सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमा बेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलब निकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ ।
प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १० गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवी असाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदा स्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहित नगरपालिकाको शिक्षा शाखामा पठाइयो । शिक्षा अधिकृत लामाले पनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाई सिरहामा पठाइ दिए । तर बिदा स्वीकृति भएन ।
बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरीको अतिथि बनेर अष्ट्रेलिया गइन् । उनी अहिलेसम्म फर्केकी छैनन् । तर प्रधानाध्यापक भरत साहले उनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए । नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो । प्रधानाध्यापक साहले विद्यालयबाट झाको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमा आफैले हाजिरी गरिदिएका छन् ।
शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दै विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना प्रकाशमा आएको हो । आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएर स्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएका प्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर हाजिरी मेटाएका छन् र गयल जनाइदिएका छन् । तर उनले अपराध लुकाउन गरेको प्रयासले उनलाई झन् उदाङ्गो पारिदिएको छ ।
यस सन्र्भमा प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने,‘शिक्षिका झा अष्ट्रेलिया गएकी हुन् र उनको बिदा समेत स्वीकृत भएको छैन ।’ तलब किन र कसरी निकासा भयो भनेर प्रश्न गर्दा, प्रअ साहले यस विषयमा भेटेरै कुरा गर्छु भनेर फोन काटेका थिए । यता शिक्षा शाखा प्रमुख सुवोध लामासंग प्रश्न गरियो–आफैले असाधारण बिदा स्वीकृतिको लागि सिफारिस गरेको शिक्षिका झाको हाजिरी कसरी रुजु गरियो र किन तलब निकासा दिनुभएको भनेर प्रश्न उर्दा उनले भने,‘ झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रिया थालिएको छ ।’ प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगत गर्नुभएको आरोप छ नी भन्दा उनी भडकिए । चर्को स्वरमा बोल्दै उनले भने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस् ।’
संविधान सभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यस प्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’ बिमला झाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोध लामाले आफैले सिफारिस गरेका थिए । त्यही शिक्षिकाको हाजिरी प्रमाणित र तलब निकासाको माग आउँदा शिक्षा अधिकृत लामाले कसरी र किन रुजु गरे ? किन तलब निकासा दिए ? यसमा झाको तलब झिकेर प्रधानाध्यापक र शिक्षा अधिकृतले बाँडेर खाने प्रपञ्च रचेको प्रष्ट देखिन्छ । अझ मेयर श्याम श्रेष्ठको पनि सहमति हुनसक्छ । किनकी शिक्षा अधिकृत लामा मेयर श्रेष्ठको अवैध रकम संकलक बनेका छन् । गोलबजार नगरपालिकाको शिक्षा शाखा भ्रष्टाचारको अड्डा बनेको छ ।
यस विषयमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको प्रतिक्रिया माग्दा उनले भने,‘म फाइल अध्ययन गर्दैछु । दोषी जो भएपनि कारवाही गर्छु ।’ उनले शिक्षा अधिकृत लामाको संलग्नता देखिए उनलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।
प्रतिक्रिया