ताजा अपडेट »

पुसमै पाक्यो ‘चैते काफल’

विहीबार, ०३ माघ २०८१, १० : १०
144 Shares
विहीबार, ०३ माघ २०८१
144 Shares

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ । तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखाका अधिकारीले यसलाई जलवायु परिवर्तनको असर भनेका छन् ।

स्थानीय प्रवीर पुनले भनेका छन्, ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन ।’ केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ । यस वर्ष पुसमै काफल चाख्न पाएको पुनले जानकारी दिए । उनका अनुसार पुसको तेस्रो हप्तादेखि नै काफल पाक्न थालेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको बताएका छन् । उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उनको भनाइ छ । ‘यस वर्ष १० डिग्रीभन्दा कम तापक्रम नै भएन’, उनले रासससँग भनेका छन्, ‘यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।’

बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।