सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राही समस्यामा परेका छन् ।
सिमकोट तल्लो बजारमा खानेपानी आउन छोडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए । उनले भने, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छोडेको छ, पानी आएका एक–दुई छिटपुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ । बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले समस्या भइरहेको छ ।” खाना पकाउन, पिउनलगायत दैनिक क्रियाकलाप सञ्चालनमा पानी नहुँदा समस्या भइरहेको कामीले बताए ।
पानी नआएका तल्लो बजारमा बस्ने नागरिकले पिउने पानीको समस्या झेल्दै आएका छन् । एक बाल्टी पानी थाप्न १० देखि १५ जना लाइनमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
हिउँदको समयमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप फुटेकाले खानेपानीको समस्या भएको भन्दै यहाँका स्थानीय पिन्यारा, तीनधारामा पानी लिन जाने गरेका स्थानीय कामीले बताए ।
प्रतिक्रिया