ताजा अपडेट »

यसरी बन्दैछ बुटवल-चन्द्रौटा चार लेन सडक : प्रधानमन्त्री ओलीले शुक्रबार शिलान्यास गर्दै

बुधबार, ०९ माघ २०८१, ०९ : १३
292 Shares
बुधबार, ०९ माघ २०८१
292 Shares

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डलाई चार लेनमा बिस्तार योजनाको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएको छन् । ६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए । 

विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि भएको सडक विभागले जनाएको छ । विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीका अनुसार दुई खण्डमा विभाजित गरी यो सडक स्तरोन्नतिको काम हुँदै छ । बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुँदै छ । 

बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । नेपाली ३४ अर्ब रुपैयाँ लगानीमा बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तार हुँदैछ । २ लेनको सडक अब ४ लेनको बन्नेछ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुनेछ ।

यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल-भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ । राजधानी क्षेत्रमा सहज पहुँचका लागि यो सडक खण्डले महत्त्वपूर्ण योगदान पुर्याउने छ । यो सडक क्षेत्रभित्र पर्ने १० किलोटिरको कोरिडोरलाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए । बन्न थालेको फोरलेन सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रुपमा विकास गर्नेगरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ । सम्झौता अनुसार सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ । पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ ।

अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रूखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँचको काम भएको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । सडक क्षेत्रमा पर्ने रूखहरूको नम्बरिङ सकिएर वन मन्त्रालयको अनुमतिमा अहिले मार्किङको काम भइरहेको र त्यसपछि रूख कटान सुरु हुने बुटवल गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।

सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम आशिष निर्माण सेवाले गर्नेछ । सम्झौताको तीन वर्षभित्रै काम सक्ने निर्माण व्यवसायी विजय गौलीले दाबी गरे । रुख कटान र विद्युत्का पोल स्थानान्तरणपछि सडक किनारको एकतर्फबाट निर्माण सुरु हुने गरी परियोजनाले डिजाइन गरेको छ । पूर्वपश्चिम राजमार्ग भएर दैनिक हजारौं सवारी ओहोरदोहोर गर्ने भएकाले सवारीसाधन र यात्रुलाई सास्ती नहुने गरी निर्माणका काम हुने उनले बताइन् ।

आयोजना कार्यालयका अनुसार सडक विस्तारका क्रममा बुटवल-गोरुसिंगे सडक खण्डमा पर्ने रूपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा २ हजार ६ सय १३, कञ्चन गाउँपालिका क्षेत्रमा १ हजार ३ सय २६ रूख काटिनेछन् । त्यस्तै कपिलवस्तुको चार नम्बर र गोरुसिंगे क्षेत्रमा ३ हजार २ सय ३६ रूख काटिने इन्जिनियर न्यौपानेको भनाइ छ । सालझन्डीदेखि पिपरासम्म र बनगाईदेखि गोरुसिंगे क्षेत्रमा १ सय ४९ वटा कर्ल्भट निर्माण गर्ने आयोजनाले जनाएको छ । तीमध्ये तीन वटा वन्यजन्तु आवतजावत गर्ने अन्डरपास र अन्य पानी बग्नसमेत मिल्ने गरी निर्माण हुनेछन् ।

सालझन्डी-पिपरा खण्डमा चार वटा, कोइली-घेरुवा-बनगाई-गोरुसिंगे क्षेत्रमा ६ वटा अन्डर/ओभरपाससहितका कल्भर्ट निर्माण हुने आयोजनाले बताएको छ । 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।