ताजा अपडेट »

डिजिटल ठेगाना प्रणाली 'कताहो'लाई वर्ल्ड सम्मिट अवार्ड

शुक्रबार, ११ माघ २०८१, ०८ : १०
22 Shares
शुक्रबार, ११ माघ २०८१
22 Shares

बुटवल । नेपालको डिजिटल ठेगाना प्रणाली कताहोले वर्ल्ड सम्मिट अवार्ड (WSA) प्राप्त गरेको छ । नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको टीमले Addressgraph Nepal Pvt. ltd. मार्फत तयार गरेको डिजिटल ठेगाना प्रणाली 'कताहो' ले Smart Settlements and Urbanization विधामा छनौट भई पुरस्कार प्राप्त गरेको हो ।

'डब्ल्यूएसए' ले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ट प्रविधिहरुको चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्दछ । 'डब्ल्यूएसए' ले आधिकारिक वेभ साइटमा उक्त घोषणा गरेको हो । यस वर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहबीच भारतको हैदरावादमा हुने 'डब्ल्यूएसए' ले जनाएको छ । 'कताहो' ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ । अफलाइनमै ठेगाना कोड खोज्न सकिने कताहो प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ ।

यो प्रणाली प्रयोग गरी हालसम्म १०,००० भन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन् । यो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्दछन् । विभिन्न स्थानीय निकायहरुले यस प्रणालीमार्फत ठेगाना प्लेटका साथै विपत व्यवस्थापनमा सूचना दिन सकिने Emergency Response Console समेत जडान गर्दै आइरहेका छन् । 'डब्ल्यूएसए'का अनुसार यस कताहो ठेगाना प्रणालीले संयुक्त राष्ट्रसंघका दीगो लक्ष प्राप्त गर्ने विभिन्न विधामध्ये ६ वटा लक्षको लागि यस प्रणालीले योगदान गर्न सक्ने भनी उल्लेख गरेको छ ।
 
नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले Government and Citizen Engagement विधामा उक्त पुरस्कार प्राप्त गरेको थियो । World Summit Award (WSA) एक विशेष पुरस्कार प्रणाली हो जसले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका प्रविधिहरुको चयन गरी त्यसको प्रवर्धनको लागि काम गर्दछ ।

विश्वस्तरमा प्रभाव पर्ने गरी तयार गरिएका स्थानीय नवप्रवर्तनको चयन गरी त्यसलाई विश्वव्यापी बनाउन यो पुरस्कार प्रदान गर्ने गरिन्छ । WSA ले हरेक वर्ष विश्वभरबाट विभिन्न विधामा उत्कृष्ट परियोजनाहरूलाई सम्मान गर्ने गर्दछ । विजेताहरू छनोटका लागि विश्वभरका १८२ देशका WSA का राष्ट्रिय विज्ञहरूको सिफारिसमा स्थानीय नवप्रर्वतनहरु छनौट गरिन्छ । यी नवप्रवर्तनहरूलाई अनलाइन जूरीमा पठाइन्छ, जसले पहिलो सूची तयार गर्दछ । पहिलो सूचीमा सूचीकृत भएका परियोजनालाई ग्राण्ड जूरीले अनलाइन अन्तर्वार्ता लिन्छन् र अन्तिम विजेताहरू चयन गर्दछ । यस बर्ष विश्वभरबाट ४० वटा परियोजनाले विभिन्न विधामा WSA Award प्राप्त गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।