बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार महिलाहरुलाई १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । संघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्योजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ आर्थिक रकम भत्ता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो ।
संघले उपलब्ध गराउने उक्त रकमध्ये ५ हजार रुपैया आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइने छ भने ५ हजार रुपैया नवजात बच्चाको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको अध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए । नवजात बच्चाको नाम जम्मा गरिने रकम पुरुष पत्रकारलाई समेत उपलब्ध गराइने उलने उल्लेख गरे । यही माघ १५ र १६ गते दुई दिनसम्म आयोजित कार्योजना निर्माण बैठकले पत्रकारहरुको क्षमता बिकास, आर्थिक सशक्तिकरण तथा सञ्चारगृहहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ । महासंघले अँग्रेजी वर्ष २०२५ लाई आधार मनेर १ तत्कालिन र दिर्घकालिन योजनाहरु अघि सारेको छ ।
संघको कल्याणकारी कोषवृद्धि गरेर ४० लाख रुपैयाँ बढी पुर्याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाख बढीको कोष स्थापना गर्ने, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यगरी क्षमता बिकासका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक संघ-संस्थाहरुसँग सम्बन्ध बिस्कारका लागि खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित बनाउने लगायतका एजेण्डाहरु पारित गरिएको सचिव सीपी खनालले जानकारी दिए । महासंघले ३ वर्षको अवधिमा कम्तिमा ३० लाख रुपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता बिकासमा लाग्ने योजना प्रस्तुत गरिएको कोषाध्यक्ष नरेश केसीले बताए । बैठकमा पारित भएका योजनाहरुलाई वार्षिक क्यालेन्डर बनाएर कार्यन्वयन गर्दै गरिने उपाध्यक्ष विश्वास ढकालले बताए । बैठकमा श्रमजीवी पत्रकारहरुको विगत, वर्तमान र भविष्यका बारेमा समीक्षा गरिएको थियो । पत्रकारहरुको पेशागत हक-हित र उनीहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने विषयलाई महत्वकासाथ छलफल गरी योजनाहरु तयार पारिएको उपाध्यक्ष ढकालले बताए ।
यसैगरी पछिल्लो समय सामाजिक सञ्चालमा देखिएका विकृति, सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचरण तथा कानूनी प्रावधानहरुको बारेमा समेत गम्भिर रुपमा छलफल गरिएको उपाध्यक्ष अस्मिता पाण्डेले बताइन् । बैठकले पछिल्लो समय विभिन्न व्यक्तिहरुले सवारीका साधनहरुमा ‘प्रेस’ लेखेर हिड्ने, यसको दुरुपयोग गर्ने लगायतका गतिवधि बढेको बताउँदै उनले यस्ता गतिविधि रोक्न महासंघ कुनै पनि सदस्यले सवारीमा प्रेस नलेख्न र लेखिएको भए मेटाउनका लागि आह्वान गरिएको उनले जानकारी दिइन् । सञ्चारकर्मीको नाममा असम्बन्धित व्यक्तिहरुले समेत गतिविधि गर्ने र त्यसका कारण बास्तविक सञ्चारकर्मीको मर्यादामा आँच आउने गरेको बताउँदै उनले यस्ता गतिविधि रोक्नाका लागि सबैको साझा पहल आवश्यक रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया