ताजा अपडेट »

यू-१९ महिला टी-२० विश्वकप : नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

शनिबार, ०५ माघ २०८१, ०६ : ०५
128 Shares
शनिबार, ०५ माघ २०८१
128 Shares

बुटवल । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण आज शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । उद्घाटन खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली महिला टोली विश्वकपमा पहिलो पटक सहभागी हुन लागेको हो । 

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन् । चार समूहमा विभाजित १६ टोली सम्मिलित यस विश्‍वकपमा नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । 

नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो । ऐतिहासिक विश्‍वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्‍वकप यात्रा सुरूवात गर्न चाहनेछ । यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ ।

समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई एक जितले मात्र पनि सुपर सिक्समा पुर्‍याउन सक्छ । बंगलादेशविरूद्ध जित निकाल्न सके नेपालको सुपर सिक्स सम्भावना बलियो बन्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।