ताजा अपडेट »

डेढ करोड लगानीमा कागतीखेती

आइतबार, १३ माघ २०८१, ०७ : १४
42 Shares
आइतबार, १३ माघ २०८१
42 Shares

बागलुङ (ढोरपाटन)। बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिइ कागतीखेती सुरु गरेका हुन् ।

बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले सुरु गरेको कागतीखेती फस्टाउन थालेको छ । कागतीखेती गर्न र एक करोड ५० लाखभन्दा बढी लगानी भएको समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उनको भनाइ छ । यस वर्ष झण्डै पाँच लाखको बिक्री गरेको अध्यक्ष सुवेदीले बताए ।

कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रले  छ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु १५ लाख अनुदान दिएको थियो । किसानकाे झण्डै  एक करोड ३० लाख लगानी रहेकाे अध्यक्ष सुवेदीले जानकारी दिए । गाउँका नागरिक सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागतीखेती सुरु गरेको उनी बताउछन् ।

अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार बिरुवा हुर्किरहेका छन् । गाउँमा बाँदर आतङ्क बढ्दा अरु खेती गर्न छाडेर कागती खेती गरिएको हो । कागतीखेती गरेपछि बाँदर आतङ्क केही कम भएको छ । बर्सेनि उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने छ । यस वर्ष रु पाँच लाखको कागती बागलुङ, कुश्मालगायत बजारमा बिक्री गरीएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले दुई वर्षदेखि उक्त कृषक समूहलाई प्राविधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताए । विसं २०७९ मा चक्लाबन्दीका लागि र १० लाख र गत वर्ष कागती ग्रेडिङ तथा भण्डारणका लागि  पाँच लाख सहयोग गरेको उनले जानकारी दिए ।

प्रमुख पौडेलले भने, “अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ । विषादी र अन्य प्राविधिक सहयोग गरेका छौँ, बोटले विस्तारै फल दिन थालेपछि किसान पनि उत्साहित छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।