ताजा अपडेट »

रूकुममा एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री

मंगलबार, ०८ माघ २०८१, ०९ : २४
28 Shares
मंगलबार, ०८ माघ २०८१
28 Shares

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवा खेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।

यस वर्ष यहाँबाट करिब  छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले ५ करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवा खेती गर्दै आएका छन् ।

प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवा खेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए ।

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिक टन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उनले उल्लेख गरे ।

गत आर्थिक वर्षमा पालिकामा दुुई हजार छ सय परिवारले अदुवा खेती गर्दै आएकामा यस वर्ष उक्त सङ्ख्या छ सय ५० ले घटेको प्रमुख पुनले बताए । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुभएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट  एक लाख आम्दानी गरेको बताए । बिस वर्षदेखि अदुवा खेतीमा लागेका उनले निरन्तर खेती गर्दा मौसममा दुई लाखसम्म आम्दानी हुने जानकारी दिए ।

त्रिवेणी–६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल  १२ हजारसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए ।

“पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ”, उनले भने । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन् ।
---

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।