बुटवल । नव नियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाउने प्रतिबद्धता गरेका छन् । पदभार ग्रहणपछि नेपाल खेलकुद पत्रकार मंच रुपन्देही शाखाले शनिबार गृहजिल्लामा गरेको स्वागत तथा बधाई कार्यक्रममा उपाध्यक्ष आचार्यले परिषदभित्र धेरै बेथितीहरु रहेको बताए ।
‘एक हप्ताको अवधिमा धेरै बेथिति भेटेको छु ।’-उनले भने । घरको अलिखित कानुन जसरी नै राखेपलाई चलाउन खोजेको प्रमाण समेत भेटेको उनले बताए । ‘कानुनसँग जोडेर यसको चिरफार गर्ने छु ।’– उनले भने । कर्मचारी, संघका पदाधिकारीहरुसँग छोटोअवधिमा अन्तरक्रिया गरि धेरै सुझावहरु प्राप्त गरेको उनले बताए । केही ब्यक्तिहरु कार्यकारी पदलाई दुरुपयोग गरेको उनले आरोप लगाउँदै संघ खारेज र दर्ताको प्रक्रियालाई सहि ढंगमा ल्याउने प्रतिवद्धता जनाए ।
परिषदलाई खेलाडी र खेलकुदको परिषद बनाउने उनले बताए । बोर्डले नितीगत रुपमा गरेको निर्णयलाई नकार्न नमिल्ने उनले बताए । खेलकुद सामग्री वितरणदेखि पुर्वाधार निर्माणसम्म भएको गलत गतिविधिलाई ध्यान दिने बताए । नेपाल सरकारको मन्त्रीपरिषद बैठकबाट निर्णय भएको पदमा बसेर त्यो पदको अक्षरस भूमिका पालना गर्ने उनले बताए । ‘परिषद भित्रका समस्या मसंग ल्याईदिनुस ।’–उनले भने ।
एकअर्को प्रशंगमा दशौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई कानुन प्रक्रिया पूरा भएपछि गरिने उनले बताए । प्रक्रिया र समयसीमा नपुगी खेल गर्न सकिने सम्भावना नभएको उनले बताए । भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानीय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुङ्गो लगाउन लागेको उनले बताए । राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजनको कामलाई तिब्रता दिन लागेको उनले बताए ।
देशभर वर्षेनी धेरै प्रतियोगिता आयोजना हुने भएपनि सरोकारवाला संघमा त्यसको तथ्याङ्क नराखिने गरेको भन्दै यसलाई प्राथमिकता दिनुपर्ने उनले आग्रह गरे । खेलकुदमा सिण्डिकेड तोड्ने उनले बताए । स्कुल टु ओलम्पिकको अवधारणा अनुसार काम बढाउनुपर्ने उनले बताए । ओलम्पिक कमिटिले अदालतको आदेश नमान्ने भन्ने कुरा गलत भएको उनले बताए । राखेपको बैठकबाट खाता रोक्ने निर्णय भैसकेको भन्दै उनले बोर्डको निर्णय कार्यान्वयन हुने दाबी गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्य सचिव तथा पौडी संघका वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराईले ओलम्पिक कमिटिको विबाद अन्त्य, खेल संघका समस्या, ऐन संशोधन गर्ने र कर्मचारी समायोजनाका विषयमा काम अघि बढाउन सुझाव दिए । सम्पुर्ण खेलकुद संघलाई धरासायी हुने गरि राखेपका पदाधिकारी नै गतिविधि गरिरहेको उनले आरोप लगाए । अवैध संघमार्फत ओलम्पिक कमिटि गठनको गलत अभ्यास हुनु निन्दनीय भएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुद विकास समिति, तिलोत्तमाका संयोजक लोक पुन, मंचका सचिव स्वस्तिक श्रेष्ठले नेपाली खेलकुद विश्वमा उदाउदो रुपमा रहेको र यसलाई अवसरको रुपमा लिएर अघि बढाउन राखेप लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुदको उर्वरभूमी रुपन्देहीलाई विधागत रुपमा स्थापित गर्दै पत्रकारको क्षमता विकासमा सरोकारवाला निकायहरुसँग समन्वय गरि मंचले काम गर्ने बताए ।
प्रतिक्रिया