ताजा अपडेट »

भैरहवामा अर्थतन्त्र चलायमान बनाउन सरकारी र निजी क्षेत्रले संयुक्त छलफल गर्ने

शुक्रबार, ११ माघ २०८१, १२ : ३५
8 Shares
शुक्रबार, ११ माघ २०८१
8 Shares

बुटवल । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर भैरहवामा प्रदेशस्तरको गोष्ठी हुने भएको छ । खुल्ला सीमाना, यसले पारेको प्रभाव, अवैध कारोबारको नियन्त्रणका साथै भन्सारलाई छिटो छरितो र विश्वसनीय बनाउन साझा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी हुन लागेको हो । निजी क्षेत्रका तर्फबाट नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा संसदको आर्थिक समितिका सभापति
सहित प्रतिनिसभा सदस्यहरु, लुम्बिनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु, तीनवटै प्रहरी संगठनका प्रमुख, प्रदेशका भन्सार कार्यालयका प्रमुखहरु, राजश्व अनुसन्धान र आन्तरिक राजश्व कार्यालयका प्रमुखसहित निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

गोष्ठीले भन्सार छली नियन्त्रणका उपाय, अवैध कारोबारको निरुत्साहन, उद्योग ब्यवसाय प्रबर्द्धन र अर्थतन्त्रको चलायमानका उपायहरु खोज्ने नेपाल चेम्बर अफ कमर्स लुम्बिनीप्रदेशका महासचिव शिब ज्ञवालीले बताए । त्यसबाहेक स्थलमार्गबाट नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सुरक्षा जाँचका नाममा अनावश्यक दुःख दिँदा पर्यटकहरु भ्रमण छोट्याएर फर्किने गरेको, दोस्रो पटक भ्रमणमा आउन नखोजेको तथा भारतमा नकारात्मक सन्देश प्रवाह भएकाले त्यसको समाधानका लागि समेत यो गोष्ठी उपयोगी हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेशका छोटी भन्सार नाकाहरुबाट अवैध सामान ओसारपसार हुने गरेको, प्रहरी प्रशासनले नियन्त्रणमा चासो नदेखाएको तथा भन्सार प्रकिया झन्झटिलो हुँदा ब्यवसायिले अवैध प्रकृयाबाट सामान भित्राउने गरेको गुनासो बढेकाले सरकार र निजी क्षेत्रको संयुक्त उपस्थितीमा यस्तो कार्यक्रम गर्न खोजिएको चेम्बरले बताएको छ ।

संघीय संसदको अर्थसमितिका सभापति सहित सदस्यहरु समेत कार्यक्रममा सहभागि हुँदा समस्या समाधानका लागि नीतिगत तहमा समेत प्रभावकारी भूमिका खेल्ने आयोजकको अपेक्षा छ । भैरहवा स्थित चेम्बर अफ कमर्स सिद्धार्थनगरको सभाहलमा आयोजना हुने गोष्ठीमा निजी क्षेत्रले उत्साहजनक सहभागिता जनाउने चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।