ताजा अपडेट »

शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

विहीबार, १० माघ २०८१, १० : ४२
32 Shares
विहीबार, १० माघ २०८१
32 Shares

काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।  

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे । 

वि सं १९५० मा वनारसमा जन्मेका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौंको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो । 

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।