरी भएको कार्यालयमा सिसिटीभी क्यामरा नभएकाेले नजिकका अन्य क्यामराको सहायतामा गहन अनुसन्धान जारी छ ।’
एक थान एचपी कम्पनीको ल्यापटप र एक थान क्यानान कम्पनीको क्यामरा चोरी भएको खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । उनले भने, ‘सँगै राखिएका महँगा स्क्यानर, प्रिन्टर र २ थान कम्प्युटर लगायत अन्य सामग्रीहरू यथावत छन् भने प्रत्येक दिनको विवरण राखिने गरेको ल्यापटप र क्यामेरामात्र चोरी भएको छ ।’
इलाका प्रसाशन कार्यालय गृह मन्त्रालय माताहातकाे कार्यालय हाे । देशकै सुरक्षा हेर्ने तालुकदार मन्त्रालय माताहातकाे कार्यालयमा भएकाे चाेरीकाे याे घटनाले जिल्लाकाे सूरक्षा व्यवस्थामाथी पनि प्श्न खडा गरेकाे छ । गृह मन्त्रालय मताहातकै कार्यलय समेत यसरी असुरक्षित भइरहदा सर्वसाधारणले कस्ताे सुरक्षाकाे अनुभती गर्ने एउटा गम्भिर प्रश्न समेत खडा गरेकाे छ ।
यसअअघि २०७८ मंसिर २७ गते विचौवापुर आधारभूत विद्यालयबाट राष्ट्रिय परिचयपत्र संकलन टोलीको चार थान ल्यापटप चोरी भएको थियो भने, २०७८ पुस ७ गते बुधबार राती मर्चवारी गाउँपालिका– ४ को खैरास्थित वडा कार्यालयको झ्याल फुटाएर चोरी भएको राष्ट्रिय परिचयपत्र संकलन टोलीको ल्यापटप हालसम्म पनि फेला परेको छैन ।
प्रतिक्रिया