ताजा अपडेट »

विश्वकप क्रिकेटमा नेपाली महिला टोलीको दोस्रो हार, सुपर सिक्समा पुग्ने सम्भावना कमजोर

सोमबार, ०७ माघ २०८१, १५ : ४२
44 Shares
सोमबार, ०७ माघ २०८१
44 Shares

बुटवल । आइसिसी यु-१९ महिला टी-२० विश्व कपमा नेपालले लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ । मलेसियामा जारी प्रतियोगितामा सोमबार नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । 

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा स्कटल्याण्डको यो पहिलो जित हो । स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो । हारसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना कमजोर बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।