साठीको दशकमा बुटवल नगरपालिकामा भेटेको थिएँ भुवाप्रसाद लुइँटेल सरलाई । उनीसँगको सामान्य चिनजानलाई पछिल्लो समयमा घनिभूत बनाई सकेको थिएँ । भुवनसिंह विश्वकर्माको जीवनकथालाई आधार बनाएर तयार पारिएको ‘अन्टार्कटिकामा नेपाली माटो’ वृत्तचित्र प्रदर्शनमा नगरपालिकाको तर्फबाट कार्यकारी प्रमुखसँग सल्लाह गरी सक्दो सहयोग गरेका थिए । त्यतिबेला उनी सामाजिक शाखा प्रमुख थिए ।
उनको शाखामा जस्तोसुकै समस्या लिएर वा रीसले चूर भएर आएका सेवाग्राहीलाई समेत उनले शान्त बनाएर खुसीका साथ चित्त बुझाएर पठाउने अद्भूत कला थियो । त्यस्तो कला सायदै कर्मचारीमा पाउन सकिन्छ । कहिलेकाँही सेवाग्राहीले भनेको सुन्थें–सबै कुरा भुवा सरको राम्रो तर अलि लामो समय लिएरमात्र उनीसँग जानुपर्छ । भुवा सरले आफ्नो कक्षमा आउने सेवाग्राहीहरुलाई मिठो मुखले स्वागत गर्ने, चिसो, तातो पिलाएर पठाउने, घरव्यवहारका कुरा गर्ने, सञ्चो,विसञ्चोको कुरा गर्ने,फेरिफेरि पनि आउन आग्रह गर्दै विदा गर्ने उनको बानीलाई भूल्न सक्नै कुरै भएन ।
भुवा सरले सेवाग्राहीलाई समान भाव राख्थे । ठूलोलाई चिप्लो घस्ने र सानालाई हेलत्वको भावले कहिले हेरेनन् । उनका लागि सबै सेवाग्राही समान र उस्तै लाग्थे । आफूसँग सरोकार राख्ने कुरामा ध्यान दिन्थे । कहिल्यै अरुलाई नकारात्मक भावले हेर्दैनन् थे । त्यो नै उनको विशेष क्षमता र गुण थियो । शान्त तथा शालीन स्वभावका उनी बोल्दा पनि धैर्यतापूर्वक बोल्ने गर्थे । दुई दशक बढीको चिनजानमा उनलाई कहिले रिसाएको,झर्केको र चर्को बोलेको भेटिनँ । सधैं हँसिलो,फरासिलो र बोलक्कड भुवा सरलाई भौतिकरुपमा गुमाएका छौं तर उनको खिस्स परेको अनुहार र मिठासपूर्ण व्यवहार कसरी पो भूल्न सकिएला ?
उनीसँग लुम्बिनी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा आयोजना गरिने अनेक कार्यक्रममा सँगै हुने गर्दथ्यौं । कहिले निर्णायक भएर कहिले कार्यक्रम सञ्चालन,समन्वय गरेर । बुटवल उपमहानगरपालिकाको स्थापना दिवसमा सहकार्य गरेको कसरी बिर्सिन सकिएला र ? बुटवल उपमहानगरपालिकाका तत्कालीन उपप्रमुख गोमादेवी आचार्यले पालिकाभित्र गठन गरेको उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रममा उनी सदस्य सचिव र म विज्ञ सदस्यका रुपमा थिएँ । हामीले नगरभित्र कसरी उद्यमशीलता विकास गर्न सकिन्छ र महिलाहरुको वृत्तिविकास कसरी सम्भव छ भनेर गहिरो तरिकाले खोज, अध्ययन र छलफल गथ्यौं ।
व्यवस्थापकीय र कानूनी पक्षलाई हेरेर उनले सहजतापूर्वक आफ्ना कुरालाई तार्किक ढंगले प्रस्तुत गर्थे । उनका कुरालाई सित्तिमित्ति हामीले काट्ने हैसियत राख्थेनौं । त्यो नै उनको खास गुण, क्षमता, दक्षता थियो । त्यो कुरा सम्झिदा भुवा सरले हामीलाई छाडेर गएकै हुन् त, उनलाई नै सोध्न मन लागिरहेको छ ।
बुटवलको साहित्य, कला र संस्कृति संरक्षणका लागि बुटवल साहित्य, कला, संस्कृति प्रतिष्ठान बनाउने सवालमा उनको विशेष भूमिका थियो । पछि सो प्रतिष्ठानलाई बुटवल प्रज्ञा प्रतिष्ठान नामाकरण गरियो । सो प्रतिष्ठानको सञ्चालन, व्यवस्थापन र ऐन बनाउने काममा उनले रातोदिन नभनी काम गरे । कार्यसमिति बनाउन समेत सहजीकरण गरे । सञ्चालनको एक वर्षसम्म सँगै रहेर काम गर्ने अवसर जुटेको थियो ।
उनीसँग एकपटक भ्रमणको क्रममा प्युठानको स्वर्गद्वारीमा भेटेको थिएँ । त्यतिबेला उनीहरु पारिवारिक भ्रमणमा थिए । साथमा लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीको परिवार पनि थिए उनीसँगै । हामीले स्वर्गद्वारी मन्दिरमा केहीबेर कुरा गरेका थियौं । जाडोले मुटु काँपे पनि मन स्थीर थियो । स्वर्गद्वारी मन्दिर, यसको गरिमा र महिमाका बारेमा गफिएका थियौं । सायद त्यस्तो कुरा पछिल्ला समयमा गर्न भ्याएनौं ।
एक पटक उपप्रमुख महिला उद्यमशीलता विकास समितिको तालिम र अवलोकन भ्रमणका लागि नवलपुरको अमलटारी होमस्टेमा पुगेका थियौं । त्यहाँबाट जंगलसफारीमा निस्किएका थियौं । गिद्ध रेष्टुरेण्टमा पुगेका थियौं । तालिम समेत भव्य भएको थियो । हाम्रो साथमा तत्कालीन उपप्रमुख गोमादेवी आचार्य दिदी समेत थिइन् । भुवा सरले तालिममा आफ्ना अनुभव सेयर गरेका थिए । हामीसँग कर्मचारी साथी ठगिश्वर पोखरेल सर पनि थिए ।
भुवा सरले आफ्नो सेवा अघि नै निवृत्त हुने बाटो रोजेको कुरा पत्रकार डीआर घिमिरेको फेसबुकवालबाट भुवा सरको मृत्युपछि थाहा पाएँ । उनले किन, कोसँग असहमति जनाएर जागिरबाट अग्रिम विदा लिए त्यो त समयले बताउला । जागिरबाट विदा हुँदातस उनलाई गम्भीर रोगले च्यापेर काठमाडौं, भारतका अस्पतालमा उपचार गरिएतापनि विहिवार सदाका लागि सबैबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उनले आफ्नो भौतिक शरीर त्यागे ।
सबैले चिनेको, जानेको र मानेको वरिष्ठ अधिकृत थिए बुटवल उपमहानगरपालिकाको उनी । कसैका आँखामा नबिझाउने मान्छेलाई कालले समेत छिट्टै लग्यो । हामी सबैले एक अनुभवी, ज्ञानी र क्षमतावान हाम्रा साथी गुमायौं । मृत्युपछि उनको घरमा शुभचिन्तकहरुको बाक्लो सहभागिता, घाटमा पुगेका मलामीहरु र भावविह्ल इष्टमित्रहरुको उपस्थितिले पक्कै पनि उनको कर्मलाई सम्झाइरहने छ ।
उनको अभावमा सबैका मन यतिबेला भुवासरि उडेका छन् । सम्हालिन सबैलाई सकस भएको छ । अल्पायूमै उनको मृत्युको दुखद् खबरले परिवारजन र आफन्तका आँखा ओभाना छैनन् । साथीभाइहरुले एकोहोरो उनको विगत सम्झिरहेका छन् । निवृत्तपछि उनले आफ्ना अनुभवहरुलाई समाजमा पोख्न भ्याएनन् । समाजसेवा र राजनीतिमा निरन्तर लागिरहने उनको योजना अपूरै रह्यो । उनले सुनाएको कविताले आजपनि मनमा उनीप्रति साहित्यिक चासो जागृत भइरहेको छ । यो नै उनीप्रतिको मेरो उच्च सम्मान हो ।
उनका असल कर्मप्रति हामी सधैं ऋणी छौं । उनले समाजलाई देखाएको सुमार्ग प्रशंसनीय छन् । उनीप्रति समाज कृतज्ञ छ । उनका भौतिक शरीर यस धरामा नभएपनि बाँचेकाले युगयुग सम्झिरहने छन् । बुटवलको समग्र विकासका निम्ति उनका योगदान अविस्मरणीय हुने छन् । स्तुत्य हुने छन् । थिए होलान् उनका पनि कतिपय कमजोरीहरु । तर, यतिबेला उनका सकुर्मको बयान खोजिरहेका छन् सबैले । उनका अपूरा र अधुरा सपनालाई उनकै सन्तान र यो समाजले पूरा गर्नेछन् ।
अलविदा भुवा सर ।
प्रतिक्रिया