ताजा अपडेट »

रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता

आइतबार, ०६ माघ २०८१, १९ : ४८
44 Shares
आइतबार, ०६ माघ २०८१
44 Shares

बुटवल ।  पूर्वगृहमन्त्री रवि लामिछानेसहित  २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।   बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको  पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो ।

पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी  छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए ।

उनले अदालतमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको र तीमध्ये १७ जनाविरुद्ध थप मुद्दा दर्ता भएको जानकारी दिए ।  सरकारी वकिलको  कार्यालयले दिउँसो  १२ बजे मुद्दा दर्ताका लागि पठाएको  थियो ।  कागजपत्र  रुजु गरेर मुद्दा दर्ता गर्दा अबेर भएको उनले बताए ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित  १४ जनालाई  मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड  र गोर्खा मिडियाका नाममा  ९सामूहिक० २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ । त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको ९सामूहिक० १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार  बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।