ताजा अपडेट »

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

शुक्रबार, ११ माघ २०८१, १२ : १८
16 Shares
शुक्रबार, ११ माघ २०८१
16 Shares

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । 

भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकी हुन् । ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताइन् । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको कामसक्ने उनले आग्रह गरे । काठमाडौंपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ । 

 पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रुपमा विद्युत् पुर्याएकाे छ । यस्ता १७ वटा फिडरमार्फत महानगरको छ लेन सडक र बाइपास रोड सडमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

 आयोजनाले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ । केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्ने काम भइरहेको छ ।

 नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको छ । पौडेलका अनुसार  भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ३० करोडमा ठेक्का सम्झौता भएको हो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको छ ।

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । सन् २०२२ को जनवरीबाट आयोजनाले काम सुरु गरेको हो । चालु आर्थिक वर्षभित्र कामसक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।