ताजा अपडेट »

मानव सेवा आश्रमको आयोजनामा सोमबारदेखि ज्ञान-महायज्ञ

शनिबार, ०५ माघ २०८१, १७ : ५१
138 Shares
शनिबार, ०५ माघ २०८१
138 Shares

बुटवल । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणार्थ रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागेको ज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान÷सब्जी मण्डी नजिकै) माघ १४ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मानव सेवाआश्रमले जनाएको छ । 

तिलोत्तमा–५ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानव सेवा अश्रमका महासचिव शुसीला के.सी.ले जानकारी गराइन । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने अधिकारीले बताए । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने उनले जानकारी दिए । 

महायज्ञ सफल बनाउन संस्थाका अभिभावक लोकनाथ भुसालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न ३५ लाख बढी खर्च अनुमान गरिएको छ । आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ । ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

निर्माणाधिन आश्रमको भवनमा हालसम्म ५ करोड बढी खर्च भइसकेको र यसलाई सम्पन्न गर्नका लागि थप २ करोड लागत अनुमान गरिएको संयोजक भुसालले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ । हालसम्म आश्रमको केन्द्रीय अक्षकोषमा ५ करोड रकम जम्मा भएको छ भने रुपन्देहीमा ३५ लाख रुपैयाँ पुगेको छ । ०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । 

यसैगरी ४ हजार बढीलाई परिवारसँग पुनःमिलन गराइएको र त्यसमध्ये १ हजार बढी भारतीय नागरिक रहेको अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए । आश्रमले भारतमा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको संस्थाकी लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीले जानकारी दिइन् ।  उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने अधिकारीले बताइन् । कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले मानवसेवाको महाअभियान लिएर अगाडि बढेको आश्रमलाई सबैको सहयोगका लागि आह्वान गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।