ताजा अपडेट »

आजबाट इसराइल-हमास युद्धविराम : यस्ता छन् कार्यान्वयनका ३ चरण

आइतबार, ०६ माघ २०८१, ०७ : ४४
36 Shares
आइतबार, ०६ माघ २०८१
36 Shares

काठमाडौं । इसराइल हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ। शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो।

समाचार संस्था रोयटर्सका अनुसार आइतबार मध्याह्न हमासले तीन बन्धक छाड्ने छ। बन्धकमुक्त हुने तीनै जना इसराइली महिलाहरू रहने पनि रोयटर्सले जनाएको छ। हमासले तीन बन्धक छाड्दा इसराइली जेलमा रहेका ९० जना कैदी रिहा हुनेछन्। सम्झौतामा एक महिला बन्धक हमासले छाडेबापत इसराइलले ३० कैदी रिहा गर्ने भनिएको छ।

हमासले बन्धकमुक्त गरेकाहरूलाई रेड क्रसले इसराइल पुर्‍याउनेछ। सम्झौता कार्यान्वयन गर्नुअघि इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता अनुसार  बन्धकहरू नछाडिए वा सम्झौता कार्यान्वयन तलमाथि भए गजामा पुनः आक्रमण गर्ने र त्यसका लागि अमेरिकाले पनि सहमति दिएको बताएका छन्।

सम्झौताअनुसार युद्धविरामको पहिलो ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इसराइलले त्यहाँका जेलमा रहेका प्यालेस्टिनी नागरिकहरूलाई रिहा गर्नेछ।

युद्धविराम घोषणा भएको पहिलो दिन हमासले तीन जना बन्धक रिहा गर्नेछ। सुरूमा महिला र इसराइली सेनालाई हमासले बन्धकमुक्त गर्नेछ। हमासले बन्धकमुक्त गर्ने एक इसराइली नागरिकको बदलामा इसराइलले ३० प्यालेस्टिनी कैदी र एक महिला सैनिकको बदलामा ५० जना कैदी रिहा गर्नेछ।

त्यसको एक सातापछि हमासले चार जना बन्धक रिहा गर्नेछ भने त्यसको बदलामा तोकिएअनुसारको कैदी इसराइलले रिहा गर्नेछ। त्यसपछि एक एक सातामा हमासले बन्धक रिहा गर्ने र इसराइलले प्यालेस्टिनी कैदी रिहा गर्ने सम्झौतामा उल्लेख छ।

पहिलो चरणको युद्धविरामको ४२ दिनभित्रै अर्को सम्झौता गरिसक्नुपर्ने चुनौती मध्यस्तकर्ताहरूलाई रहनेछ। यदी ४२ दिनभित्रै दोस्रो चरणको युद्धविराम सम्झौता नभए इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने खतरा उत्पन्न भएको छ।

पहिलो चरणको युद्धविरामको समयमा इसराइली सैनिक गजाबाट नफर्कने बरू त्यहाँका वस्तिबाट किनारतिर सर्ने भनिएको छ।त्यस अवधिमा त्यहाँबाट अन्यत्र भागेकाहरू गजामा फर्केर मानवीय सहायता लिन सक्नेछन्। ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविराममा गजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। दोस्रो चरणको युद्धविरामपछि इसराइली सैनिक गजा क्षेत्रबाट फर्कने भनिएको छ।

तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इसराइली बन्धक र इसराइलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।