ताजा अपडेट »
यात्रा संस्मरण

अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको अभियानमा सत्यवती गाउँतिर

शनिबार, ०५ माघ २०८१, ०९ : १२
34 Shares
शनिबार, ०५ माघ २०८१
34 Shares

माघ ३ गते, विहिवार । कान्छी संक्रान्ति । बुटवलमा हुस्सु र कुहिरोले जाडो थियो । हामीभने हुस्सुलाई छिचोल्दै पाल्पा, तिनाउको वडा नं.४ सत्यवती बजैको मन्दिर पुग्दा मध्यान्हको १२ बज्दै थियो । झुम्सा, ज्यामिरेबाट मधु खनालले स्कार्पियो दाहिनेतिर मोडेपछि  तिलोत्तमा माविको दैला हुँदै बहुलादमार पुगियो । अल्लि परै पुगेर बन्दै गरेको पक्की पुललाई हेरेपछि हामीले गोठादी खोला तर्यौं । त्यहि खोलाबाट हो बटौलीलाई पानी खुवाउने । नेपाल सरकारको ड्रीम प्रोजेक्टका रुपमा रहेको यो खानेपानी छिट्टै सम्पन्न हुँदैछ । 

लगाढबेसी हुँदै हामी माथिल्लो लगाढ गाउँ पुग्यौं । त्यहीं छ सत्यवती मन्दिरका मूलपुजारी सुनवीर गाहा मगरको घर । चिटिक्क परेको सुन्दर र सफा घरलाई देब्रेतिर राखेर हामी सत्यवती मन्दिर पुग्यौं । मन्दिरभित्र रहेको सत्यवती बजैलाई ढोग गरियो । मूलपुरोहित सुनवीरको हातबाट टीका ग्रहण गर्यौं । बाजेले आफूले जानेजति र सकेजति आशीर्वाद फलाके । मगर जातिका मानिस यहाँ पुजारी हुने पुरानो चलन छ । चिच्चाएर वर माग्ने थलोको रुपमा सत्यवती बजैको मन्दिरलाई लिइन्छ । कार्तिके पूर्णिमामा यहाँ भव्य मेला लाग्छ । यसपालि यहाँ करिव दुई लाख भक्तजनहरु आएका र करीव ३३ लाख रुपैयाँ चन्दा, भेटी उठेको रहेछ । 

satyawati mandir

केहीवेर आदिवासी जनजाति आयोगका सदस्य माननीय डा.मीन श्रीस मगरले मूलपुजारीसँग मन्दिरका बारेमा प्रश्नोत्तर गरे । टिपोट गरे । लुम्बिनी प्रदेश सरकारका प्रमुख न्यायाधिवक्ता माननीय यमलाल खनाल, लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले मूलपूजारीसँग टीका ग्रहण गरी फोटोसेसन समेत गरे । चुरे क्षेत्रमा रहेको सीमसारभित्र पर्ने सत्यवती ताल र यसको प्राकृतिक एवम् सांस्कृतिक महत्वका बारेमा केहीबेर छलफल गरी ताललाई एकफन्को लगायौं । 

चार रोपनी जग्गामा फैलिएको सत्यवती ताल संरक्षणका लागि विभिन्न संघसंस्थाहरुले सक्दो सहयोग गरेकै छन् । यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी विकास गर्नुपर्नेमा हामीहरु सहमत भयौं । कृत्रिम ताल बनाउने, डुंगा चलाउने र पैसा कमाउने कुराले ताल संरक्षण र यसको गरिमा, महिमा जोगाउन सम्भव नहुने कुरामा हामीहरु एक मत भयौं । त्यतिबेलासम्म वडाध्यक्ष तुलबहादुर आलेको तीनपटक फोन आइसकेको थियो । हामीले हतारमा आफ्नो यात्रालाई गन्तव्यतिर मोड्यौं । 

करीव आधा घण्टाको यात्रापछि हामी तिनाउ गाउँपालिका वडा नं.४ को वडा कार्यालय, छापमा पुग्दा हामीलाई पर्खेर बसेका साथीहरु भेट्यौं । ढिला नगरी हाम्रो कार्यक्रम सुरु भयो । कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य माननीय डा.मीन श्रीस मगरले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको अर्थ, परिभाषा, जोगाउनुको महत्व, खाँचो र प्रक्रियाका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको कार्यविधिका सन्दर्भमा छोटो समयमा विस्तृत जानकारी गराए । गाउँमा लोप हुँदै गएका मौलिक सांस्कृतिक सम्पदाहरुका बारेमा प्रश्नोत्तर  भयो । गाउँका रैथाने पर्व, संस्कृति, सभ्यता र संस्कारलाई कसरी र किन जोगाउँदै जानुपर्छ भन्ने विषयमा गहिरो जानकारी दिने काम डाक्टर साहेवबाट सम्पन्न भयो । 

satyawati-tal

हामीले देख्न र छाम्न सक्ने मन्दिर, गुम्बा, मस्जिद, चर्चहरु भौतिक सांस्कृतिक सम्पदा हुन् । भने हामीले गरिने पूजाआजा, मेला, सांस्कृतिक नाचगान, परम्परागत खाना, भेषभूषा, मौलिक पर्वहरु अभौतिक सांस्कृतिक सम्पदाहरु रहेछन् । अभौतिक सांस्कृतिक सम्पदाहरुलाई पर्यटनसँग जोडेर समृद्धिको बाटो पहिल्याउन सक्नुपर्ने रहेछ । सहर तथा ग्रामीण क्षेत्रमा रहेका हाम्रा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा सबैको पहल अनिवार्य हुनु पर्दोरहेछ । यसले संसारलाई नजिकबाट जोड्दो रहेछ । 

सत्यवती गाउँमा घाँटु नाँच हराएको, चण्डी नाँच पनि लोप हुने हो कि भन्ने पिरलो र कोल पूजा हराउने डर आफूहरुलाई रहेको स्थानीयहरुले बताए । त्यसलाई कसरी सूचीकृत गर्ने,संरक्षण गर्ने विषयमा जानकारी पाएपछि गाउँलेहरु खुसी भए । प्रमुख न्यायाधिवक्ता यमलाल खनालले आफ्ना विचार राख्दै गाउँको रैथाने सांस्कृतिक सम्पदा र उत्पादनलाई जोगाउन सकिएमा उत्तम हुने औल्याए  । ग्रामीण तथा धार्मिक पर्यटनका लागि सत्यवती क्षेत्र अति नै उर्वर भूमि रहेको उनले सुनाए । पारिलो घाममा बसेर कुरा सुन्ने र सुनाउने कामले प्राथमिकता पाउँदा खुसी पनि लाग्यो । माघको महिनामा घामसँगै संरक्षणको कामलाई अघि बढाउने सल्लाह भयो । यो प्रसंगले मनमा खुसी छायो सबैका । 

कार्यक्रमका अध्यक्ष एवम् वडाध्यक्ष तुलबहादुर आलेले आफ्नो वडाको विकास भौतिक रुपलेमात्र भएर नहुने बरु अभौतिक एवम् अर्मूत सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण, प्रयोग र प्रचारप्रसारबाट सम्भव रहेकोमा जोड दिए । पुलपुलेसा, बाटोघाटोमात्र विकासको आधार नभई मानवीय स्रोतसाधनको विकासले नै आफ्नो क्षेत्रको विकास सम्भव हुन सक्ने उल्लेख गरे । आफ्नो क्षेत्र धार्मिक एवम् प्राकृतिक दृष्टिले धनी भएपनि यसबाट खासै लाभ लिन नसकिएको उल्लेख गरे ।

satyawati tall
 
कार्यक्रम सकिएपछि लालबहादुर दर्लामी र भद्रवीर दर्लामीलाई टूर गाईड बनाएर बुढी सत्यवतीमा पुगियो । त्यहाँ पुग्दै गर्दा पृथ्वीप्रकाश माविको भौतिक अवस्थामा दृष्टि लगायौं । स्कुलमा करिव चार सय विद्यार्थी रहेको लालबहादुरले सुनाए । माथागढी गाउँपालिकाका विद्यार्थी समेत पृथ्वीप्रकाश माविमा पढाउन आउने कुराको जानकारी प्राप्त भयो ।  केहीबेरको उकालो र ओरालो हुँदै बुढी सत्यवती ताल पुग्यौं । ऐंसेलुका पोथ्राहरु थिए । वनमाराहरुले राज्य जमाएकै थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले युद्धको तयारी गर्ने थलोको रुपमा प्रयोग गरेको कुरा भद्रवीर दर्लामीले सुनाए । ग्रामीण विकास विज्ञ युवराजले ऐतिहासिक थलो भएपनि प्रचारप्रसारको अभाव कारण ओझेलमा रहेको र यसलाई राम्रो डिजाईन गरी वनस्पति पार्क बनाइ आन्तरिक एवम् बाह्य पर्यटक ल्याउन सकिने बताए । 

सत्यवती क्षेत्र भौगोलिक रुपमा कठिन भएपनि यतिबेला पहुँचमार्गहरु बनिरहेका छन् । जाल्माघाटमा पुल बन्ला । गोठादी खोलामा बन्न लागेको पुल निकट भविष्यमै सम्पन्न होला । जसको कारण बाह्रै माहिना सत्यवती गाउँलाईमात्र होइन, माथागढीका विभिन्न गाउँहरुलाई समेत जोड्ने छ । गाउँमा केन्द्रीय लाईन जोडिएर विजुली बल्यो । खानेपानीको कार्यक्रम अघि बढिरहेकै छ । आधारभूत स्वास्थ्य इकाइ बनेकै छ । वडामा तीनवटा विद्यालयहरु छन् ।  दालचिनी बेचेर गाउँलेहरुले मनग्यै पैसा कमाएका छन् । तरकारी बेचेर हरिया नोट खल्तीमा खसालेकै छन् । केरा, बेसार, पिंडालु,तरुल, सुन्तलाबाट पनि गाउँलेहरुले जीवन गुजारेकै छन् । सत्यवती गाउँको समृद्धिका लागि धार्मिक एवम् सांस्कृतिक पर्यटनबाट सम्भव छ । पहिला पहिला स्थानीयहरुले केरा, बेसार, पिंडालुसँग चामल साट्न तराई, मधेसतिर जान्थे । यी कुराहरु यतिबेला उहिलेका कुरा झैं पो भए । 

करिव आधाघण्टाको ओरालो झरेपछि हामी छाप गाउँमा आइपुग्यौं । तात्तातो आलु पकौडी खायौं । स्थानीय खाजा खायौं । केहीवेर स्थानीय गीतहरु लालबहादुर दर्लामीबाट सुन्ने अवसर मिल्यो । मीन श्रीस र उनकी श्रीमतीलगायत हामी सबैले खुबै चासो दिएर गीत सुन्यौं र लालबहादुरको नाँच समेत हेरियो । हिड्नेबेला स्थानीय केरा किन्यौं र साथीहरुसँग बिदा मागेर हिड्यौं । त्यतिबेला घडीले साँझको ४ बजाई सकेको थियो ।  सत्यवतीको छाप गाउँबाट बौरेडाँडा हुँदै बलबहादुर आलेको सुन्तला बगैंचामा सुन्तला टिप्न आइपुग्यौं । किलोको ८० रुपैयाँमा सुन्तला किन्यौं,केही सुन्तला रुखबाटै टिप्दै खाँदाको मज्जा अर्कै । बलबहादुरले यसपाली करिव चार लाखको सुन्तला बेचिसकेका रहेछन् । ४० वटा बाख्रा पालेका रहेछन् उनले । गाउँमै बसेर आम्दानीको बाटो फराकिलो बनाउन सकिने रहेछभन्ने सन्देश उनले दिएका छन्  । 

dbs

जाल्माघाटबाट झुम्साखोला तरेर गिट्टीखानी, झुम्सा, भूतखोला, दोभानहुँदै सिद्धबाबा मन्दिरमा आएर ओर्लियौं । ‘ब्रेक थ्रु’ हुनै लागेको सुरुङ्ग मार्गलाई एक नजर लगायौं । बुटवल आएर भुड्कीचोकमा युवराज घिमिरे ओर्लिए । फाइनान्स चोकमा डा.मीन श्रीसका जोडी झरेपछि यमलाल सरकहाँ चिया खायौं । घरमा आइपुग्दा साँझको सात बजिसकेको थियो । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार