बुटवल । नेकपा एमाललेले प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार रुपन्देही आउँदै छन् । उनी रुपन्देही आउने भएपछि यहाँको सुरक्षा व्यवस्थालाई विहिबारदेखि नै सतर्क राखिएको छ । यस क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन आज दिउँसो रुपन्देही आउँदा प्रधानमन्त्री ओलीका पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
नेकपा एमालेका रुपन्देही अध्यक्ष यज्ञ गैरेले ओली आज पाल्पा जिल्लाका ३ वटा कार्यक्रम र रुपन्देही जिल्लाका १ वटा कार्यक्रममा सहभागी हुने गरी तय भएको बताए। गैरेका अनुसार पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटनपछि हेलिकप्टर मार्फत बुटवल मण्डप स्थीत अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिषरमा आउने कार्यक्रम तय भएकोमा समय अभावका कारण सिधै तिनाउ गाउँपालिकाको कार्यालय भवन नजिकै दोभानमा सवा १२ बजे ल्याण्ड गर्ने ब्यवस्थापन मिलाईएको छ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, यातायात मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पाल्पाका सांसदहरु ठाकुर गैरे र नारायण आचार्य समेत कार्यक्रममा सहभागी हुने छन्।
प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा नव निर्मित तिनाउ गाउपालिकाको प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम पछि पौने १२ बजे सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सूरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा विशेष सहभागिता जनाउने छन्। सिद्धबाबा सुरुङमार्ग आयोजनालाई एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ड्रिम प्रोजेक्टको रुपमा अगाडि बढाएका थिए।
एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ। २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। भने मुख्य सुरूङ सुक्रवार प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुने छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा छ।
सुरूङमार्गको ब्रेक थ्रु उत्सव लगत्तै प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक सिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन्। बुटवल गोरुसिंगे सडक आयोजना प्रमुख ईन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो १३स्१५ बजे प्रधामन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनेछन्।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरूसिंगे खण्डको प्रधानमन्त्री ओलीले सिलान्यास गर्न लागेका हुन्।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नती गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुनेगरी निर्माण गरीने आयोजना प्रमुख कुशलता न्यौपानेले बताईन्।
हामीले यो सडक निर्माणमा हाल सञ्चालन रहेको यातायात सेवा अवरुद्ध हुन नदिने र यात्रुहरुलाई सास्ती नहुने गरी सबै उपायहरु अवलम्वन गर्ने छौं बुटवल नारायणगढ सडक निर्माणमा खेप्नु परेको सास्ती र आलोचना दुवैबाट मुक्त हुनेगरी काम अगाडी बढाउने छौं उनले भनिन्।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतीका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइ सकेको छ।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का भएकाले काम पनि दुई तर्फबाट एकैपटक सुरू हुनेछ। पचास किलोमिटर सडक अन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरूसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।
पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने न्यौपानेले जानकारी दिइन्। सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ। ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ।
प्रतिक्रिया