बुटवल। बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधको विषयमा रुपन्देही जिल्ला अदालतमा परेको मुद्दामा रवि लामिछानेको थुनछेक बहस आज हुँदै छ । बुधबार जिल्ला अदालत रुपन्देहीमा बयान सकिएपछि आज विहान साढे १० बजे हाजिर हुनेगरी जमानीमा रिहा गरिएको थियो ।
न्यायाधीश प्रल्लादकुमार योगीको इजलामा आज थुनछेक बहस हुनेछ । यसअघि जिल्ला अदालत काठमाडौंले भने रविलाई बयान नसकिँदा हिरासतमै राख्न आदेश दिएको थियो । यस अर्थमा रुपन्देही अदालतले भने लचकता देखाएको छ । रविविरुद्ध आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो । रविको सचिवालय स्रोतका अनुसार थुनछेक बहसका लागि उनको पक्षमा काठमाडौंबाट बढीमा तीन जना वकिल आउने छन् । वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधबार नै भैरहवा आइपुगेका छन् । त्यसैगरी डा. नारायण घिमिरे, सुशिल पन्तसहितका कानुन व्यवसायी काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो । रुपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले बहस गर्ने सम्भावना छ ।
पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी तथा सरकारी वकिल १२ जना तयारीमा रहेका छन् । लामिछाने र पूर्वडीआईजीसमेत रहेका छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारीबाट व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित १४ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ । त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको ९सामूहिक० १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
प्रतिक्रिया