ताजा अपडेट »

भैरहवा भन्सार राजश्व संकलनमा असफल हुने संकेत, ६ महिनामा ४२ प्रतिशत मात्रै

विहीबार, ०३ माघ २०८१, १७ : ०१
396 Shares
विहीबार, ०३ माघ २०८१
396 Shares

भैरहवा । भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्षमा पनि विगतमा जस्तै लक्ष्य भटाउन नसक्ने देखिएको छ । कार्यालयले निर्धारित लक्ष्य अनुसार आधा वर्षको समाप्तिमा ४२ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ । 

कार्यालयलय २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख  रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ४२ प्रतिशत मात्रै हो । भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १ खर्ब ९ अर्व ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।  ‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौं’-प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भने,  ‘तर निराश हुने गरी राजस्व संकलन घटेको छैन ।’ गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष भन्सार राजस्व संकलन बढी भएको उनको दाबी छ ।

रेग्मीका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्व १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत थियो भने अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस वर्ष लक्ष्य पनि बढी छ । कार्यालयले साउनदेखि पुससम्मको राजस्व संकलन औसतमा ८० प्रतिशत माथि रहेको बताएको छ । 

कार्यालयले साउनमा ८३ दशमलव ५३ प्रतिशत, भदौमा ९० दशमलव ५ प्रतिशत, असोजमा १ सय दशमलव ३९ प्रतिशत,  कार्तिकमा  ८३ दशमलव १७ , मंसिरमा ८२ दशमलव १७  र  पुसमा ८० दशमलव ६२ प्रतिशत राजस्व संकलन गरेको हो । यो कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार राजस्व संकलन घटेकोमा चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भइरहेको छ ।  ‘शतप्रतिशत राजस्व संकलन नभए पनि औसतमा ८० प्रतिशतमाथि छ र यो सन्तोषजनक हो,’-रेग्मीले भने । ‘भन्सार विभागले दिएको लक्ष्यअनुसार संकलन गर्न नसकेको हो, तर विगतका वर्षभन्दा सुधार गरेका छौंं’ उनले भने, ‘समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्यभन्दा हामीले सन्तोषजनक संकलन गरेका छौं ।’ 

२०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शिर्षकका बिलासिताका विभिन्न वस्तुहरुको आयातमा अनिवार्य प्रतितपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शिर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व संकलन खुम्चिन गएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको  ६३ दशमलव २४ प्रतिशत रावश्व संकलन गरेको थियो ।

भन्सार कार्यालयका अनुसार बेलहिया नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार, भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्यास रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।