ताजा अपडेट »

ट्यांकर र पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते

सोमबार, १४ माघ २०८१, ०६ : ४१
268 Shares
सोमबार, १४ माघ २०८१
268 Shares

बारा । बारामा भएका सवारी दुर्घटनामा एक युवक र एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका र एक युवक घाइते भएका छन्। आइतबार बाराको आदर्श कोतवाल र कलैयामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार आइतबार साँझ कलैया उपमहानगरपालिका ४ स्थित नेपाल बैंक अगाडि कलैयाबाट बरियापुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको तेल बोक्ने ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा रौतहटको बृन्द्धावन नगरपालिका ३ विश्रामपुर निवासी ४० वर्षीया बबिता ठाकुर रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको बाराकै परवानीपुर स्थित एलएस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटनामा बबिताकी छोरी ११ वर्षीया मोनी ठाकुर घाइते भएकी छन्। उनको एलएस अस्पतालमै उपचार भइरहेको छ। 

दुर्घटनापछि ट्याङ्कर चालक फरार भएका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । त्यसै गरी आदर्श कोतवाल गाउँपालिका ६ लौकाहामा भारतीय नम्बर प्लेटको बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३ ००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतको बिहारका २५ वर्षीय आदित्यकुमार पाठक छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डक अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकलको पछाडि सवार रौतहटको गौर नगरपालिका १ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन्। उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।