ताजा अपडेट »

बुटवलमा चलचित्र 'दिलसरा'को च्यारिटी शो

सोमबार, १४ माघ २०८१, १७ : ३४
98 Shares
सोमबार, १४ माघ २०८१
98 Shares

बुटवल । मगर कला र सँस्कृतिसँग जोडिएको नेपाली कथानक चलचित्र दिलसराको सोमबार बुटवलका च्यारिटी शो सम्पन्न भएको छ । नेपाल मगर महिला संघ बुटवल नगर समितिको आयोजनामा बुटवलको मिलन चलचित्र हलमा दिलसरा प्रदर्शन गरिएको हो । 

सो अवसरमा रुपन्देहीका विभिन्न संघ संस्था तथा मगर सम्बद्ध संस्थाका प्रतिनधिहरुगरी ६ सय बढीले चलचित्र हेरेका थिए । च्यारिटी शोबाट शंकलित रकमबाट मगर महिलाहरुको नेतृत्व विकास तथा संस्थागत समृद्धिका लागि प्रयोग गरिने नेपाल मगर महिला संघ बुटवल नगर समितिकी कार्यवहाक अध्यक्ष नन्दा थापाले जानकारी दिइन् । कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरु राना, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहा लगायतको उपस्थिती रहेको थियो । 

हर्क आलेको लेखन तथा पटकथामा बनेको चलचित्रको निर्माता जुना थापा र मिना थापा रहेकी छन् । मानोका फिल्मस् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको दिलसरा चलचित्रको निर्देशन अशोक आले मगरले गरेका हुन्  । दिलसरा अर्थात दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथालाई जोडेर बनाइएको यस चलचित्रमा महिला सशक्तिकरणको विषयलाई महत्वका साथ स्थान दिइएको छ । आदिवासी जनजाति समुदायमा महिला निर्णायक भूमिकामा हुन्छन् । घरका हरेक विषयमा उनीहरुको निर्णय महत्वपूर्ण मानिन्छ भन्ने विषयलाई चलचित्रमा देखाइएको छ ।  

हरेक समुदायमा कुनै न कुनै कमजोरी, कुरीति हुन्छ र यस्ता कमजोरी तथा कुरीतिलाई समय अनुसार सुधार गर्दै लैजानुपर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा माया, प्रेम, लाहुरे प्रथा, परिवारको महत्व र सफल हुन महिलाले उठाएको चुनौती सहित मनोरञ्जन, समुदायगत परिवेश लगायतका विषयलाई समावेश गरिएको छ । 

चलचित्रका निर्देशक अशोक आले मगर आफूहरुले मगर समुदायसँग केन्द्रित रहेर चलचित्र भित्र महिला सशक्तिकरणको विषयलाई महत्वका साथ उठान गर्ने प्रयास गरेको बताउँछन् । चलचित्रका मुख्य कलाकार सृष्टि राना मगरले मगर रहेकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।