ताजा अपडेट »

भारतमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

शुक्रबार, ११ माघ २०८१, २० : ३१
138 Shares
शुक्रबार, ११ माघ २०८१
138 Shares

काठमाडौं । नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा परी सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र राधेश्याम राध नेपालीको निधन भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीहरूमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।