काठमाडाैँ । यस वर्षकाे ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ ले सफलताको उत्सव मनाएको छ। नेपालका अहिलेसम्मका धेरै कीर्तिमान तोडेर ऐतिहासिक सफलता पाएको यो चलचित्रको निर्माता कम्पनी सेभेन सिज सिनेमाले आइतबार काठमाडौँमा एक कार्यक्रम गरी ‘सक्सेस पार्टी’ मनाएको हो।
सक्सेस समाराेहका अवसरमा यसको अर्को सिक्वेल ‘पूर्णबहादुरको सारंगी–२’ ल्याउने घोषणा समेत निर्माण पक्षले गरेको छ। कार्यक्रममा सेभेन सिजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले लोगोसहित फिल्मको अनावरण गरेका हुन्।
विजय बराल, अञ्जना बराइली, मुकुन भुषाल लगायतका कलकारले अभिनय गरेकाे याे चलचित्र नेपाली सिनेमा जगतकै सबैभन्दा सफल चलचित्र हाे । गत कात्तिक १५ गतेबाट प्रदर्शन थालिएको यस फिल्मले नेपालभरि ५० करोड र विदेशमा २५ करोडभन्दा माथि व्यापार गरेको बताइएकाे थियाे ।
सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म १ करोड ३० लाखमा बनेको हो।
प्रतिक्रिया