देवदह । रुपन्देहीको देवदहमा नगरपालिका स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे ।
आगामी शनिबारसम्म संचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरुले ४२ वटा ईभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तरगत एथ्लेक्टिसतर्फ २६ ईभेन्ट, भलिबलतर्फ २ वटा ईभेन्ट, कवड्डी तर्फ २ वटा ईभेन्ट र कराँते तर्फ १२ वटा ईभेन्ट हुने छन । सोही अवसरमा गत वर्षको विजेता विद्यालय देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिने उल्लेख गरे । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । उहाले खेलकुदको विकासको लागि खेलाडीलाई वातावरणसँगै तालिमको आयोजना गर्न आवश्यक रहेकोमा उल्लेख गरे । उहाले पछिल्लो समय खेलकुदको महत्व बढ्दै गएको बताउँदै नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई पदक जित्न सफल भएको उल्लेख गरे । उनले खेलाडीहरु राष्ट्रिय गहँना भएकोले विद्यालय स्तरबाट उत्पादित खेलाडीको उचित संरक्षण गर्न स्थानीय तहले भूमिका खेल्नु पर्नेमा जोड दिए ।
देवदहका नगर प्रमुख ध्रुवप्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरे । उनले खेलकुदको विकासको लागि भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउँदै राष्ट्रिपति रनिङ्ग शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने बताए । देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।
प्रतिक्रिया