ताजा अपडेट »

कर्मशील चिकित्सकको जीवन्त कथा : मर्नु अघिसम्म बिरामी जाँच्ने इच्छा  !

विहीबार, ०३ माघ २०८१, ०७ : ५१
1.08K Shares
विहीबार, ०३ माघ २०८१
1.08K Shares

बुटवल निवासी डा.कृष्णबहादुर श्रेष्ठको पुरानो घर काठमाडौं फर्पिङ्गमा छ । उनी किसानका छोरा हुन् । उनका बाबाआमा साक्षरमात्र थिए । खेतीकिसानी गरेरै उनलाई बोर्डिङ्गमा पढाए । २०२७ सालमा कृष्णले एसएलसी उत्तीर्ण गरे । छोरालाई कहाँ पढाएर के हुन्छ केही थाहा थिएन उनका बाबाआमालाई । त्यहि भएर कृष्णले आफन्त पर्ने अंकलसँग सोधे–के पढ्दा राम्रो होला ? प्रायः नेवार समुदायहरु व्यापार गर्ने भएकैले होला उनका अंकलले आईकम पढ्न सुझाए । 

कृष्णले मन नलगाई नलगाई भएपनि आईकममा अर्थशास्त्र, विजनेश गणित र एकाउण्ट पढे । पछि उनले फेरि आइएड् पढे । राम्रो नम्बर ल्याए । अभ्यास शिक्षणमा राम्रोसँग आफ्नो क्षमता प्रदर्शन गरे । तर उनको मनमा सानैदेखि विज्ञान पढ्ने रहर थियो । सानोमा शरीरभरि घाउ, खटिरा आउने भएकोले आफ्नै ठाउँको स्वास्थ्यकर्मीले पेन्सिलिन सूई लगाएर निको बनाएको अनुभव थियो कृष्णलाई । त्यही देखेपछि उनलाई  आफूमा सुई लगाउने डाक्टर बन्ने दृढ अभिलाषा जागृत भयो । तर आइकम र आइएड पढेर उनी कसरी डाक्टर बन्न सक्थे र ? काशी जान कुतिको बाटो हिडेर कसरी पुगियोस्  ? 

चिकित्साशास्त्र अध्ययन संस्थान, काठमाडौंमा उनले चिकित्सा सहायक (एचए) अध्ययनका लागि प्रवेश परीक्षा दिए । एक हजार दुई सय जना परीक्षार्थीहरुमध्ये उनले १६ औं नम्बरमा प्रवेश परीक्षा उत्तीर्ण गरे । त्यतिबेला जम्मा एक सय २० जनालाई पढ्न मिल्ने सरकारी कोटा थियो । यो कुरा २०३० सालतिरको हो । त्यतिबेला एचए उत्तीर्ण हुनेले एमविविएसको प्रवेश परीक्षामा सहभागी हुन पाउँथे । प्रवेश परीक्षामा उत्तीर्ण हुनेले एमविविएस अध्ययन गर्न पाउने व्यवस्था थियो । कृष्णले एचए उत्तीर्ण गरेपछि बीरगञ्जमा रहेको सिएमए क्याम्पसमा पढाउन उतै गए । त्यतिबेला उनको मासिक तलव चार सय २८ रुपैयाँ थियो । करिव तीन वर्षजति उनले त्यतै पढाउने काम गरे । आइएड पढ्दा गरेको अभ्यास शिक्षणले उनलाई सिएमए पढाउँदा काम लाग्यो । 

dr. krishna

एमविविएस पढ्ने अवसर नमिलेसम्म उनले सेभ द चिल्ड्रेन (युके)को शाखा, धनकुटामा स्वास्थ्यसम्बन्धी कार्यक्रम हेर्ने गरी जागिर खाए । खासगरी कुपोषण, स्वास्थ्य शिक्षाका सन्दर्भमा रहेर उनले जनमुखी शिक्षा दिनुपथ्र्यो । त्यतिबेला उनले मासिक एक हजार ५४ रुपैयाँ तलब पाउँथे ।  गोराले उनलाई खुबै मन पारे । अंग्रेजीमा राम्रो दख्खल रहेको कारण कृष्ण, गोराका नजरमा परे । गोराको भाषालाई नेपालीमा रुपान्तरण र नेपाली भाषालाई अंग्रेजीमा रुपान्तरणका लागि उनले दोभाषेका रुपमा काम गरे । यो कुरा २०३६ सालतिरको हो । 

कृष्णलाई आफ्नो योग्यता र दक्षता अनुसार जागिर र तलब मिलेपनि मनमा सन्ताप थियो । मनमा एकनासै भुटभुटी थियो । एमविविएस कहिले पढ्ने होला ? कहिले डाक्टर बन्ने होला ? जागिरले उनलाई डाक्टर पढ्न सहयोग त पुग्थ्यो तर सम्भावना थिएन । त्यसैले उनी काठमाडौं नै हान्निए । धनकुटामा रहँदा नै गोराहरुले एमविविएस तयारीका लागि आवश्यक समय र सामग्री जुटाउने काममा सहयोग गरे । एमविविएस पढ्दा गोराहरुले पनि सक्दो सहयोग गरेका रहेछन् । 

२०४३ मा एमविविएस उत्तीर्ण गरेपछि उनले लोकसेवा आयोगमा ६ नम्बरमा स्थायी चिकित्सकमा नाम निकाले । त्यसपछि उनी वीर अस्पतालमा सिफारिस भए । २०४६ सालमा उनी वीर अस्पतालबाट बाग्लुङ्ग जिल्ला अस्पतालमा सरुवा भएका थिए । उनले बाग्लुङ्ग अस्पताल पुगेपछि रातोदिन नभनी काम गरे । अप्रेसन थियटरलाई व्यवस्थित रुपमा सञ्चालन गरी रातमा पेट्रोमेक्स बालेर बिरामीको अप्रेसन गरे । धेरै बिरामीको ज्यान जोगाउन सके । वीर अस्पतालमा सिकेका व्यवहारिक सीपलाई उनले बाग्लुङ्ग अस्पतालमा मज्जाले प्रयोग गरे । उनी स्वभावले कडा र व्यवहारले नरम छन् । अनुशासनले नै मान्छे अघि बढ्छ भन्ने उनको तर्क छ । त्यसैले त उनलाई धेरै मानिसहरुले कडा डाक्टर भन्छन् । 

e2402942-d45c-40d8-bcc9-0b645951956f

बाग्लुङ्ग अस्पतालमा बिरामी जाँच्दा विरामीको लाईनलाई व्यवस्थित र क्रमवद्ध राख्थे । सोही अनुसारको पालोलाई आधार मानेर विरामीलाई जाँच्ने कुराले धेरैलाई अनुशासनको पाठ सिकाएको हुनुपर्छ । उनी भन्छन्–एकपटक हातमा घाउ भएर धवलागिरी अञ्चलाधीश उपचारका लागि अस्पताल आएका रहेछन् । मेरो अनुशासन र कडापनका कारण उनी पनि लाइनमै बस्न बाध्य भएछन् । तीन सय रुपैयाँमा हर्निया र एक सय रुपैयाँमा हाइड्रोशिलको उपचार गर्ने व्यवस्था गरेको थिएँ । सहयोगीहरुले चन्दा वक्समा दान राख्थे । त्यही पैसाले स्वास्थ्यकर्मीहरुलाई ओभरटाइमको खाजा, भत्ताको व्यवस्था गर्थें । 

बाग्लुङ्ग जिल्लाका साविक ६३ गाविसमध्ये ५३ गाविसमा स्वाथ्यका कार्यक्रमहरु लिएर पुगेका डा.कृष्णले विकट गाउँहरुमा रहेका जीर्ण रोगी, विरामी र जनताहरुसँग भेटेका अनुभव रहेछन् । गाउँलेहरुले अपनाउने अस्वस्थकर बानीव्यवहार र दूषित खानेपानीका कारण उनीहरु धेरै रोगी हुने गरेको बताए । कुपोषणका कारण बालबालिकाहरु हुर्कन नसकेको समेत सुनाए । पौष्टिक आहार र सन्तुलित भोजनको अज्ञानताले गर्दा नै गाउँका मानिसहरु रोगी हुँदै गएको उतिबेलाको कहानी सुनाउन भ्याए । 

सुन्दा सामान्य तर अप्रिय एउटा ज्वलन्त घटना सुनाए । त्यो कुराले धेरैका आङ् सिरिङ्ग हुन सक्छन् । बाग्लुङ्गका विकट गाउँहरुमा स्थायी बन्ध्याकरण गर्न जाँदा एउटा गाउँको एक जना पुरुषले आफ्ना दुई सन्तान रहेको भनी भ्यासेक्टोमी गराए छन् । कुरो बुझ्दै जाँदा त उनको विहे नै भएको रहेनछ । कारण त्यतिबेला भ्यासेक्टोमी गर्दा पुरुषले पौष्टिक तत्व खानका लागि भनी एक सय रुपैयाँ नगद पाउने व्यवस्था रहेछ । सरकारले दिदो रहेछ । यो कुरा सुनेपछि मलाई अचम्म लाग्यो । गरीवी कतिसम्म रहेछ हाम्रो देशमा ? त्यो तीतो यथार्थता सुनाइरहँदा कडा डाक्टर पनि भावुक र नरम बने । 

विकट गाउँका मानिसहरु जाडोमा आगोका छेउ लागेर रात गुजार्ने, कोदोका रोटी, आलु, ऊवा र रक्सी खाँदै जीवन गुजारेको देख्दा काठमाडौंमा हुर्की, बढी, पढेका डाक्टर कृष्णलाई अनौठो नै लागेको रहेछ । आफूले विकट गाउँमा स्वास्थ्य शिविर गर्न जाँदा विहानदेखि रातिसम्म मैनटोल बालेर विरामी जाँचेको, गोठको माथिल्लो तलामा सुतेको, गाउँघरे ताजा खाना खाएर आफूलाई गाउँलेहरुकै सेवा गर्न पाउँदा आज पनि खुसी लागेको सुनाउँदै थिए । 

पूर्वाञ्चल सवारीका क्रममा २०४४ सालमा उनले धनकुटामा तत्कालीन राजा बीरेन्द्रसँग एक महिनाजति सँगै बस्ने अवसर पाएका रहेछन् । उनीसँग भलिबल खेल्दा खुबै दोस्ती बढेछ । खानपानमा पनि उस्तै मिसमास । बीरेन्द्रको शालीनता र शिष्टताले आफूलाई खिचेको डाक्टर कृष्णले सुनाए । 

२०५० सालमा एमडी गरेपछि ८४ वर्षीया बिरामी आमालाई छाडेर जागिरको सिलसिलामा उनी पोखरा जानुपर्ने बाध्यता आइलाग्यो । त्यतिबेलाका स्वास्थ्यमन्त्री डा.रामवरण यादवसँग आमा बिरामी भएको कारण जनाउँदै काठमाडौंमै सेवा गर्ने अवसरका लागि कृष्णले अनुरोध गर्दा मन्त्री यादवले भनेका थिए रे–तपाइँले आफ्नी आमालाईमात्र होइन सिङ्गो नेपाल आमाको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने भएकाले पोखरा नै जानुस् । उनी पोखरा पुगेर स्वास्थ्य सेवा दिन थालेको एक महिनामा नै आफ्नी आमाले प्राण त्यागेको कुरा सुनाइरहँदा उनी भावुक भए । डाक्टर भएपछि घरव्यवहार, चाडपर्व, आफन्त र घरपरिवार कसैलाई समय दिन नसकिने सुनाए । 

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा गरे उनले । नाक, कान र घाँटीको विशेषज्ञ चिकित्सक बनेर यही अस्पतालमा आउँदा नाक, कान र घाँटी हेर्ने छुट्टै डाक्टर पनि हुन्छन् र भन्थे रे ! यो कुरा सुन्दा पनि अचम्म लाग्ने जमाना थियो । आफूलाई डा.माईकले ईएन्टीसम्बन्धी परीक्षण र उपचारका लागि सक्दो सिकाएकोमा प्रशंसा गर्न समेत भुलेनन् । आफू बुटवलको साविक लुम्बिनी अञ्चल अस्पताल आएपछि ईएन्टी ओपीडी र अप्रेसन सेवा सञ्चालन र व्यवस्थापनका लागि अस्पताल प्रशासनसँग पापड बेल्न परेको सुनाए । 

जनआन्दोलन भाग–२ ताका ८ महिना उनी साविकको लुम्बिनी अञ्चल अस्पतालका लागि मेडिकल सुपरीटेण्डेण्ट भए । आफ्नो पालामा उनले अस्पतालमा भएका हड्ताल, तालाबन्दीलाई सहमति र सुझबुझका साथ रोकेर समाधानका बाटाहरु खोजे । अस्पताल प्रशासन र स्वास्थ्य सेवालाई चुस्तदुस्त बनाइराखे । एक पैसा हिनामिना गरेरनन् । त्यसैको पुरस्कार स्वरुप भद्रपुर सरुवा गरिएकोमा मन दुखाएका रहेछन् डाक्टर कृष्णले । सतिले सरापेको देशमा राम्रो गर्नुपनि दण्डित हुनु रहेछ भन्दैथिए । पछि भक्तपुर सरुवा भए तर अहिलेको लुम्बिनी प्रादेशिक अस्पतालमा सरुवा माग्दा नपाएपछि उनले पेन्सन नपाक्दै २०६९ सालमा स्वेच्छिक राजिनामा गरे । 

dra

७२ वर्षीय डाक्टर कृष्णबहादुर श्रेष्ठ, श्रीकृष्ण भक्त रहेछन् । गीताको सारजस्तै आफ्नो जीवनको सारमा भनेका थिए–कर्म गर्नु फलको आश नगर्नु । त्यहि भएर उनले निरन्तर कर्म गरिरहेका छन् । विहानै उनले शारीरिक व्यायाम गर्छन् । पूजाआजा गर्छन् । भगवानप्रति उनको उच्च विश्वास रहेकै कारण आफूले गरेका कुनैपनि अप्रेसन नबिग्रिएको बताए । हजारौं अप्रेसन गरेर नथाकेका  उनलाई पत्रकार हरिष ढकालले निवृत नभएका डाक्टर भन्न रुचाउँछन् । राम्रो अप्रेसन, असल सुझाव र उत्तम परामर्श दिने उनको कलालाई धेरैले सम्मान गरेका छन् । हक्की स्वभावका डक्टर कृष्ण, कर्मशील र व्यवहारिक छन् भन्दैथिए–लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी भागिरथ राना । 

स्वास्थ्यकर्मी धनु श्रेष्ठ भन्छिन्-डाक्टर कृष्णले पछिल्लो समयमा आफ्नै घरमा महिनाको एक शनिवार निःशुल्क स्वास्थ्य परीक्षण गर्छन् । विपन्न र जेहन्दार विद्यार्थीलाई अध्ययनका लागि कालिका मानवज्ञान माविमा छात्रवृत्तिका लागि अक्षयकोष खडा गरेका छन् । 

बुटवलमा रहेर २३ जिल्लाका बिरामीहरुलाई स्वास्थ्य सेवा दिएका उनले लाख बढी बिरामीको नाक, कान र घाँटीको अप्रेसन सफल तरिकाले सम्पन्न गरेको सुनाए । त्यति कुरा सुनिरहेकी उनकी जीवनसंगीनी गंगाले कृष्णको अनुहारमा झल्किएको गर्वको शानमा खुसी मिसाइन् । उनीहरुका जेठो छोरो परदेश छन् । कान्छा छोरो राजकृष्ण र छोरी तृष्णा नेपालमै डाक्टरी पेसामा छन् । कृष्णले स्वास्थ्य सेवामा समर्पित भइरहँदा पुरस्कार, सम्मान र प्रशंसा थुप्रै बटुलेका छन् । निरन्तर श्रीकृष्ण भजनलीलामा रमाउने डाक्टर कृष्णले आफू स्वस्थ र निरोगी रहन अनेकौं स्वास्थ्य बानी व्यवहार अपनाउँदै आएका छन् । यो उमेरमा पनि हट्टाकट्टा छन् । निरन्तर विरामी जाँच्छन् । थकाई उनको शब्दकोसमा छैन, सायद । 
डा.कृष्ण भन्छन्–मर्नु अघिसम्म बिरामी जाँचिरहने छु । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार