ताजा अपडेट »

विद्यालय पठाएर मात्र अभिभावकको जिम्मेवारी पूरा हुँदैन

विहीबार, १७ माघ २०८१, ०८ : ३०
124 Shares
विहीबार, १७ माघ २०८१
124 Shares

हरिस (नाम परिवर्तन) को छोरा-छोरी कुनै एक सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छन् । हरिसलाई शिक्षकहरू सँग गुनासो छ, उनीहरूले छोराछोरीलाई सुधार गर्न सकेनन् । छोरा-छोरीको पढाई बिग्रियो, धेरै मोबाइल हेर्ने गर्छन् । भनेको मान्दैनन् । अटेरी भएका छन् । सामुदायिक विद्यालयका केही अभिभावकहरूलाई भेट्दा पनि यस्तै यस्तै गुनासाहरू सुनाउने गर्छन् । प्राय अभिभावकहरूलाई आफ्ना नानीबाबु पढुन् लेखुन् र राम्रो होउन् भन्ने नै हुन्छ । तर उनीहरूको सम्पूर्ण जिम्मेवारी विद्यालय र शिक्षकले लिइदिउन् भन्ने छ । प्राय अभिभावकहरू विद्यालय र शिक्षकहरूलाई देखाएर आफ्नो जिम्मेवारीबाट उम्किन खोजेको देखिन्छ । अभिभावकहरूलाई के लाग्छ भने आफ्ना बालबालिकालाई विद्यालय पठाए पछि आफ्नो जिम्मेवारी पुरा हुने र बाँकी काम विद्यालय र शिक्षकहरूको हो भन्ने आम धारणा पाइन्छ ।

प्राय सामुदायिक विद्यालयमा विद्यार्थीहरूका अभिभावकहरू न्यून रूपमा आउने गरेको पाइन्छ । कति अभिभावक त वर्षौ वर्ष विद्यालय आउदैनन । एक सामुदायिक विद्यालयका प्रधानाध्यापकका अनुसार अभिभावकहरूलाई पत्राचार र फोन गर्दा समेत वर्षमा एक पटक पनि विद्यालय आउदैनन । यस्तो समस्या उक्त विद्यालयको मात्र नभएर प्राय सबै सामुदायिक विद्यालयहरूको साझा समस्याको रूपमा रहेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने हो भने विद्यार्थीका अभिभावक कम्तीमा महिनाको एक पटक विद्यालयमा जाने गर्नुपर्छ । बालबालिकाहरू, जो सुन्दर भविष्य निर्माणका निम्ति कठोर शैक्षिक तपस्यामा तल्लीन छन् । बिहान स्कुल जान्छन् र साझा स्कुलबाट पढेर घर फर्किछन् । उनीहरू मात्रै होइन, उनीहरूलाई हेरेर हाम्रा अभिभावकहरू, एक छिन गम खादै उनीहरूको सुन्दर भविष्य सम्झेर एक छिन सोच्न मग्न हुन्छौ । कस्ता होलान्, आफ्ना नानबाबु भनेर ।

जो विद्यार्थी छन् र विद्यालय जान्छन् । आज ती विद्यार्थीहरू अज्ञानताको ढुङ्गा फोडेर ज्ञानको सुन्दर मूर्ति बन्ने प्रक्रियामा छन् । सुन्दर भविष्यकाका लागि परिवार, समाज र राष्ट्रका कर्णधार बन्दै छन् । यस्तो अवस्थामा हामी अभिभावक,  ती भविष्यका कर्णधार प्रति कत्तिको जिम्मेवार वा सचेत छौ ? उनीहरूलाई विद्यालय पठाएर मात्र आफ्ना जिम्मेवारी पूरा भएको भ्रममा छौ वा अन्य जिम्मेवारी पनि हुन्छन् भनेर ती जिम्मेवारीहरू  पुरा गर्न लागेका छौ । ती जिम्मेवारीलाई कसरी निभाउँदै छौ ? त्यसले नानीबाबुमा के, कस्तो सहयोग पुगिरहेको छ ।

एआई, जिपिटि च्याट र सामाजिक सञ्जालको व्यापक विकास भएको समयमा आज विश्वव्यापीकरणका कारण विश्व एक सानो समाजमा रूपान्तरण हुदैछ । अवसरका निम्ति विश्यव्यापि रुपमा हरेक देशका नागरिक एकै ठाउँमा खुल्ला प्रतिस्पर्दा गर्नु पर्ने अवस्था सृजना हुदैछ । यस्तो परिस्थितिमा व्यक्तिको क्षमता, उसले प्राप्त गर्ने अवसरले प्रतिस्पर्धा र उत्कृष्टका निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । अबका केही समयमा परिस्थिति थप जटिल हुने देखिन्छ । त्यस्तो विषम परिस्थितिमा हाम्रा विद्यार्थी कहाँनेर हुन्छन् । उनीहरूले प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् भनेर सोच्नु पर्ने भएको छ ? सोच्नु भएको छैन भने, अब सोच्न जरुरी छ ।

सामान्यतया अभिभावक भन्नाले कुनै पनि विद्यालयमा अध्ययनरत बालबालिकाको हेरचाह र सुरक्षा गर्ने व्यक्तिको रूपमा चिनिन्छ । शिक्षा ऐन २०२८, का अनुसार अभिभावक भन्नाले बालबालिकाका बाबुआमा वा हजुरबा आमा भन्ने भन्ने बुझिन्छ । समग्रमा त्यो बाहेक पनि दाइ दिदी, काका काकी, परिवारका ज्येष्ठ व्यक्ति जसले पढ्न सहयोग गरेका छन् तिनीहरूलाई अभिभावकको रूपमा बुझिन्छ ।

अब हामी हाम्रा नानीबाबुलाई विद्यालय पठाएर मात्र पुग्दैन । आफ्ना नानीबाबु सँगै महिनामा कम्तीमा अभिभावक १ पटक आफ्ना बालबालिका अध्ययनरत विद्यालयमा पुग्न जरुरी छ । स्कुल पुगेर सम्बन्धित शिक्षक सँग उनीहरूको अवस्था के कस्तो छ, भनेर बुझ्न आवश्यक छ । किनकि बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकको जिम्मेवारी पुरा हुँदैन । बालबालिकाले त विद्यालय र शिक्षक सँग बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म जम्मा ६ घण्टा बिताउने हो तर बाकी १८ घण्टाको समय त आफ्ना परिवार र अभिभावकका साथमा बेतित गर्छन् । तसर्थ विद्यार्थीको पठनपाठन देखि मानसिक, सामाजिक, शैक्षिक सँगै आवश्यक सिप, क्षमता विकासका निम्ति पनि अभिभावक जिम्मेवार बन्नु जरुरी छ ।

हामीले बुझ्नु पर्ने विषय के हो भने हाम्रा नानीबाबुको भविष्य निर्माण गर्ने जिम्मेवार विद्यालय , शिक्षकको मात्र नभएर अभिभावकको पनि हो । यसका निम्ति स्थानीय तह, जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय, व्यवस्थापन समिति सबैले यस विषयमा जिम्मेवार हुन जरुरी देखिन्छ । एउटा अध्ययनले नियमित विद्यालय आउने अभिभावक, जसले घर तथा विद्यालयमा आफ्ना बालबालिकाको विशेष ख्याल सँगै उनीहरूको पढाइबारे चासो राख्ने गर्छन्, ऊनीहरूका बालबालिकाहरू विद्यालय नआउने अभिभावकका बालबालिका भन्दा धेरै नै सफल भएको देखिएको छ ।

आफ्ना बालबालिकालाई सफल भएको हेर्न चाहने अभिभावकले निम्न प्रतिबद्धता गर्नै पर्दछ ।
१. आफ्ना बालबालिकालाई नियमित तथा समयमा नै विद्यालय पठाउने छु ।
२. बालबालिका नियमित  विद्यालय जान्छन् कि जाँदैनन् ? कतै बाटो मै पो लुक्छन् कि भनेर नियमित कक्षा शिक्षक सँग बुझ्ने छु ।
३. म कम्तीमा महिनाको एक पटक विद्यालयमा जानेछु । ऊनीहरूका गतिविधि र शैक्षिक अवस्था बारे बुझ्ने छु ।
४. आवश्यक शैक्षिक सामाग्री छ-छैन भनेर बुझ्ने छु र आवश्यक शैक्षिक सामाग्रीको व्यवस्थापन गर्नेछु ।
५.घरमा पाठ्य पुस्तक सँगै अन्य किताब पढ्नका लागि उत्पेणित गर्ने छु ।
६.समयमा विद्यालयका गृहकार्य गर्न प्रेरित गर्नेछु ।
७. आफ्ना बालबालिका कतै गलत क्रियाकलापमा त लागेका छैनन् । त्यसका लागि विशेष ध्यान दिनेछु ।
८. कतै उनीहरूमा मानसिक, शारीरिक वा कुनै समस्या त देखिएको छैन ? बुझ्ने छु ।
९. सबै प्रकारको विभेद विरुद्ध जनचेतना वा ज्ञान दिनेछु ।

कुनै पनि बालबालिका सफल, असफल हुनुमा उ कस्तो वातावरणमा हुर्कियो । कस्तो अवसर प्राप्त गर्यो भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ र त्यसमा बालबालिकाको अभिभावको महत्त्वपूर्ण भूमिका हुन्छ ।
(लेखक तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति संयोजक हुन ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।