दाङ । दाङमा प्रहरीले भरुवा बन्दुकको गोलीबाट मृत्यु भएको घटनामा संलग्न २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दंगीशरण गाउँपालिका २ कौवाघारीमा २५ वर्षीय प्रेम बहादुर कुसारीको बन्दुकको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरेर उक्त घटनामा संलग्न सोही ठाउँका २२ वर्षीय छविलाल डाँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाका अनुसार घटना माघ ३ गते भएको थियो । दिउँसो करिब ४ बजेतिर कुसारी रुखबाट लडेर घाइते भएको भन्दै उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज नर्सिङ होम बाँके पठाइएकोमा बेलुका करिब साढे ८ बजेतिर उनको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार मृतक कुसारीसंगै डाँगी र बस्नेत राजाकोट सामुदायिक वनमा सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली ९छर्रा० लागि मृत्यु भएको हो । बस्नेतलाई शनिबार तुलसीपुर बजारबाट र डाँगीलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले वनमा लुकाई छिपाइ राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको समेत जनाएको छ, भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाको रहस्य यसरी खुल्यो
कुसारी, डाँगी र बस्नेत माघ ३ गते दिउँसो राजाकोट सामुदायिक वनमा सिकार खेल्ने गएका थिए । दिउँसो करिब ४ बजे तिर कुसारी रुखबाट लडेर घाइते भएको जानकारी दिएपछि उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उनलाई सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज नर्सिङ होम बाँकेमा रिफर गरियो । उनका राती करिब साढे ८ बजेतिर मृत्यु भयो । त्यसपछि शव पोष्टमार्टमको लागि भेरी अस्पताल बाँके लगियो ।
माघ ४ गते छोराको शव बुवा अबिर कुसारीले बुझेर घर ल्याए । घटनाको बारेमा शङ्कास्पद भएपछि जिप्रका दाङका प्रमुख तिमिल्सिनाको कमान्डमा इप्रका तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीको प्रहरी टोली खटिई अनुसन्धान गर्दा उनको रुखबाट लडेर नभइ सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुकको गोली (छर्रा) मृत्यु भएको कुरा खुल्यो । त्यसपछि प्रहरीले उनका शवलाई फेरि पोष्टमार्टम गर्न माघ ५ गते भेरी अस्पताल पठायो । पोष्टमार्टमको रिपोर्ट अनुसार मृतक कुसारीको खुट्टाको साँप्रा लगायत शरीरबाट गोलीको (छर्रा) फेला परेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानको क्रममा डाँगी र बस्नेतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया