ताजा अपडेट »

सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाएको छः मुख्यमन्त्री आचार्य

आइतबार, ०६ माघ २०८१, २० : ०५
18 Shares
आइतबार, ०६ माघ २०८१
18 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताए । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । 

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उद्‌घाटन सत्रमा बोल्दै उनले जनताको सुसूचित हुने अधिकारलाई सम्मान गर्दै हरेक सरकारी क्रियाकलाप जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए ।

उनले सरकारका हरेक कदम स्पष्ट, छरितो र प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउनु आजको समयको माग भएको बताए । उनले सरकारका हरेक कार्यहरूमा पारदर्शिता आवश्यक भएको भन्दै जनताले छर्लङ्ग देख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे , उनले  जनताको माग बमोजिम सूचना उपलब्ध गराउन ढिलासुस्ती नगर्न र सूचना प्रवाहमा हुने आनाकानी तथा अपारदर्शी प्रवृत्तिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । 

उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै मुख्यमन्त्री कार्यालयबाट सूचना अधिकारी तोक्न निर्देशन दिइसकेको जानकारीसमेत दिए ।

उनका अनुसार सूचना व्यवस्थापनमा सुधार ल्याएर जनतासमक्ष सरकारका काम पुर्‍याउनै पर्नेछ ।  सूचना माग गर्दा अप्ठ्यारो महसुस नगरी समयमै सूचना उपलब्ध गराउन निर्देशन दिँदै यो कार्य सरकारलाई सच्चिन र सुध्रिन सहयोगी हुने धारणा राखे । 

उनले पारदर्शिता र उत्तरदायित्वको माध्यमबाट जनताको विश्वास जित्न सरकारले गम्भीर भूमिका खेल्नुपर्ने बताए ।  उनले सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षालाई सम्बोधन गर्ने दिशामा काम गर्न सबै सरकारी निकायहरू सचेत हुनुपर्नेमा जोड दिए ।  सूचना व्यवस्थापनमा हुने ढिलासुस्तीले जनतामा नकारात्मक धारणा उत्पन्न हुने भएकाले यसलाई तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।