ताजा अपडेट »
EXCLUSIVE NEWS:

पूर्व पत्नीलाई अमेरिकामा सेटल गर्न धनराजको ध्यान, नेपालमा फरक व्यक्तिको नाममा लगानी

शुक्रबार, ०४ माघ २०८१, ०७ : ४२
2.57K Shares
शुक्रबार, ०४ माघ २०८१
2.57K Shares

काठमाण्डौं । सहकारीको रकम अपचलनमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ  पत्नी ज्योति गुरुङलाई कागजी रुपमा सम्बन्धबिच्छेद  गरेको देखाएर उन्मुक्ती लिन उद्दत देखिएका छन् । कागजी रुपमा छोडपत्र गरेको देखाएपनि पत्नी गुरुङसँग उनको नियमित सम्पर्क रहने गरेको तथ्यहरुले देखाएको छ । ललितपूर पाटनको कुम्भेश्वरस्थित मितेरी बचत तथा रिण सहकारी संस्थाको १३ करोड रकम अपचलन प्रकरणमा धनराज दम्पतीको संलग्नता जोडिएको थियो । अपचलनको घटना बाहिरिएसँगैं धनराजले पत्नी ज्योतिसँग सम्बन्धबिच्छेद भैसकेको उल्लेख गर्दै त्यस रकम अपचलनमा आफ्नो संलग्नता नरहेको बताउँदैं आएका छन् । 

ज्योतिले सो सहकारीबाट कानुन विपरित ऋण समेत लिएकी थिइन् । सो ऋण धनराजले सम्बन्ध बिच्छेद गरेपछि गत बैशाख र जेठमा गरी तिरेका थिए । सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको बताउने र उता, पत्नी गुरुङको अमेरिकामा व्यवस्थापनका लागि धनराज सक्रिय रहेको पाईएको छ । ज्योति पहिलो पटक श्रीमान् काग्रेस नेता गुरुङसँग २०२० मा  अमेरिका गएकी थिइन् ।  नेता गुरुङ एनआरएनए अमेरिकाले टेक्ससको डलासमा आयोजना गरेको युवा सम्मेलनमा पत्नी सहित सहभागि भएका थिए । ज्योति २०२१ फेब्रुअरी २७ देखि अमेरिका बस्दै आएकी छन् । 

गुरुङ कानुन मन्त्री रहेको ३ मे २०२३ देखि ४ मार्च २०२४ को  अवधिमा  मात्रैं ३ पटक अमेरिका गएका छन् । एनआरएनए अमेरिकाको शिकागोमा भएको साधारण सभामा सहभागिताका लागि आउने देखि छोरी अदिश्री गुरुङलाई अमेरिकामा आमासँग छोड्नका लागि पनि नेता गुरुङ अमेरिका गएको देखिएको छ । मन्त्री भएको समयमा आफ्नो पदको दुरुपयोग गरी नेता गुरुङले उनको जिम्मेवारीसँग नजोडिएका पात्र राजु केसीलाई अमेरिकाको लागि भिसा लगाउने काम पनि गरेको भेटिएको छ । 

छोरी अदिश्रीको पासपोर्ट बनाएको मिति र उनले अमेरिकी भिसा पाएको मिति हेर्ने हो भने मन्त्री पदको दुरुपयोग नगरिकन सिधैं भिसा लगाउने अवस्था देखिदैंन । १५ जुन २००९ मा जन्मिएकी अदिश्रीले १७ सेप्टेम्बर २०२३ मा पासपोर्ट बनाएकी छन् भने  १८ अक्टुबर २०२३ मा अमेरिकाको भिसा प्राप्त गरेकी छन् । धनराज मन्त्री रहेको अवस्थामा स्वकीय सचिव प्रेम केसी, राजु केसी र छोरी अदिश्रीसँग अमेरिकाको भ्रमणमा ३ पटक गएको देखिन्छ । कहिले राजु गएका छैनन् भने कहिले प्रेम त कहिले छोरी अदिश्री गएकी छैनन् । तर पछिल्लो पटक १५ अप्रिल २०२४ मा अमेरिका जाँदा धनराजले छोरी अदिश्रीलाई भने आमाको जिम्मा लगाएको देखिएको छ । अमेरिकामा छोरीलाई लगेर छोड्नु अघि धनराजले छोरीलाई हेरचाह गर्नका लागि सासु धान्ती गुरुङलाई घरमा राखेका थिए, अमेरिका जानु अघि सासु आमालाई उनले पोखरा पठाएका थिए । धनराज र ज्योतिका छोरा भने अष्ट्रेलियामा छन्, छोराको छिट्टैं विवाह हुन लागेको छ । अमेरिकामा श्रीमती र छोरी, अष्ट्रेलियामा छोरा सेटिङ मिलाएका धनराज आफूलाई पानी माथिको उभानो बताउन उद्दत छन् । 

पत्नीसँग सुरुमा आफ्नै मोबाईल नम्बरबाट कुराकानी गर्ने धनराजले पछि सासु आमा अनि त्यसपछि आफ्नो ड्राईभरको नम्बरबाट सम्पर्कमा रहने गरेको स्रोतले बताएको छ । धनराजको आर्थिक पाटो हेर्दै आएका राजु पनि सम्पर्कको माध्यम बन्ने गरेका छन्, कहिले काही प्रेमले पनि त्यो भूमिका वहन गर्ने गरेको स्रोतले बताएको छ । राजु जग्गा कारोबार लगायतमा संलग्न छन् । उनी समय समयमा अमेरिका जाने गरिरहेका छन् । अर्का व्यक्ति प्रेम केसी भने हाल अमेरिकामै रहेका छन् । स्याङ्जाका धनराजको स्वकीय सचिवदेखि हर्ताकर्ताको रुपमा रुकुमका राजु र प्रेम रहेका छन् । कतिपय कारोबार नेपालमा रुपिया लिने र अमेरिकामा डलर दिने गरि पनि भैरहेको स्रोतले बताएको छ । 

पछिल्लो तीन पटक अमेरिका जाने क्रममा धनराज कहिले लस एन्जलस त कहिले सानफ्रान्सिस्को  उत्रिने गरेका छन् ।  अमेरिका आउँदा छोटो बसाई बसेपनि धनराज डिसी भने धाई रहने गरेको स्रोतले बताएको छ । मन्त्री धनराज उत्रिएको  सानफ्रान्सिस्कोमै ज्योति बस्दैं आएकी छन् । लस एन्जल्स उत्रिदा पनि धनराज एयरपोर्ट बाहिर नआई आन्तरिक ट्रमिनलबाट सानफ्रान्सिस्को जाने गरेको देखिएको छ । धनराज, उनका सहयोगी र छोरी अमेरिका आउँदा बालुवाटारमा रहेको जिओल्याण्ड ट्राभल एण्ड टुर्स प्रा.लि.बाट टिकट खरिद गर्ने गरेका छन्, स्रोतका अनुसार राजु त्यस ट्राभल्स कम्पनीसँग जोडिएको बताईन्छ । 

अमेरिका आएपछि कागजी प्रक्रिया मिलाउन असाईलम निवेदन दिएकी ज्योतिले अन्यसँग भने डिभि परेको बताउँदैं आएको स्रोतले बताएको छ  । उनले सुरुमा सान फ्रान्सिस्को नजिक रहेको रोहन्ट पार्कको ग्राटोन क्यासिनोमा काम गरे पनि पछिल्लो पटक उनीसँग सम्बन्धित रकम अपचलन र प्रहरीले खोजी  गरेको समाचार सामग्री आउन थालेपछि क्यासिनो व्यवस्थापनले उनलाई कामबाट निकालिदिएको बताईएको छ । उनले सेप्टेम्बरसम्म त्यहाँ काम गरेकी थिईन् । त्यस क्यासिनोमा काम गर्ने नेपालीको संख्या उल्लेख्य रहेको छ, र त्यहाँ काम गर्ने नेपालीको आफन्तका पैसा समेत त्यस मितेरी सहकारीमा डुबेको स्रोतले जनाएको छ । रकम  अपचलन भएको र त्यसमा ज्योतिको संलन्ताको घटना बाहिरिएपछि ज्योतिलाई त्यहाँ काम गर्न गाह्रो भएको बताईन्छ ।

धनराज पत्नी ज्योति मितेरी सहकारीमा कार्यरत रहेकी थिईन् । ज्योति सो सहकारीको महाप्रबन्धक थिइन् । ज्योतिको संलग्नता रहेको भनी अनुसंधान भैरहेको अपचलनको रकम मध्ये ६/७ करोड क्रिप्टोमा ज्योति बहादुर भण्डारीमार्फत  ज्योतिले लगानी गरेको स्रोतले जानकारी दिएको छ । सहकारीका पूर्व कर्मचारी ज्योति बहादुर र ज्योतिले पटक पटक क्रिप्टोमा पैसा राख्ने र झिक्ने गर्दै आएको भएपनि ठूलो रकम क्रिप्टोमा फसेपछि ज्योति बहादुरले पनि धोका दिएपछि ज्योति गुरुङले सो रकम सहकारीमा जम्मा गर्न नसकेपछि अपचलनको विषय बाहिर आएको स्रोतले जनाएको छ । ६/७ करोड क्रिप्टोमा फसेपनि अपचलन गरिएको अरु रकम विभिन्न तरिकाले नेपाल र अमेरिकामा लगानी भैरहेको स्रोतले जनाएको छ । ज्योति, ज्योति बहादुर, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाको रकम अपचलनमा संलग्नता रहेको अनुसंधानका क्रममा खुलेको थियो ।  अहिले ज्योतिले आफ्नैं व्यवसाय सुरु गर्न लागेको र करिव २५ हजार डलर पर्ने गाडी समेत पूरा पेमेन्टमा खरिद गरेको बताईन्छ । 

ज्योति, धनराज र प्रज्ञा कनेक्सन 

jyoti and pragya conection
अमेरिका गैसकेपछि ज्योति प्रज्ञा न्यौपानेको कनेक्सनमा रहेको भेटिएको छ । प्रज्ञा र ज्योति बीच काठमाण्डौंदेखि चिनजान रहेको थियो । प्रज्ञा काठमाण्डौं बसेर पढ्दा देखिनैं दुई जना नजिक रहेको स्रोतले बताएको छ । मोरङकी स्थायी घर भएकी प्रज्ञा बस्ने अमेरिकाको रोहनट पार्कको घर ठेगाना नैं धनराज र ज्योतिले प्रयोग गर्दै आएको थिए । ज्योति सानफ्रान्सिस्को बसेदेखिनैं प्रज्ञासँग नै नजिक रहेर काम गरिरहेकी छन् । प्रज्ञाले नै क्यासिनोमा ज्योतिलाई जागिर लगाउन मद्दत गरेकि थिईन्, प्रज्ञा त्यही क्यासिनोमा नै काम गर्थिन, प्रज्ञाले दाजु मानेकि नविन, जो क्यासिनोमा सिनियर पोष्टमा छन्, उनलाई भनेर ज्योतिलाई क्यासिनोमा जागिर लगाएकि थिईन् । 

पछिल्लो पटक प्रज्ञाको नेपाल आगमन पनि रोचक देखिएको छ । उनी पछिल्लो २ पटक नेपाल आउँदा लामो बसेकि छन् । जागिरको समेत प्रवाह नगरी उनी २०२१ को डिसेम्बरमा नेपाल आएर २०२२ को जुन ७ मा अमेरिका फर्केकी छन् भने २३ नोमेम्भर २०२३ मा आएर मार्च ६, २०२४ मा अमेरिका फर्केकी छन् । अमेरिकाकी स्थायी बसोबास अनुमती प्राप्त प्रज्ञालाई ज्योतिले आफ्नो रकम व्यवस्थापनका लागि नेपाल पठाएको हुन सक्ने स्रोतले जनाएको छ । प्रज्ञाले नेपाल आएको समयमा विभिन्न हाउजिङ तथा जग्गाहरुमा लगानी गरेको स्रोतले जानकारी गराएको छ । साथैं हाईड्रोमा समेत उनले लगानी लगाएकि छन् । प्रज्ञाका पती अमेरिकामै छन्, उनको एक छोरी छ र उनको अधिकतम आफन्तहरु नेपालमै रहेका छन्, अमेरिकामा रहेका केही आफन्तमार्फत पनि आर्थिक कारोवार गरिएको हुन सक्ने स्रोतले बताएको छ । 

प्रज्ञाले आफ्नो आफन्तको अमेरिकाको ऋणसमेत तिरिदिएको स्रोतले जनाएको छ । ज्योतिले नेपालमा आफ्नो माईत तर्फवाट सदस्यहरुसँग प्रज्ञाको कनेक्सन गरादिएको हुन सक्ने स्रोतले जनाएको छ । अमेरिका गईसकेपछि प्रज्ञा र ज्योति झन् नजिक बनेको बनेका छन् । स्थानीय राजेन्द्रको छोरीको स्वीट सिक्टिन देखि लिएर स्थानीय विवाह पार्टीदेखि लिएर वर्थडे पाटी सम्म उनीहरु सगैं देखिएका छन् । सपिङ गर्न पनि उनीहरुसँग सँगै जाने गरेका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।