ताजा अपडेट »

अर्थमन्त्री पौडेलको ‘ड्रिम प्रोजेक्ट’ उद्घाटन गर्न प्रधानमन्त्री ओली बुटवल आउँदै

विहीबार, १० माघ २०८१, ०८ : ५२
604 Shares
विहीबार, १० माघ २०८१
604 Shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट संघीय सांसद बनेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको एउटा ‘ड्रिम प्रोजेक्ट’ उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोली शुक्रबार बुटवल आउँदै छन् । प्रधानमन्त्री ओलीले रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने गरी शुक्रबार बुटवल आउन लागेका हुन् । 

यस क्रममा उनले बुटवल-चन्द्रौटा-गोरुसिंगे चार लेन सडक बिस्तारको शिलान्यास गर्ने छन् भने बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबामा निर्माणाधिन सुरुङमार्गको ब्रेक थ्रू गर्दै छन् । सिद्धबाबा सुरुङमार्ग अर्थमन्त्री विष्णु पौडेलले ड्रिम प्रोजेक्टको रुपमा लिँदै आएको योजना हो । रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने भन्दै पोडेलले अघि सारेका योजनाहरु मध्ये यो एक महत्वपूर्ण योजना हो । 

एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ। २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। भने मुख्य सुरूङ सुक्रवार प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुने छ। 

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा छ । 
 
शुक्रबार सुरूङमार्गको ब्रेक थ्रु उत्सव लगत्तै प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक सिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन्। बुटवल गोरुसिंगे सडक आयोजना प्रमुख ईन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो २ बजे प्रधामन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनेछन्। 

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली शुक्रबार पाल्पा जिल्लाका ३ वटा कार्यक्रम र रुपन्देही जिल्लाका १ वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए। प्रधानमन्त्री ओलीले सुक्रबार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने त्यहाँबाट हेलिकप्टर मार्फत बिहान १२ः१५ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आईपुग्ने छन्। 

प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउपालिकाको दोभानमा नव निर्मित तिनाउ गाउपालिकाको प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम तय भएकोले उनी बुटवलबाट दोभान जाने तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले बताए। ओलीले तिनाउ गाउपालिकाको भवन उद्घाटन गरेपछि त्यहा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने र सिद्धार्थ राजमार्गको सिद्धवावामा निर्मित सूरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बिशेष सहभागिता जनाउने छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।