बुटवल । नेपालको फुड डेलिभरी कम्पनी फुडमान्डुले बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको छ।
फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, पोखरा र चितवन हुँदै अब बुटवलमा पनि विस्तार भएको हो।
काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले विहीबार पत्रकार सम्मेलन मार्फत् बुटवलवासीले समेत अनलाइनबाटै खानेकुराहरूको अर्डर गर्न सकिने जानकारी दिएको हो। सो अवसरमा बोल्दै कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले देशभर नै विस्तार गर्ने योजना रहेको बताए ।
‘हामी फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरूमा क्रमशः फैलाउने योजनामा छौँ। काठमाडौं, पोखरा र चितवन हुँदै अब बुटवलमा पनि हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो।’– उनले भने ।
यस्तै कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले बुटवलमा रहेका प्रख्यात रेस्टुरेन्टहरूका खानेकुराहरू घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत् डेलिभर गरिने बताइन् ।
बुटवल उद्योग वाणिज्य संघका सचिव प्रतिक पोखरेलले यसले बुटवलको होटल व्यसायलाई चलायमान गराउनका लागि सहयोग पुग्ने बताए । स्थापना भएको १५ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौं, पोखरा र चितवनमा पाएको सफलता अब बुटवलमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको बताएको छ।
बुटवलवासीले डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरूसँग सहकार्य गरेको छ। साथै भविष्यमा अन्य सेवाहरू पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरूमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ। ग्राहकले मोबाईल एप, वेबसाइट र फोनमार्फत् खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टहरूले तयार गर्छन्। फुडमान्डुसँग अहिले एक हजारभन्दा बढी रेस्टुरेन्टहरू आबद्ध छन्।
बुटवलमा सेवा विस्तार गर्ने क्रममा केही समय हरेक अर्डरमा ’फुडसफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रूपैयाँसम्म) छुट पाउने घोषणा गरेको छ। यो उपलब्धिलाई निरन्तरता दिँदै फुडमान्डुले अन्य मुख्य सहरहरूमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ।
प्रतिक्रिया