ताजा अपडेट »

‘नेपालका मेला–महोत्सवमा ठेक्केदारी प्रथा छ, कलाकारको अपमान गरिन्छ’

मंगलबार, १५ माघ २०८१, १९ : १४
80 Shares
मंगलबार, १५ माघ २०८१
80 Shares

प्रकाश कटुवाल चर्चित लोकदोहोरी गायक हुन् । रामेछापमा जन्मिएर काठमाडौंमा संघर्ष गरिरहेका उनी राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष समेत हुन् । दर्जनौं चर्चित गीत गाएका कटुवाल रोधीघरका संचालक समेत हुन् । नेपाली गीत संगीत, रोधी र दोहोरी घरहरुको अवस्था, कलाकारहरुप्रति समाजले हेर्ने दृष्टिकोण साथै सरकारले गर्नुपर्ने कामहरुका विषयमा नेपाल न्यूज बैंकले उनीसँग कुराकानी गरेको छ ।

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
संगीतसँगै व्यापार क्षेत्रमा सक्रिय छु ।लामो समयदेखि संगीतमै सक्रिय भएपनि जीवन धान्नै कठिन भएपछि व्यापारतिर हात हालेको हुँ । काठमाडौंको ठमेलमा रोधीघर संचालनमा ल्याएको छु । साथै अन्य व्यापारमा पनि समय दिने गर्छु । अहिले  संगीत भन्दापनि बढी विजनेशतिर व्यस्त छु ।

कति समय संगीतमा विताएर व्यापारतिर लाग्नुभयो र किन व्यापार रोज्नुभयो ?
संगीतमा लागेको करिब २२ बर्ष भयो ।होला, दशौं हजारमा एक दुईसय जनालाई बाँच्न सजिलो होला तर सबैलाई संगीत व्यावसाय सोचेजस्तो छैन। हुन त म संगीतबाटै यहाँसम्म आएको हुँ । तर संगीतमा सदाबहार लागिरहने र संगीतमै जिन्दगी बिताउने कल्पनाको मनस्थिती चाँही गुमिसकेको छ ।

हालको अवस्थालाई हेर्ने हो भने अडियो क्यासेटको जमनाबाट सिआरबिटी, पिआरबिटी हुँदाहुँदै युट्यूब जमनासम्म आइपुगेका छौं । र अहिले लगानी गरेर संगीतमा कुनैपनि फलदायी जीवन जिउनसक्ने र  संगीतबाट आफ्नो लगानी फिर्ता लिने कुनै त्यस्तो मापदण्ड छैन । सयौं गीतमा एउटा गीतले दर्जा पाउला र त्यही एउटा गीतले राम्रो रकम उठाउला, ती मध्ये ९९ सय गीतहरुले फ्ल्प हुने अवस्था भइसकेको छ । अहिले  संगीतमा कमाएको पैसा ह्वात्तै बालुवामा पानी हालेजस्तो अवस्था भएकाले लगानी गर्न  धेरैले छाडेका छन् । त्यसैले मैंलेपनि संगीतमा लगानी गर्न छाडेको छु ।

संगीतमा आउनेहरु सबैले लगानी गरेर मात्र आउँछन् या कुनै अवसरहरु पाएर?
सुरु सुरुमा त सबैले लगानी नै गरेर आएकोदेखिन्छ ।  कसैले राम्रो गीत गाउँछ भने उसलाई सित्तैमा गीत रेकर्ड गराइदिंदैनन् । एउटा अडियो मात्रै  रेकर्ड गर्न  ५० हजार रुपैयाँ खर्च हुन्छ । सोही गीतमा भिडियो निर्माण गर्नुपर्दा सामान्यत तीनदेखि सात लाखसम्म खर्च हुन्छ । त्यही भएर सुरु सुरुमा लगानी चाँही धेरैलेआफैंले गर्नुहुन्छ । चर्चित हुनको लागि, गीत संगीत बजारमा ल्याउनका लागि पहिला आफैंले लगानी  गरेर आएका छन् । कोही साथीहरु जसको राम्रो आवाज छ भने उनीहरु बिकेका पनि छन् । तर सुरु सुरुमा आफूले लगानी नगरिकनयो क्षेत्रमा आउन त्यति सजिलो छैन ।

तपाईं चाहीं कसरी संगीत क्षेत्रमा प्रवेश गर्नुभयो ?
काठमाडौं प्रवेश गरेको २२ वर्ष नै भयो । गाउने रस सानैदेखिको थियो । काठमाडौं प्रवेश गरेपछि चाँही सबैजसो कलाकारहरुसँग संगत हुँदै गयो । बढ्दो भेटघाटले  गर्दा मैंले गीत गाउने स्टुडियो पनि चिन्दै गएँ । विस्तारै संगीतबाटै केही गर्न सकिन्छ कि भन्ने जोश जाँगरले नै संगीतको यात्रा सुरु गरें । म २०६० सालमा रोधिसाँझ बाट गीत गाउन सुरु गरेको हुँ ।

तपाईंको  पहिलो  गीत कुन थियो ?
मेरो पहिलो गीत ‘मिलनको पल पल’ भन्ने थियो । तर त्यो बेला नयाँ कलाकारको भोकल कम्पनीले लिँदैन थियो । त्यसबेला राजु परियार भर्खर मात्रै बजारमा आउनु भएको थियो । उहाँको आवाज नै हालेर गीत रेकर्ड गराइयो  । गीत मेरो र विनोद ढकालको लगानीमा रेकर्ड गरिएको थियो । जुन गीत २० वर्ष पूरानो हो । जसको ६०–७० हजार अडियो चाँही बेचियो । त्यो समय क्यासेटको थियो । त्यसपछि २०६३ देखि म निरन्तर गीत गाउँदै आए । लगभग २० देखि ३० वटा गीत अत्यन्तै चले  पनि  । जुनमा ‘चोरी खान पल्केको ढाँडे बिरालो, फूल फूल्यो केशरी, छेकेन जामाले, यो रक्सीको गन्ध, रातो सारी सप्पकै’ आदी हुन् । यसैगरी आधुनिक गीत ‘भूल्दिन तिमीलाई’ लगायत धेरै गीतहरु चल्न सफल भए ।

तपाईं रोधीघर संचालन गरिरहनुभएको छ । यसमा कस्ता कलाकारहरुले अवसर पाउँछन् ?
यसमा विशेषगरी ८० प्रतिशत दोहोरी गाउने कलाकारहरुले अवसर पाउँछन् ।  अन्य २० प्रतिशतले पनि अवसर पाउने गरेका छन् । रोधी साँझमा पप गीतहरु पनि बज्छन् । फिल्म गीतहरु पनि बज्छन् ।  सबै गीतहरु प्रायःबजीरहेका हुन्छन् । ठमेल पर्यटक भित्रिने स्थान भएकाले पनि मेरो रोधी साँझमा हिन्दी गीतहरु समेतले  प्राथमिकता पाइरहेका हुन्छन् ।

हाम्रो  समाजमा रोधी साँझलाई  नकारात्मक दृष्टिकोणले  हेरिन्छ  । यसमा तपाईंको  भनाई के छ ?
ढुंगेयुगको बेला चाँही रोधी साँझलाई नराम्रो नै भनिथ्यो  । तर अहिले दोहोरी धेरैले  बुझेका छन् । दोहोरी भित्रै गएर देखेका छन् । त्यस्ता मान्छेहरुले दोहोरी साँझलाई सकारात्मक रुपमै बुझेका छन् । रोधीसाँझमा त्यस्तो अनावश्यक दुःख दिने, छोरीचेलीलाई हातपात गर्ने, छुने, समाउने चाहीं हुँदैन् ।

रोधिसाझ चलाउन कतिको  सहज छ ?
दिन बिग्रेको बेला समस्या सबैलाई पर्छ । तर कहिलेकाँही समस्या नै हाम्रो सफल हुने बाटो पनि हो । व्यवसायलाई राम्रो ढंगले चलाउन सकेनौं भने सिस्टममा ल्याउन सकेनौं भने, म्यानेजमेन्ट राम्रो गर्न सकिएन भने व्यवसाय पनि चल्दैन । तर म पनि आफैं दोहोरी साझको विषयमा पोक्त अनुभवी हुँ । त्यस हिसाबले पनि रोधी व्यवसाय कमजोर भएको, घाटा खाएको, दुःख पाएको चाँही अहिलेसम्म छैन। मेरो व्यवसाय पक्कैपनि राम्रो छ । र राम्रोसँग चलाउन सकेको छु । तर व्यापारमा ठ्याक्कै यति कमाई भन्ने हुँदैन । समग्रमा तीन करोड लगानीमा व्यवसाय सञ्चालन गरेका हौं । मेरो आफ्नो व्यवसायमा लगानी अनुसारको प्रतिफल पाएको छु । र दुःख गरे अनुसारको दुईचार लाख कमाउन त्यति गार्हो हुँदैन ।

संगीत करियरमा आएका कुनै चुनौतीहरु स्मरणमा छन् वा संगीतका चुनौतीहरु के हुन् ?
चुनौती त धेरै नै हुन्छ । संगीतमा लाग्दैगर्दा कसरी चल्ने भन्ने कुरा निकै चुनौती हुन्छ ।चलिसकेपछि आफ्नो करियर कसरी बसाल्ने झनै चुनौती हुन्छ । विदेशको यात्रा गर्दैगर्दा पनि धेरै चुनौती हुन्छ । झन पहिलोचोटी यात्रा गर्नेलाई त धेरै गार्हो हुन्छ । पहिलोचोटी गीत रेकर्ड गर्दैगर्दा पनि मैंले निकै चुनौतीहरु भोगेको थिए । स्टुडियो पत्ता लगाउन नै मलाई त एक महिना लागेको थियो । पहिला अहिलेजस्तो गाडी चढ्ने, कुदिहाल्ने अवस्था पनि थिएन् । कमै मात्र गाडी गुड्ने भएकाले हामी हिड्दै हिड्दै पैदल गर्ने गर्दथ्यौं । भनेजस्तो खर्च पनि हुँदैनथ्यो ।तर संगीतमा नै यात्रा गर्दैगर्दा १८ महिना जेल बसेको छु । पोखरा कार्यक्रममा जाँदा बीचमा एउटा घट्ना घटेर १८ महिना जेल बसेको छु । त्यो मेरो जीवनको एकदमै अविश्मरणीय क्षण त्यो पनि हो । आफ्नो संगीत व्यवसायमा फर्केको छु । अबको जीवन पक्कै पनि राम्रो हुनेछ । 

अब संगीत वा व्यापार के रोज्नुहुन्छ ?
संगीत त मेरो मुटु धड्कन नै हो । संगीत बिना त म मात्र होईन् धेरै मानिस बाँच्न सक्दैनन् । जसले जति मुखले बोलेपनि दुःखसुख जस्तो अवस्थामा पनि संगीत चाहिन्छ । संगीतबिना अरु केही सोच्नै सक्दिन । तर व्यवसाय मेरो लागि आवश्यक्ता हो । संगीत र सम्पत्ति के रोज्छस्भन्योभने मेरा लागि संगीत नै हो ।

नेपालमा चलेका कलाकारहरु विदेशिएको पाइन्छ । खास के कारणले होला ?
जन्मदा पहिला आवाज नआउला, आवाज आएपछि लड्ला वा ठोक्किएला भन्दै संगीतमा लागिन्छ ।अनि विस्तारै विबाह होला बालबच्चा होलान्, परिवार पाल्न र खुशी राख्ने रहर होला । विस्तारै आवश्यक्ताहरु बढ्दै जान्छन् अनि पूरा गर्न नसकेपछि विदेश जाने गर्छन् । नेपालमा भनेजस्तो रोजगार छैन। जुनसुकै जागिर खाएपनि बढिमा २५ देखि ३० हजारको तलव छ । त्यसले आफ्नो जिन्दगी राम्रोसँग चल्न सक्छहोला तर परिवार पाल्न सकिँदैन् । त्यसको लागि पनि आफ्नो परिवार खुसी राख्नपनि देश छाड्नुपर्ने बाध्यतासबै नेपालीको छ । कलाकार मात्र होइन देशमा हुर्किसकेपछि सबैजसो युवा साथीहरुले देश लहरमा छन् ।

हरेक क्षेत्रमा राज्यले के गर्न आवश्यक छ ?
नेपाल भन्ने वित्तिकै गर्व गर्न लायकको देश हो । यो देशमा जन्मनु, स्वतन्त्रसँग बाँच्न पाउनु एकदम गर्व गर्नुपर्छ । तर राज्यले रोजगारीको मूल फुटाउन सकेको छैन् । तीन कारोड जनतामा अहिलेपनि हिसाब हेर्दा ८० लाख जनता नेपाल भन्दा बाहिर छन् । तिनै जनताले कमाएर पठाएको रेमिटेन्सले देश धानिएको छ । देश आफैमा गरिब छ । पछिल्लो समय सुस्त मनस्थितिले देश विकास चाहीं भएको छ । राज्यले केही गर्न नसकेपनि एउटा सिस्टम चाहीं बसाउनुपर्छ ।

दोहोरीमा अहिले छाडा प्रवृत्ति बढ्यो भन्ने गुनासो छ नि ?
छाडा प्रवृत्ति त आज भन्दा ५०वर्ष अगाडि पनि थियो  । पहिला अलि फरक ढंगको थियो अहिले अलि फरक ढंगको छ । हिजो ढुङ्गेयुग थियो आज कम्प्युटरको युगमा छौं । समय त त्यसै नै परिवर्तन भइहाल्छ । हिजोको जस्तो गीत आज बजारमा सुन्न पाइँदैन् । हिजो बाबाले लगाउने दौरा सुरुवालको जमाना गइसक्यो अहिले । महंगा महंगा कोट पाइन्ट र नयाँ फेसनका कपडाहरु आइसकेका छन् । त्यसपछि हिजो ढिंडो खाने चलनबाट अहिले मासको दाल, रातो दाल विभिन्न चौरासी ब्यन्जन खाने अवस्थामा आइसकेका छौं । त्यसकारण समय परिवर्तन त भएको छ र गीत संगीतको मापदण्ड र बजार पनि परिवर्तन भएको छ । त्यसकारण पहिला पहिला गाउने गीत र अहिले गाउने गीतमा फरक चाहीं छ । हिजो डाँडामा बसेर चार जनाले रुमाल हल्लाए पनि भिडियो बन्थ्यो, अहिले चार सयजना राखेर नाच्नुपर्ने अवस्था छ । त्यो के का लागि भन्दा बजारमा प्रतिस्पर्धा गर्नुपर्यो, चल्नपर्यो । हिजो १० रुपैयाँको व्यापार गरिन्थ्यो भने आज २० रुपैयाँको बढि गर्नुपर्यो । बजारको मापदण्ड फराकिलो हुँदैजाँदा र समय परिवर्तन हुँदै जाँदा हामी पनि त्यही सँगै बगेका हौँ र त्यसकारण संगीत पनि फरक हुँदै आएको हो ।
राम्रा आवाज भएकाहरुले अवसर नपाएको गुनासो पनि सुनिन्छ नि बजारमा ।

यसमा न तपाईंको दोष न, मेरो दोष । जसले संगीत सुनेर कलाकार बनाइदिनु भएको छ दोष उहाँहरुको हो । स्वर भएपनि नभएपनि गीत मन पराईदिनुभयो नि त । उत्कृष्ट स्वर हुँदैमा कलाकार हुने, सामान्य स्वर हुने वित्तिकै कलाकार नहुने, राम्रो स्वर भएको मान्छेलाई मात्र कलाकार भन्ने भनेर इतिहास बनाउनु हँुदैन् । राम्रा स्वर भएका साथीहरुको मेहेनत गरेको खण्डमा र कतिपय कुराहरु भाग्यमै लेखेर ल्याउनुपर्छ । दुःख पाउने, सुख पाउने सबै नसिबको कुरा हो । नसिबसँग लड्दै जाने क्रममा सामान्य कलाकार चर्चित भयो होला, राम्रो स्वर भएको मान्छे पछाडिपर्यो होला, लगानी गर्न सक्ने अगाडि आयो होला । लगानी गर्न नसक्ने पछाडि गर्यो होला । पृथ्वी गोलो छ कोही चाँडो आयो होला कोही ढिला आउँछ । फरक त्यतिमात्र हो । राम्रो प्रतिभा भएको मान्छे कुनै न कुनै समय अगाडि आउन सक्छ । त्यस्ता कलाकारको लागि ठाँउ छ । भ्वाइस अफ नेपाल, नेपाल आइडल जस्ता प्लेटफर्महरु छन् । त्यस्ता ठाँउमा लगानी लाग्दैँन् । आफूसँग भएको प्रतिभा देखाउने हो । त्यो प्रतिभा जनताले मन पराइ दिएभने अगाडि बढ्न सकिन्छ । सफल हुनको लागि दुःख त गर्नैपर्छ । हामी पनि गाउँ पाखा बेचेर कलाकार भएको हो । काठमाडौं आउँदैगर्दा एउटा जुत्ता लगाउन नसक्ने हैसियत थिएन । आज व्यवसायमार्फत स्थापित भएको छ । आफूभन्दा ठूला व्यक्तिहरुसँग सल्लाह लिनपर्यो । मेरोपनि ५० देखि सयवटा गीतहरु अरुले लगानी गरेका छन् । आफैंले राम्रो सिर्जना गर्न सक्नुपर्यो । घरमा सुतेको भरमा कसैले उठाएर लादैँन् ।
नेपालमा यतिबेला संगीतकर्मीको अवस्था चाहीं कस्तो छ ?
संगीतकर्मीको अवस्था आज मात्र होइन, हिजोदेखि आजसम्म हेर्ने हो भने समग्रमा राम्रो छ । यसमा मात्र आयस्रोत भएन भन्ने मात्र हो । लगानी गरेका गीतहरु फ्रिमा सबैले सुनिरहनु भएको छ । त्यसकारण संगीतको बजारमा व्यापार हुने एउटा मापदण्ड बनाउन नसक्नु नै दुर्भाग्य हो । मापदण्ड बन्थ्यो भने संगीतको व्यापार राम्रो छ, संगीतबाट बाँच्न सक्छाँै ।

तपाईंको कुनै नयाँ गीत आउँदैछ ?
मंैले पहिलाको जस्तो गीत निकालेको छैन् । अहिले पुरानागीतहरु अप्लोड गरिरहेको छु । अबको एक महिनाभित्र एउटा, दुईवटा नयाँ गीत रिलिज हुन्छ । तत्कालको लागि नयाँ गीतभने ल्याएको छैन् ।

मेला महोत्सवमा कतिको व्यस्त हुनुहुन्छ ?
पहिला पहिला धेरै नै हिडेको हुँ । ५०–६० वटा जिल्लामा पुगेर महोत्सवमा खुबै नचाइयो ।तर मलाई विदेशका कार्यक्रमहरु राम्रो लाग्छ । विदेशमा गएर कार्यक्रम पनि गरेको छु । अमेरिकाबाहेक अन्य देशहरुमा संगीतका कार्यक्रम हुने धेरै जसो ठाँउमा पुगेको छु । नेपालको महोत्सवहरु अहिले ठेक्का जस्तो हुने भएको हुनाले मन पर्दैन् । अहिलेका महोत्सवहरु सबै ठेकेदारहरुले गर्ने, उसलाई मन परेको कलाकार ल्याउने, खाए पनि नखाए पनि घिच भनेकोजस्तो गर्ने गरेको पाइन्छ । पहिला पनि त्यही कलाकार, अहिले पनि त्यही, अर्को साल पनि त्यही कलाकारलाई अवसर दिने परिपाटीको विकास भएको छ । त्यसैले विकृतिजन्य ठाँउमा गएर गीत गाईहालौं, नाची हालौं भनेर आत्मैबाट जोश छैन् । तर विदेशमा त्यस्तो छैन्, सम्मान छ । सत्कार गर्नुहुन्छ । फर्किने बेला बिदाई गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ ।

नेपालीमहोत्सव आयोजकहरुले विदेशी आयोजकहरुसँग सिक्नुपर्ने केही छ ?
सिक्न जरुरी त हो तर जे कुरामा पनि ठेकेदारी शैली छ । उनीहरु दलाल जस्तो भएका छन् । तपार्इंलाई २० हजारमा लिएर आयोजकहरुसँग ३० हजार लिने काम गर्छन् । यस्तो व्यवसाय गरेर बाँच्न राम्रो होइन् । कलाकारको नाममा पारिश्रमिक लुटेर खाए नि त । यस्तै प्रवृत्तिले ठिक भएन् ।

इज्जत हुन्छ, प्रतिष्ठा गुम्दैँन् भने फ्रि मा जाने रमाइलो गर्ने, मजाले नाचेर, गाएर आउने तर आयोजकलाई खुशी बनाउन कार्यक्रममा जाने चलन धेरै कलाकारहरुले छाडेका छन् ।मेला महोत्सव भनेको ठेक्दारलाई दिनु हुदैँन् । त्यो उद्योग व्यवसायहरु, संघहरु छन् उहाँहरुले गर्ने काम हो । स्थानीय कलाकारहरुलाई पनि मौका दिनुपर्छ ।

तपाईंको दृष्टिमा संगीतले हाम्रो संस्कृति र समाजमा के महत्व राख्दछ ?
संगीतले त देश नै परिवर्तन गर्छ । आमूल परिवर्तन गर्ने नै संगीतले हो । रोइ रहेको मान्छेलाई हसाउँछ, हाँसेको मान्छेलाई रुवाउँछ । सरकारनै ढालेका पनि छन् गीतले । गलत बाटोमा हिडेको मान्छेलाई सही ठाँउमा ल्याउनसक्छ । संगीत भनेको मान्छेको जीवनमा नभइ नहुने कुरा हो । संगीत बाच्नै सक्दिन भन्ने खालको विषय होइन् । संगीतले आमूल परिवर्तन र देश नै परिवर्तन गर्नसक्छ ।

 

 

 

 

 

 

 

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।