काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
बुधवार भएको खेलमा अस्ट्रेलियासँग नेपाल ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो ।
अस्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक १८ रन जोडिन् । पुजा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए ।
त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो ।
अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।
एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।
लोरासले ३९ बलमा ३१ रन जोडिन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन बनाइन् । नेपालका लागि कप्तान पुजाले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।
पराजित नेपालले समूह चरणमा कुनै जित हात पार्न सकेन । शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ । खेलेका तीनै खेल जितेको अस्ट्रेलिया अपराजित रुपमा सुपर सिक्समा पुगेको छ ।
प्रतिक्रिया