ताजा अपडेट »

माघ १० देखि ९ औं देवदह औद्योगिक व्यापार मेला, तयारी तिब्र

मंगलबार, ०८ माघ २०८१, १८ : ०३
46 Shares
मंगलबार, ०८ माघ २०८१
46 Shares

देवदह । रूपन्देहीको देवदहमा सञ्चालन हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तिब्र पारिएको छ । मङ्गलबार महोत्सव सचिवालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले तयारी अन्तिम चरणमा पुगेको बताए ।

देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ १० देखि २२ सम्म सञ्चालन हुने महोत्सवको माघ १० गते बिहीबार बृहत र्यालीसहित नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्‌घाटन गर्ने जनाईएको छ । उद्‌घाटनअघि खैरेनीको लोकेश्वरदेखि देवदह मण्डपसम्म विभिन्न सङ्घसंस्थाको सहभागितामा झाँकीसहित र्‍यालीको आयोजना गरिएको संयोजक गुरुङले बताए ।

महोत्सवमा लुम्बिनीको प्राचीन मायादेवी ग्रामसहितको मोडल, पकडी ब्रिक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी,  गुरुङ र मगर समुदायको घर, सेल्फी जोन, लगायतका आकर्षकहरु रहने आयोजकले जनाएको छ । महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी लगायत दुई सय ५८  स्टलहरू रहने छन् । महोत्सव छ लाख दर्शकले अवलोकन गर्ने र दश करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।  

साँस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत, लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता,  पन्चे बाजा प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् । कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, मेलामा कृषि यन्त्र,  पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरू महोत्सवका आकर्षकका रुपमा रहने मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।