बुटवल । प्युठानको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तुल्सीराम शर्माले दाङमा डेरा लिएका छैनन् । उनी प्रदेशसभाको बैठक हुँदा आफ्नै घर प्युठानबाट आउने जाने गर्छन् ।
‘म प्रदेशसभाको बैठक हुँदा प्युठान घरबाट नै आउने जाने गर्छु । कहिले काहि रातीसम्म बैठक भयो भने त्यतै (दाङ) बस्छु,’–सांसद शर्माले भने ।
यस्तै बर्दियाकी लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा कुश्मा थारु (समानुपातिक) घरैबाट प्रदेशसभा बैठक संचालन हुँदा आउने जाने गर्छिन् । २/४ दिन नियमित रुपमा प्रदेशसभाको बैठक संचालन हुने भएमा उनी दाङमा होटेलमा बस्छिन् ।
‘म प्रदेशसभाको बैठक दाङमा घरबाट नै आउने जाने गर्छु । कहिलेकाहि २/४ दिनसम्म नै नियमिति रुपमा बैठक भयो भने दाङमा होटेलमा बस्छु । अन्य बेला भने म घरबाट नै आउँछु,’–सांसद थारुले भनिन्।
यी केलब आफ्नो घरबाट प्रदेशसभा बैठकमा जाने आउने प्रतिनिधिमुलक सांसद हुन् । लुम्बिनी प्रदेशका अधिकांश प्रदेशसभा सदस्यहरु आफ्नै घरबाट प्रदेशसभाको बैठकमा आउने जाने गर्छन् ।
तर, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले कोठाभाडाका नाममा भने पैसा बुझ्दै आएको भेटिएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार दाङमा घर नभएका सांसदले भाडाका नाममा मासिक १७ हजार रुपैयाँ बुझ्दै आएका छन् । तर, अधिकांश सांसदहरुले घरभाडामा नै लिएका छैनन् । यस्तै दाङमा घर भएका सांसदले भने घर मर्मतका नाममा ८ हजार बुझ्छन् ।
दाङको निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित इन्द्रजित थारु, क्षेत्र नम्बर २(१) बाट निर्वाचित राजु खनाल, २(२) बाट निर्वाचित धनबहादुर मास्की, ३(३) बाट निर्वाचित डिल्लीबहादुर चौधरी, ३ (२) बाट निर्वाचित धनबहादुर मास्की तथा समानुपातिक सांसद लौकीकुमारी वि.कं र रेखा कुमारी शर्माले घर ममर्तको नाममा मासिक ८ हजार ५०० बुझ्छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयले प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा ऐन २०७५ को दफा ११ अनुसुचि २ बमोजिम प्रदेशसभा सदस्यलाई मासिक १७ हजार भुक्तानी हुने गरेको बतायो । यस्तै सोही अनुसुचि बमोजिम दाङ स्थायी घर भएकाहरुलाई घर मर्मत खर्च वाफत मासिक ८ हजार ५०० झुत्तानी दिइएको हो ।
लुम्बिनी प्रदेशसभा सचिवालयका एक अधिकारीका अनुसार आफुहरुले दाङ स्थायी घर भएकालाई घर मर्मतका लागि मासिक ८ हजार ५०० र दाङ घर नहुनेहरुका लागि १७ हजार घर भाडा भुक्तानी दिने गरेको र घरभाडामा लिएको नलिएको तथा घर मर्मत गरे नगरेको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको बताए ।
राज्यलाई वार्षिक झण्डै डेढ करोड व्ययभार
लुम्बिनीका सांसदले घरभाडा र मर्मतका नाममा रकम लिँदा राज्यलाई वार्षिक डेढ १ करोड व्यय भार हुने गरेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार सभामुख, उपसभामुख, मुख्यमन्त्री तथा मन्त्रीहरुले घर भाडा र मर्मतका नाममा पैसा पाउँदैन् । उनीहरुलाई पदमा वहाल हुँदासम्म आवसको व्यवस्था हुन्छ ।
मुख्यमन्त्री तथा मन्त्रीबाट हटेपछि भने सबैले घरभाडा र मर्मतको नाममा पैसा लिने गरेका छन् । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्री कार्यालयसहित हाल ११ मन्त्री छन् ।
मुख्यमन्त्री, मन्त्री र सभामुख, सभामुख बाहेक ७४ जना सांसदले मासिक रुपमा घरभाडा र मर्मतको नाममा पैसा बुझछन् । यसरी पैसा बुझ्नेहरु मध्य ६७ जनाले घरभाडाको शिर्षकमा र बाँकी ७ जनाले घर मर्मतको नाममा पैसा लिन्छन् ।
यसरी हेर्दा यो शिर्षकमा मासिक ११ लाख १५ हजार ५०० रुपैयाँ खर्च हुन्छ भने वार्षिक रुपमा १ करोड ४३ लाख ८२ हजार व्ययभार थप हुन्छ ।
‘प्रदेशलाई दोहनको केन्द्र बनाइयो’
प्रदेश संरचनाको बारेमा निरन्तर रुपमा जनस्तरबाट प्रश्न उठेको बेलामा यसमा भएका कमिकमजोरीहरुलाई सुधार गर्नु पर्नेमा दोहनको केन्द्र बनाइएको राजनीतिक विश्लेष्क ऋषि आजद बताउँछन् ।
‘अहिले प्रदेश सरकारको बारेमा जनस्तरबाट नै प्रश्न उठेरहेको अवस्था छ । यस्तो अवस्थामा कमजोरी सुधार गर्नु पर्ने बेलामा प्रदेशलाई सेवा भन्दा पनि दोहनको माध्यम बनाइएको छ । यो दुःखद कुरा हो,’–उनले भने ।
यस्तै सांसदहरुले सेवा सुविधा लिदाँ तबल बढाउन आवश्यक भए बढाउनु पर्ने तर, विभिन्न शिषर्कका नाममा पैसा लिनु गलत भएको बताए ।
‘विभिन्न शिर्षकमा लिनु भन्दा ५५ हजार तलबलाई ६५/७० हजार बनाउने तर, त्यसरी विभिन्न शिर्षकको नाममा पैसा बुझनु गलत हो । यो जनताप्रतिको अपमान पनि हो,’–उनले भने ।
यस्तै आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले पनि तलब भत्ता र अन्य सुविधाको लोभ राख्नेहरु जागिरे जीवन विताउनु पर्ने बताउँछन् ।
समाजसेवी बन्नका लागि राजनीति गरेकाहरुले विभिन्न बाहनामा जनताले विकासको आशमा तिरेको राजस्वमा ‘तरमारा’ शैली प्रस्तुत गर्दा आम नागरिकहरुले व्यवस्थाकै विकल्प खोज्न बाध्य हुन लागेको बताए ।
प्रतिक्रिया