बुटवल । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको आश्यकता तत्काल पूरा गर्नका लागि अध्यादेश ल्याइएको उल्लेख गरेका छन् । मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न निजी क्षेत्रलाई प्रोत्साहन तथा लगानीसँग सम्बन्धित क्षेत्रहरुको नितीगत कुराहरुलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकता अनुसार सरकारले अध्यादेश ल्याएको जिकिर गरे ।
प्रेस चौतारी नेपाल रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘अध्यादेश मुलुकको आवश्यकताले नै ल्याइएको हो । अर्थतन्त्रलाई आइसिययूबाट बाहिर निकाल्न यो आवश्यक थियो ।’ मन्त्री गुरुङले जनतालाई तत्काल सेवा डेलिभरी गर्नुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान गराई लगानीको वातावरण सिर्जना गर्न अध्यादेश ल्याइएको उल्लेख गरे । यसैगरी संविधान संसोधनको प्रश्नमा मन्त्री गुरुङले सबैभन्दा पहिले जनताको तत्कालिन आवश्यकता पूरा गर्ने विषयमा सरकारले महत्व दिएको उल्लेख गरे । ‘संविधान संशोधनको विषयमा सत्तारुढ दलहरु बीच सैद्धान्तिक सहमति भैसकेको छ । अब सबै दलहरु बीच एजेण्डामा छलफल हुन बाँकी छ ।’–मन्त्री गुरुङले भने, ‘संविधान संशोधनको प्रक्रिया सुरु भएको छ । सबै दलको सहमतिमै संविधान संशोधन गर्नुपर्छ ।’
नेकपा एमालेको उपमहासचिव समेत रहेका गुरुङले वर्तमान सत्ता गठबन्धन हालसम्म सतप्रतिशत सहकार्यमै सञ्चालन भएको दाबी गरेका छन् । बाहिर आएको हल्ला जस्तो गठनबन्धन तलमाथि हुने कुनै सम्भावना नरहेको उनले उल्लेख गरे । यसैगरी सहकारी पीडितहरुलाई न्याय दिलाउनु पक्षमा सरकारले काम गरिहेको बताउँदै उनले केही सुस्तता भने भएको स्वीकार गरे । यद्यपी हालसम्म २ अर्ब बढी रकम पीडितलाई फिर्ता गर्न सफल भएको बताउँदै उनले सबैलाई न्या दिने पक्षमा सरकार रहेको उल्लेख गरे । दोषीमाथि छानविन गरी सरकारले कारबाहीको दायरामा ल्याउने बताउँदै उनले सडकमा आन्दोलन गरेका भरमा कुनै अपराधिले छुटकारा नपाउने स्पष्ट पारे ।
कार्यक्रममा सहभागीहरुलाई प्रेसा चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया