चन्द्र बहादुर थापा
लुम्बिनी प्रदेश राष्ट्रिय गौरवका असफल आयोजनाहरु मध्येमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) पनि दरिन पुगेको छ भन्दा अतियोक्ति नहोला । दुई वर्षभित्र समुद्रमा पुल र बाटो बनाउन सक्ने अरु देशको परिदृश्य हेर्दा हाम्रो मुलुकमा भने एउटा विकास हेर्न एक जुग पर्खनु पर्ने विद्यमान नेपाली विकासको रोल मोडलको अभ्यास यो विमानस्थलले पनि भोगेको देखिन्छ । सम्भवतः अन्य देशहरुका लागि पनि संचालनको लागि एउटा जुग नै पर्खनु परेको बिरलैको उदाहरण यो GBIA हुन सक्दछ ।
एउटा पुस्ताको सपना र सम्भावना, अर्को पुस्तामा विकास र अर्को पुस्ताको प्रतिफलको कछुवा चालमा पुस्तान्तरण हुँदै अब पछिल्लो पटक भने यो आयोजना व्यावसायिक संचालनको चरणमा विचरण गर्न खोजेको भान हुन्छ । करिव ८०० मिटरको भिजिविलिटीमा जस्तोसुकै जहाज पनि अवतरण हुन सक्ने भू-उपग्रह प्रणालीमा आधारित आरएनपी-एआर प्रविधिको जडानले अब यो विमानस्थलको न्युनतम आधारभूत आवश्यकता पूरा भएको देखिन्छ । अन्य कुराहरुले प्रभावित नगरेको र हाम्रो प्रयास भएको खण्डमा हवाई मार्ग भई नेपाल भित्रने विदेशी पर्यटकको आवागमनमा विकेन्द्रीकरण गर्न यो विमानस्थलले सघाउ पुर्याउने देखिन्छ ।
यो विमानस्थलको सपनामा अर्बौ लगानी गरी अहिले परिस्थितिले थिचिएका र भाग्यबाट मिचिएकाहरुका लागि मात्र हैन, आम नेपालीहरुको भाग्य र भविष्यसँग पनि यो विमानस्थल सम्बन्धित हुन पुगेको छ । त्यसैले यसको दिगो व्यावसयिक सञ्चालन र यसबाट प्राप्त उपलब्धिहरुको न्यायोचित वितरण नै हामी आम जनताको चासोको विषय बन्नु पर्दछ ।
राष्ट्रिय गौरवको आयोजना जस्तो महत्वपूर्ण आयोजना भएर पनि हालसम्म सञ्चालन नहुनुमा सरकारी रवैया नै प्रमुख जिम्मेवार छ । आयोजनाको फितलो परियोजना विश्लेषण, कार्य प्रगतिमा ढिलासुस्ती, विमानस्थल संचालनमा सरकारी नीतिको अनिश्चितता, पर्याप्त एयर रुटको अभाव आदि प्रमुख समस्याहरु बारे आंकलन नगरी राज्यलाई ठूलो व्ययभार हुने गरी निर्माण गरिनुले कतै ठूलो कमिसनको प्रभाव त होइन ? भन्ने शंकाको सुविधाबाट पनि जारी ढिलासुस्तीलाई हेर्न सकिन्छ ।
निर्माण सम्पन्न भैसकेको लामो समयसम्म पनि सञ्चालन हुँदै र रोकिँदै आइरहेको यो विमानस्थलको लागि आवश्यक आईएलएस प्रविधिवारे भारतसँग दुई देशीय सम्झौता हुननसक्नु, निर्माण सम्पन्न भैसकेका टर्मिनल भवनहरुको क्षमताको अपर्याप्तता, सरकारको विद्यमान हवाई नीति, प्रविधिमैत्री अध्यागन व्यवस्थापनमा असक्षमता, प्रविधिमैत्री भिसा नीतिको अभाव आदि पनि यस विमानस्थल सञ्चालनका अवयवहरु हुन् ।
वि.स.२०७९ जेठ २ गते बुद्ध पूर्णिमादेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि खुला गरिएदेखि आन्तरिक उडान बाहेक २०८१ पुस मसान्तसम्म कुल ७२९ अन्तर्राष्ट्रिय उडानहरु यस विमानस्थलबाट भएका छन् । सो उडानहरु मार्फत हालसम्म कुल ४५,५७३ (आगमनतर्फ २१, २७९ जना र प्रस्थान तर्फ २४,२९४) यात्रुहरुले यो विमानस्थल प्रयोग गरेको देखिन्छ । करिब १० महिना उडान बन्द भई पुनः २०८१ कार्तिक १८ गतेदेखि सञ्चालित यस विमानस्थलमा पछिल्लो पटक ५ वटा बिमान कम्पनीहरुले व्यावसायिक उडान शुरु गरी २२९ उडान मार्फत कुल ८,१५७ (४,३८३ आगमन र ३,७७४ प्रस्थान) जनाले यात्रा गरेकोमा ८,४६२ जनाले ट्रान्जिट सुविधा लिएको देखिन्छ । जसमा ७४७ विदेशी पर्यटकहरु रहेको तथ्याङ्ग देखिन्छ । यो तथ्याङ्गले विमानस्थलप्रति हाम्रो सम्भावित भविष्यको प्रतिविम्व गराउँछ । त्यसैले यसको सञ्चालनमा सरोकारवाला निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि प्रमुख अभिभावकीय अभिभारा सरकारको नै देखिन्छ ।
विमानस्थल सञ्चालनको पदीय जिम्मेवारीमा रहनेहरुको जवाफदेहीबिहीन रवैयाको क्रमभङ्गतामा अबदेखि जनताले आफ्नो प्रभावकारी साथ, सहयोग, सहकार्य र साझेदारीता सरकारसँग खोजेका छन् । त्यसैले उनीहरुको शासकीय सक्षमताको न्यायपूर्ण परीक्षण अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन हुनु र नहुनुसँग प्रत्यक्ष सम्बन्धित रहेर आम जनताले अवश्य गर्ने नै छन् । त्यसैले तपशिलका केही प्रमुख विषयहरुप्रति सरकारले अभिभावकीय अभिभारालाई सम्बोधन गरी यो विमानस्थलको दिगो व्यावसायिक सञ्चालनमा आम जनताले देखेको भविष्यप्रति न्याय गर्नु अत्यावश्यक छ ।
१. सरकारको हवाई नीति
सरकारले विद्यमान हवाई नीतिमा समयानुकुल परिमार्जन गरी गौतमबुद्ध विमानस्थलको व्यावसायिक प्रयोगमा टेवा दिन सक्नु पर्दछ । दिन प्रतिदिन साँघुरो बन्दै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक समस्या सम्बोधन गर्न ठूला र वाइड बडीका जहाजहरु वाहेक छिमेकी मित्रराष्ट्र चीन, बौद्धमार्गी मुलुक र श्रमिक गन्तव्य अरव मुलुकका विशेषत न्यारो बडीका बजेट एयरलाइन्सहरु भैरहवा र पोखरा बेस गर्न गराउने तवरबाट हवाई नीतिमा परिमार्जन गर्न सकिन्छ । विश्वकै एक तिहाई जनसंख्या रहेको सीमाना जोडिएको मित्रराष्ट्र भारत र चीनको शहरहरु पनि हाम्रा लागि सबैभन्दा उपयुक्त गन्तव्य बन्न सक्छन् ।
भैरहवालाई Touch Down गरेर मात्र चल्नेभन्दा पनि Direct Connectivity जहाजहरुलाई प्राथमिकतामा राखिनु पर्दछ । यसले हवाई मार्ग भई नेपाल भित्रने विदेशी पर्यटकहरुको पनि समानुपातिक वितरण हुन जाने, विदेशी नागरिकको नाममा हुँदै आइरहेको आन्तरिक हवाई भाडा विभेदीकरण अभ्यास न्युन हुने, विदेशी पर्यटकहरुलाई मोफसलका पर्यटकीय गन्तव्यहरुमा जान सहज हुनेहुँदा पनि यस्तो Direct Connectivity उडान तुलनात्मक रुपमा बढी फलदायक हुने देखिन्छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको कम्तिमा एउटा जहाज भैरहवा र पोखरामा नै वेस गराएर चलाउन पहल गरिनु पर्दछ । डण्डा चलाएरै विदेशी अन्तर्राष्ट्रिय विमानहरुलाई राजधानी बाहिर जान उद्देलित गर्ने बाध्यकारी अभ्यास हाम्रो लागि प्रत्युत्पादक हुन सक्ने हुँदा राष्ट्रिय हवाई नीति मार्फत काडमाडौंको बढ्दो एयर ट्राफिक समस्यालाई सम्बोधन गर्नै पर्दछ । वेला वेला अत्यधिक महङ्गो हवाई भाडाको मार हामीले भोग्दै आएका छौ । हवाई भाडा प्रतिस्पर्धात्मक र नियमन गराउन भूमिका खेल्ने भनेको स्वदेशी वायु सेवा कम्पनीले हो । तर युरोपेली आकाशमा प्रतिबन्धित हाम्रो राष्ट्रिय ध्वजावाहकको विडम्वनापूर्ण अवस्था छ । जहाजको संख्या अभाव त छदैछ । जहाज भएर मात्र पनि हुँदैन, अन्य मुलुकले दिने Traffic Rights, विमानस्थलले प्रदान गर्ने उडान Slot, उपयुक्त Root, Aircraft Modeling. प्रतिस्पर्धी बजारमा उत्रन सक्ने रणनीतिक कार्ययोजना र क्षमता, अन्य एयरलाइन्सहरुसँग Alliance Code Sharing गर्न सक्ने अवस्था लगायतका विषयहरुको पनि गम्भीर विश्लेषण गरिनु पर्दछ । यद्दपि सरकारले fifth air trallic freedom rights दिने नीतिगत निर्णयले यस विमानस्थलबाट कार्गो उडान र Transit उडानलाई समेत अझ प्रोत्साहन गर्नेछ । विशेष गरी Winter सिजनमा अन्तर्राष्ट्रिय उडान होल्ड, डाइभर्ट हुनु सक्ने अवस्थालाई समेत हामीले ध्यान दिएर विद्यमान हवाई नीतिलाई थप परिस्कृत र प्रविधिमैत्री बनाउनुपर्ने देखिन्छ ।
२. प्रवर्द्धनात्मक अभियान, Costomized Tour Package
नेपालका पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार प्रसार र व्यावसायिक प्रवर्द्धनको एकाधिकारप्राप्त नेपाल पर्यटन वोर्डको केन्द्रिकृत भूमिका हाम्रा लागि पर्याप्त छैनन् । संघीय संरचनाको मोडेल अनुरुप पर्यटन बोर्डलाई प्रदेश स्तरमा पुनःसंरचनाको आधार तयार पारी सोही निकाय मार्फत मोफसलका सरोकारवाला निजी क्षेत्र, लक्षित समूह केन्द्रित क्षमता र पहुंच अभिवृद्धिका अवसर प्रदान गरिनु पर्दछ ।
गन्तव्य प्रवर्द्धनमा सरकार र निजी क्षेत्रको संयुक्त सहभागितात्मक साझेदारीले नेपाली व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै विदेशस्थित सम्वद्ध व्यवसायीहरुको विश्वास जित्न सहज हुन्छ । यस्तो अभियान विशेषत वौद्धमार्गी मुलुकहरु थाइलैण्ड, म्यानमार, कम्बोडिया, भियतनाम, श्रीलंका जस्ता मुलुकहरुमा हुने अन्तर्राष्ट्रिय पर्यटन मेला, गोष्ठी, सेमिनार, B@B Session, रोड शो, FAM Trip हरुमा सहभागी भएर सादारी गर्न सकिन्छ ।
विश्वकै एक तिहाई जनसंख्या रहेको सीमावर्ती मित्रराष्ट्र भारत र चीनको सहरहरुमा पनि नेपालका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार र बजारीकरण गर्ने’ उपयुक्त थलो हुन सक्दछन् । त्यसैले पर्यटन सम्बद्ध संघ संस्थाहरुले पनि विदेशी पर्यटक लक्षित Costomized Tour प्याकेज भार्फत नेपालको Destination Promotion गरी पर्यटकको आवागमनमा अभिप्रेरित गर्ने र उनीहरुको बसाइ लम्ब्याउन पर्यटन गतिविधिमा केन्द्रित हुनु अत्यावश्यक छ । यस्तो प्रवर्द्धनात्मक अभियान र गतिविधिहरुले गौतमबुद्ध विमानस्थलको व्यावसायिक प्रयोगमा बढोत्तरी गर्न गराउन सघाउ पुग्दछ ।
लुम्बिनी विकास कोषले लुम्बिनीभित्र कंकीटका भौतिक संरचना निर्माण गर्ने मात्र हैन, बौद्ध दर्शनसंग सम्बन्धित प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गरेर पनि पर्यटक आगमनमा अभिवृद्धि गर्न गराउन सक्दछ । कोपले पनि निजि क्षेत्र सम्मिलित छुट्टै साझेदारीमूलक प्रवद्र्धनात्मक कार्यक्रम अगाडी बढाएर यस विमानस्थलको प्रयोग गराउन सक्नु पर्दछ । प्रदेशभित्रका स्थानिय निकाय र प्रदेश सरकारले समेत विदेश स्थित समकक्षी सरकारहरुसंग भगिनी सम्बन्ध स्थापना गरी तत् स्तरमा सभ्यता संस्कृति, भाइचारा, परस्पर आपसी सहयोग र प्रवद्र्धनात्मक गतिविधिहरु संचालन गरेर पनि यो विमानस्थल प्रयोगमा योगदान दिन सक्नु पर्दछ ।
३ सहज र सुविधाजनक कनेक्टिभिटीमा सुधार
सहज र सुविधाजनक कनेक्टिभिटी पर्यटन उद्योगको प्रमुख आधार हो । यसको अभावमा पर्यटकीय गतिविधि शून्य हुन्छ । त्यसैले गौतमवुद्ध विमानस्थललाई प्रस्थान र गन्तव्यको प्रमुख आधार बिन्दु मानेर सहज र सुविधाजनक यातायात कनेक्टिभिटीको सुविधा हुनु अत्यावश्यक छ । यस विमानस्थलसम्म आवतजावत गर्न देशका प्रमुख शहरहरुसम्म अन्तर प्रदेश हवाई तथा स्थलमार्ग सहज संचालनमा पहल गर्नु जरुरी छ । भैरहवा काठमाण्डौं र काठमाण्डौं–भैरहवा मात्र हवाई उडानको विद्यमान लामो अभ्यासमा परिमार्जन जरुरी छ ।
यसको लागि सबै डोमंष्टक एयरलाइन्स कम्पनीका कम्तिमा एउटा जहाजबाट दैनिक अन्तर प्रदेश हवाइ उडान गर्न गराउन सक्नु पर्दछ । यसको लागि उनीहरुलाई निश्चित अवधिका लागि प्रोत्साहन सुविधाका प्याकेज घोषणा गरी अन्तर प्रदेश कनेक्टिभिटी बाध्यकारी वनाइनु जरुरी छ । साथै, एयलाइन्स कम्पनीहरुले पनि सामाजिक उत्तरदायित्वलाई शिरोपर गरेर अन्तर प्रदेश एयर कनेक्टिभिटी मार्फत यस विमानस्थलको उपयोगमा जोड दिन सक्नु पर्दछ । स्थलमार्ग भई विमानस्थलसम्म आवतजावत गर्न देशका प्रमुख शहरहरुवाट आवश्यकता अनुसारका दैनिक सीधा बस सेवा संचालन गर्न सरोकारवाला निकाय, संघ संस्थाहरुसँग पहलकदमी भूमिका जरुरी देखिन्छ ।
विमानस्थललाई यात्रुमैत्री बनाई यात्राको प्रस्थान तथा गन्तव्य विन्दू यसै विमानस्थललाई बनाउन सक्नु पर्दछ । सन् २०१९ तिर चीनको सियान एयरपोर्ट प्रयोगकर्ता यात्रुलाई वेइजिङ्ग–सियान आवतजावत गर्ने रेल सेवा र होटल सुविधा त्यहांका सरकारले निःशुल्क घोषणा गरे जस्तै भए पनि हामीले पनि यस विमानस्थलको प्रयोगकता यात्रु आकर्षण गर्न गराउन सक्नु पर्दछ । लामो समयसम्म पनि राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति कार्यमा भएको ढिलासुस्तीले पारेको असहज आवागमन समस्यालाई सरकारले यथाशीघ्र सम्बोधन गर्नु अत्यावश्यक छ ।
४. भौतिक पूर्वाधार, नीति र आधारभूत सरकारी निकायहरुको स्थापना
हवाई कम्पनीको लागि सवैभन्दा आकर्षित तत्व भनेको उसले पाउने विजनेस हो अर्थात यात्रुको लोड नै हो । यात्रुको अभावमा सरकारको घोषित नीतिले मात्र यस विमानस्थलको व्यावसायिक उडानको सुनिश्चितता हुन सक्दैन । तर पनि सरकारले यस विमानस्थलको व्यावसायिक संचालनका लागि यात्रु सेवा, ल्यान्डिङ पार्किङ, Navigation, पर्यटन शुल्कमा शतप्रतिशत छुट, ग्राउण्ड हैण्डलिङ्गमा ७५ प्रतिशत शुल्क छुट र हवाई इन्धनमा १ किलो लिटरमा १०० डलर छुट आदि जस्ता हवाई कम्पनीमैत्री स्वागतयोग्य नीति अवलम्बन गरेको छ । यसको कार्यान्वयन संगसंगै हामीले यात्रुमैत्री नीतिलाई पनि अवलम्बन गरिनु अत्यन्त जरुरी छ ।
यो विमानस्थल प्रयोगकतां यात्रु बढाउन आवश्यकतानुसार वैदेशिक श्रमिक लक्षित आधारभूत सरकारी निकायहरु भैरहवा, बुटवल जस्ता मोफसलका शहरहरुमा स्थापना गरी सहज सेवा दिन सक्नु पर्दछ । उनीहरुको लागि चाहिने मेनपावर कम्पनीको स्थापना, भिसा प्रोसेसिङ्ग सेन्टर, विशेषत गाम्का केन्द्रित मेडिकल प्रयोगशालाको प्रबन्ध, सबै प्रकारका श्रम स्वीकृति दिन सक्ने श्रम कार्यालय, हवाई कम्पनीका अनिवार्य स्थानिय सम्पर्क अफिस आदि स्थापना गरिनु पदछ । साथै, हवाई टिकटमा लाग्दै आएको GST र भ्याट जस्ता नीतिले पनि नेपाली आकाश नेपाली व्यवसायीहरुका लागि महङ्गो बनाएको कुरा सरकारले हेक्का राख्न सक्नुपर्दछ ।
भारतीय विमानस्थल हुँदै यात्रा गर्ने नेपाली यात्रुका लागि श्रम स्वीकृति भएको खण्डमा एनओसी नचाहिने निर्णय नेपालले गरिसकेको हुदा हामीले पनि भारतीय नागरिकलाई नेपालका विमानस्थल प्रयोग गर्न एनओसी नचाहिने व्यवस्था गर्न भारत सरकारलाई आग्रह गर्न सके लाभदायक हुनेछ ।
साथै, स्थलमार्ग भई सबैभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रने विद्यमान वेलहियास्थित अध्यागमन कार्यालयको क्षमता अभिवृद्धि र प्रविधिमैत्री स्तरोन्नति, विमानस्थल परिसरमै सुविधासम्पन्न क्वारेनटाइन परीक्षण प्रयोगशालाको स्थापना, पर्यटकका लागि Online Visa Application को व्यवस्था, वुद्धिस्ट मुलुकहरुका लागि Visa Fee मा निःशुल्क वा छुट दिने नीति अवलम्वन गरी प्रयोगकर्ता यात्रु वढाउन सकिन्छ । अन्त्यमा, विमानस्थल वनेर मात्र हुदैन, Aviation को महत्वपूर्ण क्षेत्र भनेको एयरलाइन्स र विमानस्थलको प्रभावकारी अपरेसन पनि हो । यसको व्यवस्थापन धेरै नै कम्प्लेक्स छ भन्ने कुरा हाम्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्थाले सिद्ध गरिसकेको छ ।
पर्याप्त एयलाइन्सहरु हुँदाहुँदै पनि विमानस्थल सञ्चालन गर्ने पूर्व निर्धारित नीति, योजना, सरकारको समन्वयकारी र नियामक भूमिका नभएसम्म भोलिका दिनमा पनि बिजनेस पाउन कठिन हुन्छ । त्यसैले Aviation Diplomacy, Destination Promotion, Domestic Flight को Accessibility. Customer Service and Satisfaction मा पनि पर्याप्त ज्ञान, सुझबुझपूर्ण कदमले मात्र गौतमबुद्ध विमानस्थलवाट Comparative Advantage लिन सकिन्छ । तब मात्र यसको दिगो व्यावसायिक संचालन व्यवस्थापन संभव हुन्छ । अतः विमानस्थल निर्माणपछिको अन्यौलपूर्ण भ्रान्ति र अहिलेसम्मको हाम्रो नियतिका अनुभवसिद्ध यथार्थताको आधारमा भन्ने हो भने पनि यो विमानस्थलको दिगो व्यावसायिक संचालनको वातावरण बनाउने भूमिका सरकार र जिम्मेवार निकायहरुमा नै प्रमुख रहन्छ ।
पथभ्रष्टता, यथास्थितिवाद र जवाफदेहीविहिन अकर्मयताको सरकारी निरन्तरताले आम जनताको भविष्यमाथि यसले न्याय पटक्कै गर्ने छैन । त्यसैले यां विमानस्थलको दिगो संचालनका लागि सरकारको यथाशीघ्र अभिभावकीय जवाफदेहीपूर्ण सजगता, सहजता, सतंकता र सार्थक अग्रसरता आजको प्रमुख आवश्यकता हो । अन्यथा यथास्थितिवादको विद्यमानता जारी रहे जनताको आकोशको ज्वालाले सवै कुरा एक दिन अवश्य व्यवथित गर्ने नै छ । अस्तु । धन्यवाद । (लेखक नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष हुन् । )
प्रतिक्रिया