बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा गत पुस २६ गते पुल भासिएर सडक अवरुद्ध बन्यो । पुल भासिएपछि घण्टौसम्म पूर्व–पश्चिम यात्रामा रहेका सर्यौं सवारी साधन तथा हजारौं यात्रुले कष्ट भोग्नु पर्यो । लामो प्रयासपछि डाइभर्सन निर्माण गरेर राजमार्ग सूचारु भयो । हालसम्म पनि सोही डाइभर्सनबाट काम चलाउनु परेको छ ।
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको एन एल ०१ ए एच ५१७९ नम्बरको लरी पूर्वतर्फ जाँदैगर्दा पुल भाचिएको थियो । उक्त पुलको भारवहन क्षमताभन्दा बढी तौलको सवारी गुडाउँदा उक्त पुल भाचिन पुगेको हो । जेनेरेटर बोकेर आएको उक्त सवारीले यसअघि बुटवलको तिनाउ पुलमा समेत ४ घण्टा लामो समय सडक अवरुद्ध बनाएको थियो । उक्त ट्रक कृष्णनगरबाट पौष २० गते नेपाल प्रवेश गरेको देखिन्छ भने २६ पौषमा विनयी खोलाको पुल तर्ने क्रममा बीचमा पुलसँगै भासिएको थियो ।
यो घटनापछि पुनः सडक क्षमताभन्दा ओभर लोडको समस्या बारे आवाज उठेको छ । यद्यपी नियामक निकायहरु भने एकले अर्कोलाई दोष लगाउँदै ठिक्क छ । विशेषगरी भारतबाट आउने सडक क्षमताभन्दा बढी भारका सवारीलाई नियन्त्रण गर्ने सवालमा भन्सार कार्यालय र ट्राफिक प्रहरी बीचनै समन्वय हुन सकेको छैन । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले भन्सार कार्यालयले भारतबाट आउने मालबहाक सवारीलाई जतिसुकै भारको भए पनि भन्सार काटेर छोडिदिँदा आफूहरुलाई नियन्त्रण गर्न समस्या भएको बताउँछन् । ‘उहाँहरुले (भन्सार कार्यालय) जतिसुकै भारको सवारी भए पनि राजश्व उठाउनेसँग मात्रै सम्बन्ध राख्नुहुन्छ, त्यसपछि आउने सडकमै हो । हामीले सडकमा रोकेर कति समय राख्ने ?’–खत्रीले भने, ‘सडकमै राखौं ट्राफिक जाम भएर अर्को समस्या, नराखौं सडक भारवहनभन्दा बढी क्षमताका हुन्छन्, चिट काटेर (कारबाही शुल्क तिराएर) छोड्ने बाहेक कुनै विकल्प हुँदैन ।’ यदी भन्सार कार्यालयले नै नेपालको सडक क्षमताभन्दा बढी तौलका सवारीलाई पल्टी गराएर मात्रै छोड्ने नीति लिने हो भने धेरै समस्या समाधान हुने उनी बताउँछन् । नियमन गर्ने प्रमुख नियका ट्राफिक व्यवस्थापन कार्यालयले समेत सडक क्षमताभन्दा बढीका सवारीलाई २÷३ हजार जरिवाना तिराएर छोडिदिने गरेका छन् । पछिल्लो केही दिनदेखि भने ओभरलोडका सवारीलाई पल्टी गराएर उनीहरुको भार समायाजन गराएर मात्रै गुड्न दिने गरिएको ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक खत्री बताउँछन् । आफूहरुले सडकमा निगरानी राखे पनि भन्सार कार्यालयले नै यसलाई नियमनका लागि सहयोग नगर्ने हो भने पूर्ण निर्मुल पार्न नसकिने उनको बताउँछन् । अधिकार क्षेत्रका कारण पनि भन्सार कार्यालयलाई आफूहरुले भन्न सक्ने अवस्थामा नरहेको उनले बताए ।
यसैगरी भन्सार कार्यालयका प्रतिनिधिहरुले पनि सडकको भारवहान क्षमता नियमन गर्ने आफ्नो दायित्व नरहेको बताउँछन् । भन्सार कार्यालय भैरहवाका प्रमुख रामप्रसाद रेग्मीले भने, ‘भारबहान क्षमता हेर्ने हाम्रो काम होइन, हाम्रो काम राजश्व उठाउने हो ।’ भन्सार कार्यालय कृष्णनगरका प्रमुख फणिन्द्र खतिवडाको पनि जवाफ उस्तै छ । ‘यदी हामीलाई अर्थ मन्त्रालयले नै पत्रार गरेर भारवहन नियन्त्रण गर्ने र सो अनुसार राजश्व उठाउनु भन्यो भने, हामीले त्यो गर्ने हो । नत्र भारवहन नियमन गर्ने निकाय हामी होइन यस बारेमा हामीलाई केही पनि जानकारी छैन ।’-खतिवडाले भने ।
जिर्ण बन्दै गएको सडक तथा पुल, क्षमताभन्दा दोब्बर भारका सवारी निर्वाध सञ्चालन लगायत कारणले दुर्घटनाका जोम बढ्नुका साथै राज्यको करोडौ लगानी खेर गइरहेका छन् । नेपालको सबैभन्दा लामो यो राजमार्गमा यसरी पुल भासिएको पहिलो घटना भने होइन । २०७८ भाद्र ११ गते पश्चिम नवलपरासीको तुरिया खोलामा पनि पुल भासिएको थियो । यो राजमार्ग अन्तरगत पर्ने नवलपरासीकै लोकाह पुल तथा गैडाकोटमा रहेको जयश्री पुल पनि पटक–पटक ओभर लोडका कारण भासिँदै आएको छ ।
पूर्व-पश्चिम राजमार्गको मध्यक्षेत्र बुटवल-नारायणघाट खण्डलाई जोड्ने झन्डै तीन दर्जन महत्वपूर्ण पुलमध्ये अधिकांशको निर्माण संरचना एउटै प्रकृतिको छ । विसं २०३० सालको अवधिमा निर्माण गरिएका यी पुलको संरचना ट्रसको प्रयोग गरेर निर्माण गरिएको छ । यस्ता प्रकृतिका पुलको संरचना कमजोर बन्दै गएका छन् । यसैले यी पुलको अवस्था जीर्ण र जोखिमपूर्ण बन्दै गएको डिभिजन सडक कार्यालय बुटवलको दाबी छ । यद्यपी नेपालका अधिकांश सडकको भारवहन क्षमता कम भए पनि दोब्बर भार बोक्ने भारतीय मालबहाक सवारीले सडकलाई झन कमजोर र जिर्ण बनाउँदै लगेको भनि आवाज उठ्ने गरेका छन् ।
मालवाहक सवारी साधन भारवहन नियमन सम्वन्धि कार्यविधि २०७१ (संशोधन २०७४) अनुसार नेपालका सडकको भारवहन क्षमता ४०.२ टन भए पनि दोब्बरभन्दा बढी भारसहितका मालवहाक सवारी निर्वाध गुडिरहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेल बताउँछन् । उक्त कार्यविधि अनुसार ठाउँ-ठाउँमा भार मापन गरेर मात्र सवारी साधन चल्न दिनुपर्ने नियम प्रभावकारी कार्यान्वयन नहुँदा ओभरलोडका कारण पुल भाँचिने तथा सडक जिर्ण बन्दै जाने समस्या रहेको पोख्रेलले बताए ।
नेपालको सडक क्षमताभन्दा बढी भारका मालवहाक सवारीलाई नियमन गर्ने सवालमा राज्यले ध्यान नदिएको भन्दै पटक-पटक यहाँका यातायात व्यवसायी तथा जनस्तरबाट आवाज उठे पनि यसको सुनुवाई भने हुन सकेको छैन । भारवहन नियम कार्यान्वयन गराउने ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा भन्सार कार्यालय बीच आवश्यक समन्वयका अभावमा यो समस्या यथावत रहेको यातायात व्यवसायी पोख्रेल बताउँछन् ।
प्रतिक्रिया