बुटवल । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष वृद्धीका लागि तिलोत्तमामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको भीड लागेको छ । महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ पी नेपालको तर्फबाट हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रुपियाँ २ करोड ७ लाख रकम सहयोग दिने प्रतिबद्धता भएको छ।
क्लबको तर्फदेखि डिष्ट्रिक गभर्नर पुरुषोत्तम मान प्रधानाङ्गन , फर्स्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस्तै बुटवल उपमहानगरपालिका–८ निवासी सोमबहादुर आलेले महायज्ञमा ५ लाख ११ हजार १ सय ११ रूपैयाँ आश्रमको एक कोठा निर्माणका लागि दान गरेका छन् । तिलोत्तमा नगरपालिका–५ रूपन्देही निवासी हरिप्रसाद कँडेल र यशोदा कँडेलले १ लाख १ हजार १ सय ५ रूपैयाँ दान गरेका छन् ।
महायज्ञमा चिन्तामणि पाण्डेले ६४ हजार १ सय १ रूपैयाँ, माँ कामाख्यादेवी धाम फाउन्डेसनद्वारा १५ हजार ५ रूपैयाँ, गंगा अर्यालद्वारा १० हजार रूपैयाँ दान गरेका छन् । तिलोत्तमा–५ मणिग्राम सिद्दार्थ राजमार्गसँगै पर्दर्शनी स्थलमा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया