ताजा अपडेट »

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

सोमबार, ०७ माघ २०८१, १६ : २६
16 Shares
सोमबार, ०७ माघ २०८१
16 Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताएका छन् । 

गोरखा नगरपालिका–८ आहालेस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले शिक्षा क्षेत्रको विकास देशको प्राथामिकतामा हुनुपर्नेमा जोड दिए । 

“शिक्षा नै त्यस्तो आधार हो, जहाँबाट मुलुकको विकास र समृद्धि सम्भव छ, यसले अनुशासन र स्थिरताको आधार तयार गर्नसक्छ”, अध्यक्ष दाहालले भने, “त्यसका लागि शैक्षिक क्षेत्रको सुधार गर्न वर्षौंदेखि अगाडि बढ्न नसकेको शिक्षा विधेयकलाई मेरै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले पारित गरेर सदनमा छलफलका लागि पुर्याएकाे छ ।”

शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेर मात्र शैक्षिक क्षेत्रको सुधार सम्भव रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले शिक्षा क्षेत्रलाई अगाडि बढाउनका लागि राज्यले लिने प्रतिबद्धताको स्तरले देशकै सभ्यता, विकास र सुशासनको स्तर मापन हुने बताए ।

“हामी कहाँ अझै पनि शिक्षालाई व्यापारको आधार बनाउने काम रोकिएको छैन”, अध्यक्ष दाहालले भने, “संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या त गरियो तर संविधान बनेको लामो समय बितिसक्दा पनि शिक्षा ऐन नबन्दा समस्या भइरहेको छ ।”

संविधानमा शिक्षालाई जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरेको भए पनि आवश्यक ऐन निर्माण नगर्दा र बजेट विनियोजन नहुँदा समस्या भएको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।