डा.रविन्द्र बाँस्कोटा सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखामा कार्यरत छन् । छाला तथा यौनरोग क्षेत्रमा विशेषज्ञता हासिल गरेकाउनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कुष्ठरोग कार्यक्रमको सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन् । डा.बाँस्कोटासँग नेपालमा कुष्ठरोगको पछिल्लो अवस्था, रोकथामको उपाय र भावी योजनाबारे गरिएको कुराकानी ।
नेपालमा कुष्ठरोग र रोगबाट प्रभावितहरुको अवस्था के छ ? संख्या कति छ ?
नेपालको हालको अवस्था हेर्ने हो भने विगतको तुलनामा कुष्ठरोगका नयाँ विरामीहरुको संख्या बढेको छ । २४ सय ७२ जना नयाँ कुष्ठरोगका विरामीहरुलाई पत्ता लगाएर उपचारको दायरामा ल्याएको छौं । २४ सय ७२ जनामध्ये पनि करिब ४० प्रतिशत चाँही महिला हुनुहुन्छ । एकसय ३६ जना चाँही वालबच्चा हुनुहुन्थ्यो । १४ वर्षभन्दा मुनिका बच्चाहरुको सङ्ख्या एक सय ३६ जना थियो । त्यस्तै सुरुको अवस्थामा अङ्गभङ्ग भएको व्यक्तिहरुको सङ्ख्या चाँही एक सय ५७ जना थियो । जसमा दुईजना बालकालिकाहरुहरु सुरुको अवस्थामा नै अङ्गभङ्ग भएर आउनुभएको छ । तीनचार वर्षको तथ्याङ्कलाई हेरेर हालको अवस्थालाई मूल्याकंन गर्दा गत आर्थिक वर्ष नम्बर बढेको देखिन्छ । नियन्त्रण गर्न अझै चुनौतिपूर्ण नै छ ।
हजुरले कुष्ठरोग विरामीको संख्या बढिरहेको भन्नुभयो । के कारणले विरामी बढिरहेका हुन् ?
नेपालमा सन् २०१० मा कुष्ठ रोग उन्मूलन भयो भनेर घोषणा गरियो । तर उन्मूलनलाई कसरी परिभाषित गरियो भने प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम कुष्ठरोग भएका विरामीहरुको सङ्ख्यालाई निवारणको अवस्था भनेर व्याख्या गरियो । त्यसो भएपछि पोलेसी मेकर अथवा नीति निर्माण तहमा त्यसको के बुझाई गयो भने निवारणको अर्थ अब देशमा कुष्ठरोगका विरामीहरु नै छैनन् भन्ने भयो । देशले यसलाई प्राथमिकतामा पार्न नपर्ने हो कि भन्ने सोचको विकास भयो । यसका लागि आवश्यक कार्यक्रमहरु र बजेट अब नचाहिने हो कि भनेर कम प्राथमिकतामा राखियो । त्यस कारणले सक्रिय रुपमा गर्नुपर्ने कार्यविधिहरु र क्रियाकलापहरु थिए, त्यो गर्न सकिएन् । बजेट कम भयो । अनुसन्धान कम हुँदै गयो । संघ संस्थाहरुको क्रियाकलापमा कमी आयो । जसका कारण हामीले प्रभावकारी नियन्त्रण गर्न सकेनौं र फलस्वरुप यो रोगको सङ्ख्या बढ्दै गएको छ ।
कुष्ठरोग खासमा के कारणले लाग्ने गर्दछ ?
कुष्ठरोग माइक्रोब्याक्टेरिया लेप्रे नामक सुक्ष्म किटाणुले गर्दा लाग्ने रोग हो । मानव सभ्यताको सबैभन्दा पूरानो विराम कुष्ठरोग नै हो । विभिन्न पूराण वा धर्मग्रन्थहरुमा पनि कुष्ठरोगका बारेमा व्याख्या गरेको पाइन्छ । यस हिसाबले यो रोग वा विराम प्राचिन हो । यो प्राचिन रोग अहिलेसम्म आइपुग्दा उन्मूलन भइसक्नुपर्ने हो । तर पनि विविध कारणले उन्मूलन भइसकेको छैन् । किटाणुले गर्दा लाग्ने र कम सर्ने रोग हो । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ तर छोइहाल्दैमा सँगै बस्दैमा सरिहाल्ने रोग होइन् । लामो समयसम्म सँगै बस्दा स्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ ।
यसको रोकथामका उपायहरु चाँही के–के हुन सक्छन् ?
यसबाट जोगिने एउटै उपाय भनेको नै कसैलाई कुष्ठरोग लागेको छ भने समयमा नै उपचारको दायरामा ल्याउने नै हो । उपचार गरेपछि अरुलाई सर्न पाउँदैन् । यसको प्रभावकारी उपचार पनि छ र उपचार भइसकेपछि पूर्ण रुपमा ठिक हुन्छ । त्यसको मुख्य भनेकै समाजमा लुकेर रहेका कोहीपनि कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई पत्ता लगाएर उपचारको दायरामा ल्याउनैपर्छ । उपचार गरिसकेपछि न्यूनीकरण हुँदैजान्छ । सरिहाल्ने रोग होइन । त्यसैले घर–परिवारमा टाढै बस्नुपर्ने, छुट्टै बस्नुपर्ने अथवा यसका लागि अलग्गै औषधी या आहार गर्नुपर्ने भन्ने चाँही केहीपनि छैन् । सामान्य मानिसले गर्ने सामान्य क्रियाकलाप सबैजनाले गर्न सकिन्छ । र आफ्नो घरमा कसैलाई कुष्ठरोग लागेको शंका छ भने नजिकको अस्पतालमा गएर डाक्टरलाई देखाएर उपचार गर्नु नै रोकथामको उपाय हो ।
कुष्ठरोगका सुरुका लक्ष्यणहरु कस्ता हुन्छ ? के यो रोग उमेर विशेष हुन्छ ?
कुष्ठरोगको किटाणुले कुनै उमेर हेर्दैन् । रोग जसलाई पनि लाग्नसक्छ । यसका लक्षणहरु हुन्छन् । जुन सुरुमा नै थाहा पाउन सक्छौं । ति लक्षणहरु भनेको कुष्ठ रोगले छाला र स्नायूमा असर गर्छ । यसको किटाणुले सुरुमा गएर छाला र स्नायूमा आफ्नो प्रभाव देखाउँछ, छालामा दागहरु देखा पर्छन् । दागहरु कस्तो हुन्छ भने नचिलाउने, नदुख्ने, स्पर्श कम हुने, तातो–चिसो थाहा नपाउने खालको दागहरु शरीरमा छन् भने कुष्ठ रोग हो की भनेर शंका गर्नुपर्ने हुन्छ । दोस्रो कुरा भनेको कुष्ठरोगको किटाणुले गर्दा कानको लोतीहरु बाक्लो हुने, नाकको हड्डी सानो हुदैँ जाने हुन्छ भने धेरै ढिला भयो भने अंगभंग नै हुने हुन्छ । यस्ता स्नायूले गर्दा हात, खुट्टाको मान्सपेशीहरु कमजोर हुन्छ र अन्तिममा औलाहरु पनि झर्न सक्छ ।
स्नायू, छाला बाहेक आँखामा पनि असर गर्नसक्छ । दृष्टिवीहिन हुनेसम्मको अवस्थामा पनि पु¥याउनसक्छ । त्यसकारण सुरुमै लक्षण देखाउने भनेको छाला र स्नायूमा हो । त्यस्तो शंकास्पद लक्षणहरु देखिने वित्तिकै स्वास्थ्य उपचारमा जानुपर्छ ।
सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ तर अझै पनि पूराना पुस्ताका केही मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्ने गरेको पाइन्छ नि ?यसलाई कसरी हेरिरहनु भएको छ ?
हामीले जुन शिक्षा अथवा जुन चेतना समुदाय स्तरसम्म पु¥याउनुपर्ने थियो त्यसमा चुकेका छौ । तपाईले भनेजस्तै अझै पनि कुष्ठरोग लागेका व्यक्तिहरुलाई समाजमा घरबाट बाहिर निकाल्ने, हेला गर्ने, भेदभाव गर्ने घटनाहरु विगतका वर्षहरुमा देख्न र सुन्दै आएका हौं । यसलाई कम गर्ने भनेको शिक्षाबाट नै हो । यसका लागि जनचेतनामूलक कार्यहरु र विद्यालयस्तरमा शिक्षा दिने र कुष्ठरोग कुनै श्रापको कारणले लाग्ने रोग होइन है भन्ने चेतना फैलाउनु जरुरी छ । यो किटाणुको कारणले भएको हो, यसलाई उपचार गरेपछि निको हुन्छ, एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटै सर्दैन्,डराउनुपर्ने रोग होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ । यसको औषधी छ भन्ने सूचनाहरु जनसमुदायसम्म पु¥याउनुपर्छ ।
कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकताकासाथ सञ्चालन गर्ने सरकारी नीति जुन छ, यसको कार्यान्वयन कत्तिको भइरहेको छ ?
नीति नै प्रभावकारी नभएको होइन, नीति प्रभावकारी छ र नीति अनुसार थुप्रै क्रियाकलापहरु भएको पनि छ । उदाहरणका लागि प्रत्येक वर्ष जनवरीको अन्तिम आइतबार यस वर्ष भने जनवरी २६ को दिनमा विश्व कुष्ठरोग दिवस भनेर मनाउने गर्दछौ । त्यही अनुसार यसवर्ष पनि विश्वभर यो दिवस मनाउँदैछौ । दिवस मनाउनु भनेको पनि एउटा चेतना जगाउनु हो र यो सम्बन्धमा रहेका नकारात्मक भावनाहरुलाई हटाएर सकारात्मक कुराहरु जनस्तरसम्म पु¥याउने एउटा उद्देश्य पनि हो । यस हिसाबले कार्यक्रमहरु भएका छन् । तर पहिलाको जस्तो भने भएका छैनन् । किनभने सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने ठाँउमा, सरकारका चुनौतीहरु अरुपनि धेरै भएका कारणले गर्दा यसलाई सरकारको प्राथमिकतामा कम परेको भने महशुस भएको छ ।
यसको न्यूनिकरणको लागि सरकारले चाँही के कस्तो पहलकदमीहरु लिइरहेको छ ?
सरकारले गरेका धेरै कार्यक्रमहरु मध्ये एउटा जनचेतना वृद्धि गर्ने कार्यक्रम हो । तर कुष्ठरोगलाई न्यूनिकरण गर्ने सरकारका धेरै कार्यक्रमहरु छन् । उदाहरणका लागि हामी सक्रिय रुपमा घर घरमा गएर शंकास्पद बिरामीहरुको खोजी गरी पत्ता लगाएर उहाँहरुलाई उपचारको दायरामा ल्याउने गरेका छौं । यसको लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंम सेविकाहरु परिचालन गर्ने गरेका छौं । जोखिममा रहेका जिल्लाहरुका पालिका, वडाहरुको घर घरमा गएर शंस्कास्पद लक्षणहरु छन् कि भनेर पहिचान गर्ने गरेका छौं ।
दोस्रो भनेको कुष्ठरोग छिटै नसरेपनि धेरैजसो के पाइएको छ भने रोग लागेको व्यक्ति हुनुहुन्छ भने उहाँको परिवारमा, छिमेकमा अरुपनि हुन सक्नुहुन्छ, सरेको हुनसक्छ भनेर उहाँको सम्पर्कमा आउनु भएका छरछिमेक र परिवारका अन्य सदस्यहरुको पनि छाला जाँच गर्ने, कुनै लक्षणहरु छन् कि भनेर समयमा नै जाँच गर्ने जस्ता कार्यक्रम पनि सरकारले आफ्नो नीतिमा राखेको छ । र त्यो विद्यमान छ । अर्को भनेको कुष्ठरोगीलाई खुवाइने एउटा औषधि उपलब्ध छ त्यो खुवाएपछि कुष्ठरोग प्रभावित व्यक्तिका छरछिमेक तथा आफन्त उहाँको सम्पर्कमा आउने व्यक्तिलाई खुवाइयो भने त्यो सम्पर्कमा परेका व्यक्तिहरुलाई रोग लाग्ने खतरा ६० प्रतिशतले कम हुन्छ भन्ने कुरा तथ्यांकले देखाएको छ । नेपालका केही जिल्लाहरुमा कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) भन्ने कार्यक्रम लिएर गएका छौ । सोही अनुसार समुदायका व्यक्तिहरुलाई औषधि पनि खुवाएका छौ । यि विविध कार्यक्रमहरु नेपाल सरकारले अहिले आफ्नो नीतिमा राखेर अगाडि बढाइरहेको छ ।
सरकारले नीतिमा त धेरै कार्यक्रमहरु राखेको छ तर कार्यान्वयमा भने फितलो भइरहको छ ,खास के कारणले हो ?
ठोस एउटा मात्र पोइन्ट भन्दाखेरी चाँही कुष्ठरोग एउटा आफैं जटिल किसिमको रोग हो । अरु जस्तो सामान्य किसिमको रोग अथवा रुघाखोकी जस्तो होइन् । रुघाखोकी सात दिन औषधी खुवाए निको हुँदै जान्छ यो त्यस्तो होइन् । यो रोग परापूर्वकालदेखि नै चलिआएको किन हो भने पनि त्यति सजिलै निवारण नभएरै हो । रोग आफैं जटिल किसिमको हो । यो रोग शरीरमा छिरिसकेपछि शरीरका मेकानिजमहरु परिवर्तन गर्छ । कुष्ठरोगको नेचर अलिकति कम्प्लेक्स छ । तर हाम्रो सक्रियता, घरघरमा गएर रोग पत्ता लगाउने कार्यक्रम नीतिमै छ, त्यो कार्यक्रम ७५३ वटै स्थानीय तहमा पुग्न सकेको छैन् । एकबर्ष पुग्ने अर्को बर्ष नपुग्ने समस्याहरु छन् । धेरै नै ग्यापहरु छन् । सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकका रुपमा घोषणा गरेर सुरु गरेको जुन कार्यक्रम थियो त्यो अनुसार घट्दै जानुपर्ने हो । अहिले २०३० सम्ममा शून्यमा पुर्याउने लक्ष्य छ तर त्यस अनुसारको ग्राफ्क्स घटिरहेको छैन । त्यसैले अलिक सक्रिय रुपमा हामीले कार्यक्रमहरु अगाडि बढाउनैपर्ने छ । जसलाई सम्बोधन गर्न आवश्यक छ ।
सरकार अथवा राजनीतिक फेरबदलले कार्यक्रम तथा नीतिको कार्यान्वयनमा प्रभाव पारेको छ कि ?
यस्ता कार्यक्रमहरुलाई सरकार अथवा राजनीतिक फेरबदलले त्यति प्रभाव पार्दैन् । तर ति बाहेकका अरु प्राकृतिक चूनौतिहरु छन् । जसमा बाढी गयो, कोरोना आयो, अरु डिजास्टरहरु आए,त्यसो हुँदाखेरी सरकारको प्राथमिकता र सरकारका कार्यक्रमहरु कुष्ठरोग भन्दा नि प्राकृतिक विपत्तितिर फोकस हुने भए । कुष्ठरोगका रेगुलर कार्यक्रम हुन्छन् ति सरकारको प्राथमिकतामा परेनन् । प्राकृतिक विपत्ति लगायत अरु चूनौतिहरु छन् ।
विश्व कुष्ठरोग दिवस कहिलेदेखि र कसरी मनाउन सुरु गरिएको हो ?
माघको १३ गते ७२ औँ कुष्ठरोग दिवस मनाइरहेका छौं । यसको अर्थ विगत ७२ वर्षदेखि विश्वभरी कुष्ठरोग दिवस मनाईँदै आइराखिएको छ । यसले कुष्ठरोग सम्बन्धि जुन नकारात्मक भावनाहरु छन् त्यसलाई हटाउँदै जाने, जनमानसमा यसको सही सन्देश पुर्याउने उद्देश्यले विश्वभर नै दिवस मनाइँदै आएको हो । सोही अनुसार नेपालमा पनि भव्य रुपमा दिवस मनाउँदैछ ।
यस वर्षको योजनामा के छ ?
हालसम्मको निर्णय अनुसार केन्द्रीय स्तरमा केही कार्यक्रमहरु छन् । प्रदेश स्तरमा पनि कुष्ठरोग दिवस मनाउनुपर्ने कार्यक्रम छ । र पालिका स्तरमा पनि यो दिवस मनाउने योजना छ । दिवस मनाउनका लागि सरकारले नेतृत्व लिएतापनि अन्य विभिन्न पार्टनरहरु र कुष्ठरोग प्रभावित व्यक्तिहरुले आइएनजीओ सहयोगमा कार्यक्रमहरु राखेका छन् । माघको १३ गते बिहान प्रभातफेरी गर्ने र त्यसपछि प्यानल डिस्कसन गर्ने कार्यक्रम छन् ।
दिवसको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
नेपालभरका सबै स्वास्थ्य संस्थाबाट कुष्ठरोगको औषधि निशुल्क उपलब्ध छ । कुष्ठरोग जाँच गरेको र उपचार गरेको कुनैपनि शुल्क लाग्दैन । छालामा चिलाउने, रातो फुस्रे दागहरु देखापर्यो अथवा कुनै लक्षणहरु देखापरे वा आफूलाई कुष्ठरोग लागेको हो कि भन्ने शंका लाग्यो भने नजिकको स्वस्थ्य संस्थामा गएर परामर्श लिएर कुष्ठरोग लागेको रहेछ भने उपचारको पद्धतिमा आइदिनको लागि अनुरोध गर्न चाहन्छौं ।
प्रतिक्रिया