ताजा अपडेट »

व्यस्त जिन्दगी अस्तव्यस्त कार्यशैली

शनिबार, ०५ माघ २०८१, ०९ : ३९
80 Shares
शनिबार, ०५ माघ २०८१
80 Shares

मेरा हरेक दिन डिजिटल बनेका छन् । मोबाईलको आलाराम घण्टी बिहान ४:४५ मा बेसुरले चिच्याउँछ अनि म झस्किँदै जुरुक्क उठ्छु । हतारहतार बाथरुम छिर्छु शौच गर्छु । मनले आज जाडो छैन भने चिसो पानी शरीरमा खन्याउछु । फेरि हतारहतार लुगा लगाउँछु । द्रोस्रो पटक मोबाईल हेर्छु समय र आजको राशीफल सँगसँगै तातोपानी तताउने बिजुली भाडोमा पानी बसाल्छु । पानी तात्ने क्रम चलिरहन्छ म भने मोजा र जुत्ता हतारमा लगाउँदै चा पकाउने भाडोमा पानी, चिनी र चियापत्ती एकैसाथ राखेर भुर्लुक्क उमाल्छु । प्रायगरि चिया र पानी म सँगसँगै पिईदिन्छु किनकि मलाई हतार छ । 

पुनः मोबाईल हेर्छु दुई चार जनाको जन्मदिन परेको हुन्छ । ठूलाबडा परे डिजिटल चाकरी गर्छु, समकालीन भए शुभकामना र कनिष्ठ भए रियाक्ट गरिदिन्छु । यति गर्दासम्म घडिमा ५स्३१ हुन्छ । हतारमा फ्लाटको ढोकाको गराली खोलेर मुलगेटको ताल्चा खोल्छु अनि त्यहीँ दुई पाङ्ग्रे सहयोगी चलाउछु र हतारहतार कार्यक्षेत्र हुकिन्छु ।

बिहानको ५:५० नहुँदै कार्य क्षेत्र पुग्नुपर्छ । ठिक छ बजे डिजिटल संसारकै उपजमा रहेको डिजिटल घण्टी बज्छ अनि हौसिदै कक्षामा पुग्छु । जाँगर अलि धेरै चलेमा प्रोजेक्टर भन्ने जिनिसमा आफ्नो ल्यापटपको मिलन गराउँछु अनि सेतोपाटीमा पहिले केही आफूले र केही कम्पनीले तयार पारेका पुराना स्लाइड सेयर गर्छु र बडो गर्वका साथ भन्छु म त डिजिटल जमानाको आधुनिक शिक्षक हु । 

४५ मिनेटको पिरियड हुन्छ, म भने हातमा डिजिटल घडि लगाए पनि कसैले फोन गरे होला नाई पत्ता लगाउन समय हेर्ने बहाना गोजिको मोबाईल सुटुक्क झिकेर समय हेरेको नाटक गर्छु । जसोतसो पाठ वाचन र स्लाईड सेयर गरेर विद्यार्थीलाई भोलि घोकेर आउनु भन्ने उर्दी जारि गरि अर्को कक्षातिर जान्छु । त्यहाँ पनि तरिका भनौं या शैली पुरानै दोहार्याउछु । कति बेला खालि समय नि पाउछु । त्यो खालि समयमा स्टाफ रुममा आफ्ना विद्यार्थीको भविष्य भन्दा मेरो पार्टी र अर्को पार्टीको भविष्यका बारेमा बडो गम्भीरतापूर्वक चिन्तन गर्छु । यसका लागि पनि अनलाइनमा आएका विचार र समाचार मोबाईलमा नै पढ्छु ।

दैनिक कार्य तालिका यसैगरी चल्छ । दिनभर धेरैका वैवाहिक वर्षगाठ र कोहि आर्यघाट पुगेका मोबाईल हेरेर थाहा पाउँछु र घटनाक्रमको आवश्यकता र डिजिटल रुपमा दक्ष रहेको फेरि प्रमाणित गर्नका लागि फेरि डिजिटल स्तुति गाउँछु । यसै गरि मेरा सातबार १२ महिना अझ भनौं ३६५ दिन कटिरहेका छन् । 

अचेल म समाजिक काममा भन्दा धेरै सामाजिक सञ्जालमा सक्रिय छु तर पनि समाजले मलाई महान सामाजिक अभियान्ताको उपमा दिएकैछ । किनकि तक्मा र उपाधि अचेल डिजिटल चाकरीमा नै आधारित भएको छ। भौतिक रुपमा प्रत्यक्ष भेट हुँदा नबोल्नेहरुसँग म सामाजिक सञ्जालमा धेरै कुराकानी गर्छु । आत्मीय सम्बन्धमा भन्दा धेरै सामाजिक सञ्जालले बनाएका डिजिटल सम्बन्धमा विश्वास गर्ने भएको छु । विज्ञान र प्रविधिले विकसित गरेका हरेक आविष्कारहरुको समुचित प्रयोगले जीवन सरल र सार्थक बनाउने भनेको त्यसको सदुपयोगले हो भन्ने कुरो मानिसले आफूसँग रहेका सबै अवसर गुमाएपछि बुझ्दा पनि म डिजिटल साक्षर भनेर घमण्ड गरिरहेको छु ।

सामाजिक सञ्जालका सम्बन्ध न त जिउँदोका जन्ति न त मर्दाको  मलामी हुन्छन् भन्ने कुराको  विश्वास सुरुवाती दिनमा लागेन । यद्यपि वर्तमानमा भने त्यो सत्य नै हो भन्ने लागिरहेको छ । जीवन सार्थक बनाउन, लक्ष्य प्राप्तिका लागि डिजिटल साक्षरता आवश्यक रहेछ तर जीवन, घरपरिवार, नातागोता सबै समाप्त गर्ने डिजिटल अफिम रहेछ भन्ने बुझियो । 

अन्त्यमा तपाईं पनि कतै म जस्तै गरिरहनु भएको छ कि ? गम्भीरतापूर्वक विचार गर्नुहोस् दीर्घ जीवन र मानसिक स्वास्थ्यका लागि दिनमा २ घण्टा नियमित पुस्तक पढ्नुहोस् । भवतु सव् मङ्गलम् !!

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल